अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म 'जेरीः अन टप' को टिजर सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे जानकारी दिने प्रयास गरेको छ। जसअनुसार फिल्म प्रेम, रोमान्स, सस्पेन्स र साहसिकताको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ। फिल्मको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रित देखिन्छ।
टिजरमा देखाइएका सुन्दर हिमाली दृश्यहरू र कलाकारहरूको अभिनयले दर्शकमाझ कौतुहलता र उत्साह थपेको छ। टिजरको सुरूवात सगरमाथाको मनमोहक दृश्यबाट हुन्छ, जहाँ पर्वतारोहणको जोखिम र सौन्दर्यलाई देखाइएको छ।
टिजरमा प्रेम, रोमान्सका साथै पारिवारिक सम्बन्ध, द्वन्द्व र एक्सनका झलकहरू पनि देख्न सकिन्छ। फिल्ममा अनमोलका साथमा अभिनेत्री आँचल शर्मा र जसिता गुरूङ पनि मुख्य भूमिकामा छन्। सार्वजनिक टिजरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित हुन सक्ने संकेत गर्छ।
फिल्ममा अनमोलको बुवाको भूमिकामा उनकै वास्तविक पिता, अभिनेता भुवन केसी छन् भने हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री उषा खड्गीको पनि शीर्ष अभिनय छ।
अनन्या फिल्मस्को ब्यानरमा बनेको फिल्म सुयोग गुरूङले निर्देशन गरेका हुन्। सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने छन्। फिल्मको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा विश्वास तिमल्सिनाले तयार पारेका छन्।
'जेरीः अन टप' तिहारको अवसर पारेर आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउनेछ। सार्वजनिक टिजरले यतिबेला राम्रो चर्चा पाइरहेको छ।