अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज 'घर बट इन अमेरिका' को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ।
मंगलबार युट्युबमा सार्वजनिक गरिएको टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ।
सिरिजमा अरूणिमा लम्साल र बिमलेश अधिकारीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। अरूणिमाले यो वेब सिरिजबाट १० वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्।
बिमलेशकै निर्देशनमा तयार सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन्।
सिरिजमा राधा लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा लगायतका कलाकारहरूको पनि शीर्ष अभिनय छ।
यसको सम्पूर्ण छायांकन अमेरिकामा भएको हो। सेभेन कलर्स डिजिटलले निर्माण गरेको सिरिजको कार्यकारी निर्मातामा रोशन घिमिरे छन्।
पहिलो सिजनको केही भागको छायांकन सकेर टिजर सार्वजनिक गरिएको हो। टिजरमा सिरिजको स्ट्रिमिङ सुरू हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन।
छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुंगो लगाइने निर्देशक बिमलेशले बताए।