दसैं फूलपातीमा रिलिज फिल्म 'ज्वाइँ साब' दोस्रो सातामा प्रदर्शनरत छ।
फिल्मले कम शो पाए पनि प्राप्त शोमा दर्शक अकुपेन्सी राम्रो देखिन्छ।
यसैबीच, वितरकले आइतबार फिल्मको ग्रस कलेक्सन सार्वजनिक गरेका छन्।
वितरकका अनुसार फिल्मले दोस्रो हप्ताको शनिबारसम्म ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ। १० दिनमा फिल्मले काठमाडौं र बाहिर गरेर उक्त कमाइ गरेको हो।
'यो शुक्रबार र शनिबार पनि सबै शो हाउसफुल भए,' वितरक रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठ भन्छन्, 'फिल्मलाई दर्शकले रूचाएका छन्।'
उनले कुन फिल्म माथि, कुन तल भन्दापनि यसपटक तीनवटै नेपाली फिल्मलाई दर्शकले रूचाउनु सबैभन्दा राम्रो पक्ष भएको बताए।
'यसलाई प्रतिस्पर्धाको रूपमा नहेरौैं। तीनवटा फिल्म एकसाथ आउँदा पनि तीनवटैले माहोल बनाएका छन्। २५/२६ करोड भित्रिनु भनेको सिनेमा उद्योगको लागि अत्यन्तै सुखद् कुरा हो,' श्रेष्ठले भने।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल र नीति शाह शीर्ष भूमिकामा छन्। बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायत कलाकारहरूको पनि अभिनय छ।
रेड आई फिल्मस्को ब्यानरमा निर्मित र समीर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।
फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको हो। 'ज्वाइँ साब' अन्य दुई फिल्म 'छक्का पञ्जा ५' र '१२ गाउँ' सँग एकैदिन रिलिज भएको थियो।