चाडपर्व फिल्म निर्माताका लागि सधैं रोजाइमा पर्छ। त्यसमा पनि दसैंमा फिल्म रिलिज गर्न निर्माताबीच होडबाजी देखिन्छ। दसैंलाई लक्षित गर्दै रिलिज गरिएका फिल्मले राम्रो व्यापार गरेका कारण पनि रोजाइमा पर्दै आएको पाइन्छ।
यसपालि पनि दसैंको फूलपाती (असोज २४) मा एकसाथ तीनवटा नेपाली फिल्म रिलिज भए।
दीपकराज गिरी र दीपाश्री निरौलाको 'छक्का पञ्जा ५', विराज भट्टका बाबु-छोरा (समीर) को '१२ गाउँ' सँगै जितु नेपाल र नीति शाह अभिनीत फिल्म 'ज्वाइँ साब' प्रदर्शनमा आएका हुन्।
त्यसअघि रिलिज भएको स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म 'बेहुली फ्रम मेघौली' सँगै यतिबेला हलमा चारवटा नेपाली फिल्म प्रदर्शनरत छन्।
यीमध्ये 'छक्का पञ्जा ५' र '१२ गाउँ' ले आक्रामक व्यापार गरिरहेका छन्।
'ज्वाइँ साब' को प्राप्त शोमा पनि दर्शक अकुपेन्सी राम्रो देखिएको छ। यो फिल्मले सुरूआती व्यापार राम्रो नगरे पनि बिस्तारै बढाउँदै गएको हो।
दोस्रो सातामा पनि 'बेहुली फ्रम मेघौली' लाई प्राप्त शोमा दर्शक अकुपेन्सी उच्च देखिएको छ।
अभिनेता एवं निर्माता दीपकराज गिरीले साना बालबालिकादेखि ९० वर्षसम्मका वृद्धवृद्धासम्म फिल्म हेर्न आएको भन्दै खुसी व्यक्त गरे।
'सबैतिर एकदमै राम्रो छ। फिल्म हेर्न सबै उमेर समूहका दर्शक आउनुभएको छ। प्रतिक्रिया पनि एकदमै राम्रो पाइरहेका छौं,' उनले भने।
कुन फिल्म तल, माथिको भन्ने लेखाजोखातिर नलाग्न आग्रह गर्दै उनले नेपाली फिल्मले जितेको बताए। उनले पछिल्लो समय फिल्म क्षेत्रमा नकारात्मक पक्ष हाबी भएकोमा गुनासो गरे।
'१२ गाउँ' का निर्देशक एवं अभिनेता विराज भट्टले एक्सन फिल्मको बजार नघटेको पुष्टि भएको बताए।
'एक्सन जनरा वर्ल्डवाइड चल्ने जनरा हो। दर्शकको अपेक्षाअनुसार फिल्म ल्याउँदा अवश्य चल्छ भन्ने यसले पनि प्रमाणित गरेको छ,' सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने।
हामीकहाँ एक्सनलाई सुहाउने नयाँ कलाकारको कमी रहेको हुँदा पछिल्लो समय एक्सन फिल्महरू कम बनेको हुनसक्ने उनको अनुमान छ।
'एक्सन विधा बिना फिल्म उद्योग पूर्ण हुँदैन। त्यसैले हरेक विधाका फिल्म बन्नुपर्छ', उनले भने।
मंगलबार पनि यो फिल्मका अधिकांश शो हाउसफुल रहेको र शो बढ्ने क्रममा रहेको निर्माता एवं अभिनेता भट्टले बताए।
'ज्वाइँ साब' का निर्देशक बसन्त निरौलाले फिल्ममा दर्शक अकुपेन्सी बढिरहेको भन्दै खुसी व्यक्त गरे। दर्शक बढिरहेकाले फिल्म लामो समयसम्म हलमा टिक्ने विश्वास रहेको उनले बताए।
'सुरूमा बुकिङ नहुँदा शो घट्यो। यद्यपि वर्ड अफ माउथ राम्रो हुँदा प्राप्त शो बढ्न थाल्यो। अहिले प्राप्त शो हाउसफुल छन्,' उनले भने।
कुन फिल्मको ग्रस कलेक्सन कति?
'छक्का पञ्जा ५' ले 'छक्का पञ्जा' सिरिजकै उत्कृष्ट ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन दुई करोडभन्दा माथि ओपनिङ गरेको हो।
पाँच दिनमा (सोमबार) सम्म फिल्मको ग्रस कलेक्सन ९ करोडमाथि पुगेको वितरक मनोज राठीले बताए। 'आधिकारिक रिपोर्ट केही समयपछि आउला। ९ देखि १० करोडसम्म ग्रस कलेक्सन भएको हाम्रो अनुमान छ,' वितरक राठीले सेतोपाटीसँग भने।
'१२ गाउँ' ले पनि सुरूका दिनदेखि आक्रामक व्यापार गरिरहेको छ। फिल्म सोमबारसम्ममा साढे ६ देखि ७ करोड रूपैयाँ कलेक्सन गरेको निर्माता एवं अभिनेता विराज भट्टले बताए। 'ज्वाइँ साब' को बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक गरिएको छैन।
यो फिल्मको टिमले बुधबार कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने बुझिएको छ।