महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको फिल्म 'मायावी' का महत्वपूर्ण क्लिपहरू सामाजिक सञ्जालमा आउने क्रम बढेपछि त्यसरी भिडिओ नराखिदिन निर्माणपक्षले दर्शकलाई आग्रह गरेको छ।
फिल्म हेर्न गएका दर्शकले महत्वपूर्ण क्लिपहरू नै खिचेर टिकटकमा राखिदिएपछि निर्माण पक्ष केही तनावमा देखिएको छ।
निर्देशक दिवाकर भट्टराईले फिल्म रिलिजको दिनबाटै भिडिओ क्लिपहरू टिकटकमा आउन थालेको भन्दै गुनासो गरे।
भट्टराईले भने, 'दर्शकले क्लाइमेक्ससहितका महत्वपूर्ण दृश्यहरू पनि खिचेर टिकटकमा राख्न थाले। यसमा त हलवालाले पनि अलि ध्यान दिनुपर्ने हो।'
यो एक अपराध हो भनेर दर्शकमा सचेतना पुर्याउन नसक्दा पाइरेसीको समस्या झेल्नुपरेको उनको भनाइ छ।
फिल्मको महत्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा राख्दा दर्शकको फिल्मप्रतिको उत्सुकतालाई कम गराउन सक्छ। फिल्मको व्यापारमा पनि यसले प्रभाव पार्नसक्छ।
हलमा फिल्मको दृश्य खिचेर सोसल मिडियामा राखेका दर्शकलाई सचेत गराउनका लागि भए पनि नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिन जान निर्देशक भट्टराईले बताए। 'सचेत गराएर भिडिओ हटाउन त लगाउनुपर्यो,' उनले भने।
लभस्टोरी जनरामा बनेको फिल्म 'मायावी' मा पल शाह र दीपिका प्रसाईं शीर्ष भूमिकामा छन्। यो फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई दर्शकले मन पराएका छन्।
मायावी' मा पल र दीपिकाका साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी लगायतको अभिनय छ। फिल्मको निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन्।