९ वर्षअघिको हिट फिल्म 'रेशम फिलिली' को सिक्वेल 'फेरि रेशम फिलिली' को छायांकन सकिएको छ।
काठमाडौं, काभ्रेको पाँचखाल, बारा र चितवनमा गरेर ३५ दिनमा छायांकन सकिएको निर्माता रौनक बिक्रम कंडेलले बताए।
पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया 'फेरि रेशम फिलिली' को मुख्य भूमिकामा दोहोरिएका छन्। 'फेरि रेशम फिलिली' का निर्देशक निरोज महर्जन हुन्।
अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निर्वाह गरेकी छन्।
साथमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ।
'दिमाग खराब' का निर्माता रौनक बिक्रम कंडेलको लगानी रहने फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन्।
सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन्।
निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ।