गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म 'मालती मंगले' को शुभमुहूर्त गरिएको छ।
बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित मुहूर्त गरिएको हो। त्यहाँ पहिलो क्ल्याप निर्माता रामकृष्णका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै फिल्मको छायांकनलाई शुभारम्भ गरे।
मुहूर्तमा गायक रामकृष्ण ढकालले राम्रो र स्तरीय फिल्म निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा पस्किने उनले बताए। त्यस्तै, कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले फिल्म 'मालती मंगले' आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरेका छन्।
यस फिल्ममा विजय, वर्षा, मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ, सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहनेछ। फिल्मको निर्देशन प्रकु पाण्डेयले गर्नेछन्। कथा स्वयं पाण्डेयकै लेखन रहेको छ भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन्। पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा फिल्म आधारित रहने जनाइएको छ।
कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार शनिबारदेखि छायांकन सुरू हुनेछ। मुख्य छायांकन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्मको सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ छन्।
फिल्ममा छायांकन निर्देशक महेश पौडेल र सम्पादक रोमी तण्डुकार छन्।