शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'रावायण' मा पूजा शर्मा सञ्चारकर्मीको भूमिकामा छिन्। फिल्मको सार्वजनिक टिजर र ट्रेलरमा त्यो कुरा खुलाइएको छ।
उसो त पूजा फिल्ममा आउनुअघि सञ्चारकर्ममा थिइन्। एक टेलिभिजनमा काम गरिरहँदा फिल्म 'थ्री लभर्स' बाट अभिनय करिअर थालेपछि टेलिभिजन छाडेकी थिइन्।
यसपटक फिल्ममा सञ्चारकर्मीको भूमिकामा अभिनय गर्दा पुराना दिन सम्झनामा आएको उनले बताइन्।
'पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो। फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुति दिँदा पुरानो सम्झना आउँदो रहेछ। त्यतिबेला 'अहो बिर्सेछु' भन्ने फिलिङ आउँदो रहेछ,' उनले भनिन्।
फिल्ममा सञ्चारकर्मीको भूमिकामा देखिन केही अध्ययन पनि गरेको बताइन्।
'यो फिल्म मैले अहिलेसम्म गरिरहेको फिल्मभन्दा फरक थियो। त्यही भएर अलिक 'स्ट्रङ' खालको भूमिका भइसकेपछि बोलीचाली र लुक्समा ध्यान दिएको थिएँ। चरित्रकै लागि नियमित समाचार हेर्थेँ, को कसरी बोल्छ हेर्थेँ। कतिपय अवस्थामा युट्युबमा पनि खोज्थें,' पूजाले भनिन्।
फिल्ममा एसिड आक्रमणदेखि देशमा मानिसहरुले कसरी शक्ति दुरूपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाउन खोजेको उनले बताइन्।
यो फिल्ममा पूजा अभिनेत्री मात्र होइनन्, निर्माता पनि हुन्।
आफ्नो 'उत्कृष्ट मेकर' बन्ने प्रयासलाई ‘रावायण’ ले सफल बनाउने उनको विश्वास छ।
'रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु। म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु। दर्शकलाई पनि पूजाले ल्याउँदा यस्तो फिल्म राम्रो रहेछ है भन्ने अनुभव होस्। म यसपटक मेकरका रुपमा मात्र फोकस छु,' पूजाको भनाईं छ।
रावायणमा अभिनेत्रीसँगै निर्माता बन्दा पूजामाथि दोहोरो दबाब छ। त्यहीकारण उनले आगामी फिल्ममा एउटा मात्र विधा रोज्ने योजना बुनेकी छन्।
'कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ। अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर। किनभने कलाकार र निर्माता दुबैको जिम्मेवारी लिइरहँदा फिल्मको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ता ममाथि थपिइरहेको हुन्छ। ‘रावायण’ ले मलाई त्यो एउटा पाठ सिकायो', उनले भनिन्।
सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्ममा पूजासहित पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही लगायत कलाकारहरूको अभिनय छ।
फिल्म भदौ २१ गते रिलिज हुँदैछ।