आफ्नो फिल्मबारे सामाजिक सञ्जालमा नकारात्मक लेख्नेहरूविरूद्ध निर्माता रोहित अधिकारीले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्।
मंगलबार साइबर ब्युरो पुगेर उनले आफ्नो फिल्म 'माइतीघर' बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गर्नेहरूविरूद्ध निवेदन दर्ता गराएका हुन्।
'फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०/२२ जना प्रयोगकर्ताविरूद्ध निवेदन दिएको छु,' उनले भने।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको पुष्टि गरे। उनले भने 'आज निवेदन दर्ता भएको छ। यसमा आवश्यक अनुसन्धान हुन्छ। आवश्यक परे दुवै पक्षसँग छलफल गर्छौ।'
दसैंमा रिलिज हुने फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा एकअर्को फिल्मका निर्माता र समर्थकहरूबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलिरहेको देखिन्छ। खासगरी 'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेन र 'माइतीघर' का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति व्यक्त गरिरहेका छन्।
फिल्मलाई लिएर आउने नकारात्मक कमेन्टबारे अर्का अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। उनको स्टाटसपछि सञ्जालमा दीपकराज र सन्तोष सेनबीच आरोप/प्रत्यारोप चलिरहेको छ।