गायक प्रशान्त शिवाकोटी आफ्ना गीतका कारण यतिबेला चर्चामा छन्।
सुपरहिट फिल्म 'पूर्णबहादुरको सारंगी' मा उनले बनाएका 'काँधेकुरी, नोटैले' देखि 'मैझारो' सम्मका गीतलाई स्रोता/दर्शकले रूचाएका छन्।
यी गीतमा प्रशान्तको शब्द, संगीत र स्वर सुन्न सकिन्छ। यो फिल्ममा उनका ७ वटा गीत छन्।
यसअघि थुप्रै रियालिटी शोमा पुगेका, केही गीत ल्याइसकेका प्रशान्तले फिल्ममा भने पहिलोपटक काम गरेका हुन्।
फिल्मको पहिलो काम रूचाइदा उनी खुसी छन्।
आफू पहिल्यैदेखि कस्तो खालको गीतबाट अगाडि बढुँला भनेर सोचिरहने गरेको र यो खालको गीतबाट चिनिन पाउँदा खुसी लागेको प्रशान्त बताउँछन्।
'मलाई चिन्नुहुनेले यसअघि पनि मेरा गीत सुन्नुभएको थियो होला। मेरा थोरै भए पनि अडियन्स हुनुहुन्थ्यो होला। तर अलि चर्चा पाउने मेरो पहिलो गीत कस्तो होला? कुन जनराको गीतले अगाडि बढुँला भन्ने जहिल्यै सोच्थेँ,' प्रशान्तले सेतोपाटीसँगको कुराकानीमा भने, 'यस्तो गीतले चिनायो, जुन मेरो कम्फर्ट जोन पनि हो। यस्तो खालको गीतहरू गरिरहन पाउँदा आनन्द लाग्छ।'
पहिले जुन जनराको गीत नोटिस भयो, त्यही जनरालाई निरन्तरता दिइरहनुपर्ने संगीतकर्मीको बाध्यता बन्ने गरेको उनी बताउँछन्।
प्रशान्त भन्छन्, 'मैले अहिले एउटा फ्लेवरमा अडियन्स रूझाउन सकिरहेको छु भने अब मैले डान्सिङ नम्बर ल्याउँदा अडियन्सलाई नयाँ लाग्न सक्छ। काँधेकुरी जस्तै अर्को गीत ल्याएँ भने स्वीकार्न सहज हुन्छ।'
यस खालका गीत आफ्नो कम्फर्ट जोन भए पनि आउँदा दिनमा अन्य जनराका गीतमा पनि काम गर्ने उनले बताए।
गीत हिट भएसँगै यतिबेला प्रशान्तलाई एकपछि अर्को फिल्मबाट अफर आइरहेका छन्।
यो पनिः
'पूर्णबहादुरको सारंगी' मा धुन भर्ने प्रशान्त (भिडिओ)