नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्ममा डेब्यू गरेका छन्।
अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म 'ब्याटल अफ गलवान' मा अनुपले अभिनय गरेका हुन्। उनले सामाजिक सञ्जाल पोस्टमार्फत यसबारे जानकारी दिएका छन्। अनुपका अनुसार यो फिल्मको पहिलो चरणको छायांकन हालसालै सकिएको छ।
सलमान खान फिल्मस्को ब्यानरमा तयार भइरहेको यो वार ड्रामाको पहिलो चरणको छायांकन भारतको लद्दाखमा भएको हो।
सन् २०२० मा भारत र चीनको सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। हतियारबीना भएको सो झडपको कथामा आधारित रहेर 'ब्याटल अफ गलवान' निर्माण भइरहेको हो।
हालै अनुप पहिलो चरणको छायांकन सकेर नेपाल फर्किएका छन्। सलमान पनि पहिलो चरणको छायांकन सकेर मुम्बइ फर्किएका छन्।
छायांकनका क्रममा सलमानलाई केही सामान्य चोटपटक पनि लागेको थियो। अब सलमान केही समय आराम गरेर दोस्रो चरणको सेडयुलको तयारी गर्नेछन्।
दोस्रो चरणको छायांकन मुम्बईमा तय भएको छ। केही ठूला एक्सन दृश्यहरू मुम्बईमा निर्माण गरिएको विशाल सेटमा हुन लागेको जनाइएको छ। अपूर्व लाखिया यो फिल्मका निर्देशक हुन्।
'ब्याटल अफ गलवान' सन् २०२६ मा रिलिज हुने जनाइएको छ।