फिल्म 'मोहर' मा समावेश 'चाहिँदैन मोहर, पर्दैन सुकी' बोलको गीत सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री नीति शाहको नृत्य छ। उनीहरूको प्रेमभावलाई गीतमा देख्न सकिन्छ।
यो प्रेमिल गीतमा शरद हुमागाईं र विशाखा शाहीको स्वर छ। गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन् भने सुरेश अधिकारीको संगीत छ। यो गीतको भिडिओ रामजी लामिछानेको कोरियोग्राफीमा बनेको हो।
गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता पल शाहले यसको भिडिओ छायांकनका क्रममा निकै दुःख भए पनि गीत तयार भएर आएपछि खुशी लागेको बताए। आफूले पहिलो पटक कुनै गीतको भिडिओमा काम गर्दा 'म सक्दिनँ है' भनेको पनि पलले सम्झिए।
अभिनेत्री नीति शाहले पनि गीतको छायांकनमा सबैको मेहनत परेको भन्दै दर्शकले मन पराउनेमा विश्वस्त रहेको सुनाइन्।
फिल्मका लेखन तथा निर्देशक ओम प्रतीकले फिल्मले देउकी प्रथासँगै अन्य थुप्रै सस्पेन्स कुराहरूलाई समेत देखाएको भन्दै दर्शकले केही फरक कथाको फिल्म हेर्न पाउने बताए। निर्माता चुम्बनजंग शाहीले आफू सानैबाट फिल्मी माहोलमा हुर्किएको भन्दै त्यही कुराले तानेर फिल्म निर्माण गरेको बताए।
फिल्म 'मोहर' मा पल र नीतिसहित अर्जुनजंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ।
साउनको २३ गतेदेखि यो फिल्म प्रदर्शनमा आउनेछ।