ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म 'मोहर' को टिजर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ।
फिल्म कुप्रथा देउकी प्रथाबारे बनेको टिजरबाट बुझ्न सकिन्छ। नलेखिएको नियमको कथामा फिल्म बनेको टिजरमा उल्लेख छ।
टिजरमा अभिनेता पल शाहको दोहोरो अवतार देख्न सकिन्छ। पल लामो र छोटो कपालमा देखिएका छन्। लामो कपाल पालेका पलको कथा अभिनेत्री बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ। यस्तै, कपाल छोटो पालेका पलको कथा अभिनेत्री नीति शाहसँग जोडिएको छ।
खासगरी देउकी प्रथाको नाममा बालबालिकामाथि हुने हिंसाको कथा फिल्मले उठान छ। यो फिल्मको टिजर साहिल खानले तयार पारेका हुन्।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। 'मोहर' मा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ।
कुमार महर्जनको एक्सन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई रहेको फिल्ममा सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ।
दिपेन बस्न्यातको डीओपी रहेको फिल्म भूपेन्द्र अधिकारीले सम्पादन गर्दैछन्।
'मोहर' साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।