अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकाहरूको कथामा फिल्म 'नमेटिने घाउ' निर्माण एवं निर्देशन गरे।
यो फिल्ममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादीका सांसद देवेन्द्र पौडेल र राप्रपाका ज्ञानेन्द्र शाहीलाई समेत अभिनय गराएका थिए।
भदौ ७ गते रिलिज भएको यो फिल्म यतिबेला अधिकांशजसो हलबाट उत्रिसकेको छ। फिल्मले लगानीको सानो हिस्सा पनि हलबाट उठान सकेन।
निर्माता एवं निर्देशक ढुंगानाले सेतोपाटीसँग कुरा गर्दै फिल्म हलमा सफल हुन नसकेको स्वीकारे। उनले नेताहरूलाई अभिनय गराएका कारण आफ्नो फिल्म दर्शकबाट बहिष्कारमा परेको समेत दाबी गरेका छन्।
'यो सफा मनले निर्माण गरिएको फिल्म हो, आगामी दिनमा यस प्रकारका घटना नहोस् भनेर अवेयरनेशका लागि बनाएको फिल्म हो। एसिड आक्रमणमा परेकाहरूले जो–जो पात्र भन्नुभयो। उहाँहरूलाई खेलाएका थियौं,' उनले भने, 'तर नेताहरूलाई खेलाएका कारण बहिष्कारमा पर्यो।'
उनले आफूलाई नेताहरूलाई अभिनय गराएका कारण फिल्म नहेर्न भनेर सोही खालका थुप्रै प्रतिक्रियाहरू आएको बताए।
उनले भने, 'दर्शकहरूले नेताहरूलाई किन फिल्ममा राखेको हामी नहेर्ने भनेर कमेन्ट गर्नुभएको छ। राजनीतिक दलका सदस्यले हाम्रो मात्रै नेतालाई राखेको भए हुन्थ्यो। त्यो नेतालाई किन राखेको भनेर प्रतिक्रिया दिनुभएको छ। मलाई आएको कमेन्टका आधारमा यसो भनिरहेको हुँ।'
नेताहरूप्रति दर्शकको वितृष्णाका कारण फिल्म असफल भएको उनको आरोप छ।
ढुंगाना यो फिल्म बनाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको बताउँछन्।
'व्यवसायिक हिसाबमा जे-जस्तो भए पनि म सन्तुष्ट छु। नेपाली फिल्म क्षेत्रमा यस प्रकारको फिल्मको सुरूआत गरेँ। यसको इतिहास रहन्छ। भविष्यमा मूल्याङ्कन हुनेछ भन्ने लाग्छ,' उनले भने, 'आगामी दिनमा पनि सत्य घटनामा आधारित रहेर फिल्म बनाउनेछु।'
ढुंगानाका अनुसार ५८ दिन लगाएर फिल्मको छायाङ्कन गरिएको थियो। एक सय २५ जना कलाकारहरूले अभिनय गरेका थिए। दुई करोड रूपैयाँ हाराहारी लगानी भएको थियो। फिल्मको कलेक्सन कति भयो भन्नेबारे पनि आफूले वितरकसँग नबुझेको ढुंगानाले बताए।
च्यारिटी शो गर्ने
हलमा फिल्म सोचेजस्तो नभए पनि यसलाई च्यारिटी शो गरेर बढीभन्दा बढी दर्शकमाझ पुर्याउन प्रयास गर्ने ढुंगानाले बताए। 'स्कूल लगायतका क्षेत्रमा च्यारिटी गर्ने तयारी छ,' उनले भने। उनले गिनिज बुकमा पनि नाम लेखाउने तयारीमा रहेको बताए।
'प्रधानमन्त्री सहितका नेताले खेलेको फिल्म भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुन सक्छ,' ढुंगानाले भने।