शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'रावायण' का कलाकारहरू मोफसल यात्रामा निस्किएका छन्।
फिल्म रिलिजपछि काठमाडौंका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका कलाकारहरू मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन निस्किएका हुन्।
फिल्मका प्रमुख कलाकार पल शाह, पूजा शर्मा र प्रकाश शाह लगायतको टिमले आज नेपालगञ्जका हलमा दर्शक प्रतिक्रिया लिनेछन्।
त्यहाँ रहेका दुई सिनेमाघरमा दर्शकसंगै बसेर फिल्म हेर्दै अन्तरक्रिया गर्ने जनाइएको छ। नेपालगञ्जपछि भोलि बुधबार दाङ र बिहीबार धनगढी पुगेर दर्शकको प्रतिक्रिया लिनेछन्।
केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सुरूमा ‘एडल्ट’ सर्टिफिकेट पाएको फिल्मले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पूजा शर्मा हुन्। सुशन पाठक कार्यकारी निर्माता छन्।
सुदर्शन थापाको निर्देशनमा तयार फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, कैलाश रावल, अर्जुनजंग शाही, शर्मीला मल्ल, प्रदीप ढकाल लगायत कलाकारहरूको समेत अभिनय छ।
यो फिल्मले राम्रो व्यापार गर्न भने सकिरहेको छैन।