नेवारी गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक रोजमान महर्जनले पाश्र्व गायनमा डेब्यु गरेका छन्।
अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा निर्माण भइरहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा उनले भक्तिपूर्ण गीत रेकर्ड गराएका छन्। हालै रेकर्ड गरिएको 'धन्य धन्य लोकेश्वर' बोलको गीतमा रोजमान महर्जनसँगै गायिका रत्न शोभा महर्जनले स्वर दिएकी छिन्।
नेवारी गीत 'ऐला लुवया' र 'सालगु गाचा' बाट निकै लोकप्रिय बनेका रोजमानका लागि यो पहिलो नेपाली फिल्म गीत हो। निर्माण टिमले यो गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थप्ने विश्वास व्यक्त गरेको छ।
गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन्। यसमा बाँसुरीमा रूबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठको प्रस्तुति छ। गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले नै गरेका हुन् भने रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडिओमा भएको छ।
निर्देशक अर्जुन घिमिरेका अनुसार, 'धन्य धन्य लोकेश्वर' गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै फिल्मको भावनात्मक गहिराइलाई अझ बढाउने छ।
फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा विशेष गीत पनि समावेश हुनेछ। त्यस्तै, लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत समेत दर्शकले सुन्न पाउनेछन्।
हाल छायांकन भइरहेको यस फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य लगायतका कलाकारहरूको अभिनय रहनेछ।