'तपाईंले नेपाली चलचित्रमा जीवन पाउनुभयो कि दिनुभयो?' प्रश्नमा अभिनेता राजेश हमालले भने, 'जीवन पाएँ, जीवन दिएँ भन्दा पनि जीवन जिएँ।'
तेस्रो काठमाडौं-कलिङ महोत्सवमा आइतबार 'लाइफ डेडिकेटेड टु नेपाली फिल्म्स' शीर्षकको सत्रमा रूपेश श्रेष्ठसँग कुराकानी गर्दै राजेशले आफूलाई जेमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ, सोही कार्य गर्न पाउँदा खुसी लाग्ने बताए।
'जीवन चलाउन प्यासन नै नभएको कुरामा पनि लीन हुनुपर्ने मानिसहरूको बाध्यता हुन्छ। यस मानेमा म भाग्यमानी छु,' उनले भने, 'जुन कुरा मलाई असाध्यै गर्न मन थियो, त्यही गर्न पाएँ।'
आफूले यस क्षेत्रमा करिअर सुरू गर्दै गर्दा अन्योलता र प्रश्न चिह्न रहेको उनले स्मरण गरे। त्यतिबेला नेपाली चलचित्र खासै फस्टाइसकेको थिएन। दुई वर्षमा एउटा चलचित्र बन्थ्यो।
'तर पहिलो चलचित्र रिलिज भएपछि क्रमबद्ध रूपमा धेरै चलचित्र गर्न पाएँ। आफ्नो करिअरको २४–२५ वर्ष निरन्तर दैनिक १८ घण्टा काम गर्ने मौका पाएँ। त्यो मेरा लागि असाध्यै सन्तुष्टिको पल हो,' उनले भने, 'जुन बेला व्यक्ति सिर्जनशील हुन्छ, त्यो समयमा धेरैभन्दा धेरै आफूले चाहेको कुरामा खर्चिन पाउनु खुसीको कुरा हो।'
राजेशले चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक भएको बताए। तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको पनि हुनसक्ने धारणा राखे।
उनले भने, 'हिरो भनेको कलाकार, अभिनय गर्ने व्यक्ति भनेको त होइन। तर अधिकांश चलचित्रहरू हिरोइजम प्रस्तुत गर्ने व्यक्तिले यस्तो विषयवस्तुमा काम गरिरहेको हुन्छ, जहाँ अभिनयमार्फत विभिन्न किसिमको हिरोइजम देखाउँछ। भलै त्यो नक्कली होस्। हरेक क्षमता चुनौतीमा आफूलाई बहादुरीपूर्वक आफूलाई प्रस्तुत गर्छ। तर हिरोको वास्तविक अर्थ– जो व्यक्तिले साँच्चिकै बहादुरी गर्छ। वास्तविक जीवनमा असाधारण काम गर्छ। आफूलाई जोखिममा पारेर काम गर्छ उसलाई हिरो भनिन्छ।'
हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने नभएको बताए। सामान्य कथावस्तुमा पनि काम गर्न सकिने बताए।
उनले विभिन्न पेसामा राम्रो गरिरहेका व्यक्ति राजनीतिमा अपेक्षा आउने गर्नु राष्ट्रको बिडम्बना भएको पनि बताए।
राजनीतिमा लागेकाहरूबाट राम्रो काम नहुँदा जनताहरू निराश भएर सम्भावना खोज्ने गरेको उनले बताए।
'सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ। तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन,' उनले भने, 'राजनीति भनेको मेरूदण्ड हो। मेरूदण्डले काम गरेन भने शरीरका अरू अंगले काम गर्दैनन्। मेरूदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरू कुरा कमजोर हुन्छ। हाम्रो राजनीति पनि त्यस्तै भएको हो।'
जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने राजेशले बताए।
राजेश हमालले ७ वर्षयता कुनै चलचित्रमा अभिनय गरेका छैनन्।
उनले दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र बने मात्र काम गर्ने तर गर्नकै लागि नगर्ने भनेर केही वर्ष 'ग्याप' लिएको बताए।
'यद्यपि अब म ३ हप्तापछि ७ वर्षको ग्याप मेट्न जाँदैछु। मलाई कता कता पहिलो चलचित्र गर्न जाँदैछु जस्तो लागिरहेको छ,' उनले भने।
उनी 'नरसिंहा अवतार' बाट फिल्ममा कमब्याक गर्दैछन्।
राजेशले दर्शकसँग आफू आत्मीय हिसाबले गाँसिएको महसुस हुने गरेको बताए।
उनले भने, 'विभिन्न स्थानमा रहनुभएका नेपालीसामु जाँदा उहाँहरूसँग पहिलोचोटि भेट्दा पनि घरकै सदस्यकै रूपमा व्यवहार गरेको पाउँछु। त्यो मलाई कलाले दिएको हो। त्यो कुरा प्राप्त गर्न सकेकोमा म आफ्नो कलाप्रति कृतज्ञ छु।'
नेपाली चलचित्र उद्योग ठप्प नहुनु सबभन्दा सुखद पक्ष रहेको उनले बताए।
'फिल्म जस्तो बनिरहे पनि एउटा गतिमा अगाडि बढिरहेको छ। गतिमा गइरहेको हरेक चीजले हरेक पलमा नयाँ मोड सामना गरिहाल्छ,' राजेशले भने।