माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म 'राम नाम सत्य' मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्ध भएकी छिन्।
उनीसँग निर्माण टिमले बुधबार कागजी सम्झौता गरेको हो। एक महत्वपूर्ण भूमिकाका लागि उनलाई लिइएको निर्माणपक्षले जनाएको छ।
सुपुष्पा पछिल्लो समय फिल्म 'फेरि रेशम फिलिली' मा देखिएकी थिइन्। यो फिल्ममा उनको कामको निकै तारिफ भएको थियो। निर्देशक माइकल चन्दले कथाको माग अनुसार नै सुपुष्पालाई लिइएको बताए।
उनले भने, 'हामीलाई सुपुष्पाजस्तै हाइट भएकी अभिनेत्री चाहिएको थियो। उहाँको अभिनय पनि अब्बल छ। कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुबन्धित गरेका हौं।'
सुपुष्पाले आफ्नो भूमिका चित्तबुझ्दो भएपछि फिल्म साइन गरेको बताइन्। यो फिल्ममा यसअघि अभिनेत्री दिव्या रायमाझी पनि अनुबन्ध भइसकेकी छिन्।
फिल्ममा अभिनेता विराज भट्ट र सुशील श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरूङको लगानी रहनेछ।
फिल्मका कार्यकारी निर्माता डाक्टर डी. आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्। छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ। एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ।