फिल्म 'पूर्ण बहादुरको सारंगी' को टिजर सार्वजनिक भएको छ।
आइतबार सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट टिजर रिलिज गरिएको हो। टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपुत फिचर्ड छन्।
विजय बुवा र प्रकाश छोराको भूमिकामा देखिएका छन्। गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ ।
एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धी समेटेको छ।
'पूर्ण बहादुरको सारंगी' एक विपन्न बुवाले आफ्नो सन्तानप्रतिको सपना पुरा गर्न गर्ने संघर्षको कथा हो।
निर्माता विनोद पौडेलले वुवाको मुख हेर्ने दिनको छेको पारेर सम्पूर्ण बुवाहरूप्रति समर्पित गर्दै टिजर ल्याइएको बताए।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशका साथमा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जान्वी पौडेललगायतको अभिनय छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।
यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित छ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।
कात्तिक १५ (लक्ष्मीपूजा) मा फिल्म रिलिज हुनेछ।