‘फिल्म हेर्दा आनन्द भएजस्तो बनाउन पनि आनन्द हुन्न?’
‘हुँदैन नि।’
तेस्रो ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’को ‘सिनेमामा कथावाचन कला’ सेसनमा फिल्म ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिँडारीसँग पत्रकार वसन्त बस्नेत गफिँदै थिए।
सुजित निर्देशकले एउटै फिल्मलाई निकै समय मस्तिष्कमा लिएर हिँड्नुपर्दाका पीडा पनि सम्झिरहेका थिए।
थप्दै थिए, ‘तपाईंले एउटै फिल्म यति पटक हेर्नुहुनुछ कि रिफ्रेसनेस केही हुन्न। एक समयमा पुगेपछि लास्टै झुर फिल्म हेरिरहेछु भन्ने अनुभूत हुन्छ।’
सुजित फिल्म बनाउन चाहने नयाँ पुस्ताहरूलाई आफ्ना अनुभव सुनाउँदै सुझाव दिइरहेका थिए।
‘हजार पल्ट एउटै फिल्म तपाईंले रिभाइज गरिरहनुपर्ने हुन्छ। कस्तो भइरहेछ एक समयमा जज नै गर्न सक्नुहुन्न। रिपिटेड्ली हेर्दाहेर्दै अब्जेब्टिभ्ली हेर्न सकिन्न,’ उनले सुनाए, ‘यत्रो इनर्जी, बजेट, समय खर्च भएको छ। यो बेलामा पनि जजमेन्ट गर्ने अवस्थामा हुनुहुन्न भने स्टेट अफ माइन्ड कस्तो होला?’
उनको सुझाव छ, ‘त्यस्तो अवस्थामा पनि सरेन्डर गर्न सक्छु भन्ने क्षमता छ भने लाग्नुस्।’
उनले मेकर बन्न आफूलाई जति टाढा बसेर हेरियो उति कन्टेन्टहरू भेट्न सकिने बताए। उनको ठम्याइ छ, ‘तपाईं जति टाढा बसेर आफूलाई हेर्नुहुन्छ उति सिर्जनशील कन्टेन्ट देख्नुहुन्छ। आफूबाट डिट्याच हुनुपर्ने पहिलो सर्त हो। डिट्याच भएर आइसकेपछि तपाईंले सबैतिर कथा देख्नुहुन्छ।’
सुजितले लघु फिल्म ‘सावित्री’ र फिचर फिल्म ‘ऐना झ्यालको पुतली’ निर्देशन गरे। दुवै फिल्मले सुजितलाई कुशल कथावाचकको रूपमा स्थापित गरिदिए। ‘ऐना झ्यालको पुलती’ त उनका जीवनका नोस्टाल्जियासँग जोडिएको छ।
‘मलाई कम्युटरको फोल्डरहरू डिलिट गर्ने आँट आउँदैन। मसँग एल्बम्मा यति धेरै पुरानो संकलन छन् कि तिनीहरू मेमोरीमा बाँच्ने प्राणी जस्तो लाग्छ,’ फिल्ममा कथा छनोटको विषयतर्फ इंगित गर्दै भन्छन्, ‘अहिले जे छु विगतको नतिजा नै हो। त्यो साना साना कुराले पारेको प्रभावलाई फिल्ममा देखाउन पाए सबैलाई रिलेट गर्छ ठान्छु।’
परम्परागत नेपाली फिल्महरूमा चर्को साउन्ड, डाइलग र मल्टिपल द्वन्द्वको प्रसंग जोड्दै वसन्तले सुजितका शैलीबारे कोट्याए। जसको शैलीमा चर्का साउन्ड, डाइलग र ठूला द्वन्द्वहरू पर्दैनन्। तर परम्परागत फिल्म हेर्ने बानी परेकाहरूले भन्न पनि सक्छन्, ‘यस्तो पनि फिल्म!’
सुजित सानो क्यानभासमा फिल्म बनाउन रमाउने बताउँछन्।
‘ठूलो क्यानभासमा बनाउन थाल्ने हो भने कोतर्दा कोतर्दै समय जान्छ। सानो क्यानभासमा काम गर्न थाल्यो भने गहिराइमा जान सकिन्छ होला,’ सुजित भन्छन्।
सुजित आफ्ना फिल्महरूमा काब्य वा साहित्यको मीठो मिश्रण गराउँछन्। वसन्तले यो पनि सोधे, ‘पहिलो फिल्म सावित्री साहित्यकारको कथाबाट लिनुभयो। दोस्रो फिल्मको नाम जुराउन पनि साहित्यको प्रभाव देखिन्छ।’
सुजित काब्य वा काब्यिक हुन मन पराउने दाबी गर्छन्। चाहे भवानी भिक्षुको कथा ‘टाइपिस्ट’लाई ‘सावित्री’ बनाउँदा होस् वा ‘ऐना झ्यालको पुतली’को शीर्षक जुराउँदा होस्, उनलाई काब्यिक अर्थ दिन मन लाग्छ।