फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
विपिन कार्की र मिरूना मगर अभिनीत 'ऊनको स्वीटर' र सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाही अभिनीत 'जार' रिलिज भएका हुन्।
नवीन चौहान निर्देशित 'ऊनको स्वीटर' पूर्वी पहाडको बहुसांस्कृतिक परिवेशमा रहेर बनेको प्रेमकथामा आधारित फिल्म हो।
म्युजिकल फिल्ममार्फत दर्शकको मन जितिरहेको आर्टमाण्डु नेपाल प्रा.लिले निर्माण गरेको 'ऊनको स्वीटर' मा विपिन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायतको अभिनय छ।
त्यस्तै, फिल्म 'जार' साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित बनेको हो। २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।
रिलिज दुवै फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाइसकेका छन्। हलमा पनि फिल्मले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ।