शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको फिल्म 'वर एण्ड वधु' लाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको निर्देशक मिलन चाम्सले बताएका छन्।
अभिनेत्री आँचल शर्मा, नव-अभिनेता विवेक कर्माचार्यसहित फिल्मको टिम शनिबार हल–हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो। त्यसक्रममा अधिकांशले फिल्मलाई रूचाएको पाइएको चाम्सले बताए।
उनले भने, 'काठमाडौंसँगै बनेपाको हलमा समेत पुग्यौं। त्यसक्रममा अधिकांश दर्शक हलबाट खुसी भएर निस्किएको पायौं। फिल्म लागिरहँदा हलमा सिठ्ठी र ताली एकदमै बज्छ। त्यो हाम्रो लागि सबैभन्दा खुसीको कुरा हो।'
दर्शक प्रतिक्रियाले कलाकारहरू पनि उत्साहित देखिए।
अभिनेत्री आँचलले भनिन्, 'दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ। यो नै ठूलो कुरा हो। दर्शकको यो मायाले उत्साहित छु।'
नव-अभिनेता विकेक कर्माचार्यले पहिलो फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुसी भएको बताए।
हलमा हरेक उमेर समूहका दर्शकहरू देखिएका छन्। कलाकारहरू हलमा पुग्दा दर्शकहरू फोटो खिचाउन समेत झुम्मिएको देखिन्थ्यो।
फिल्मको कलेक्सन रिपोर्ट भने नआइसकेको निर्देशक चाम्सले बताए। उनका अनुसार हलमा दर्शकको उपस्थिति पहिलो दिन सोचेजस्तो नभए पनि शनिबार राम्रो रह्यो।
'शुक्रबार ठीकै भयो। शनिबार राम्रो थियो। थुप्रै शो हाउसफुल भए,' उनले भने, 'आज अकुपेन्सी अलिकति कम छ। मंगलबारदेखि राम्रो हुने विश्वास छ।'
उनले झरीले गर्दा बिहानी शोमा दर्शक कम रहेको र आफूहरूकै आग्रहमा बिहानी शो कम गरिएको बताए।
यसपटक फिल्मको डोर सेल राम्रो भइरहेको समेत उनले सुनाए।
'वर एण्ड वधु' मा किरण केसी, कुसुम शर्मा, विजय लामा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिमेश पन्त लगायत कलाकारहरूको पनि अभिनय छ।
जानुका थापा निर्माता र अमित रिजाल फिल्मको कार्यकारी निर्माता हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन्।