अभिनेता अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म 'जेरी अन टप' शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ। यो फिल्म अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ। यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५५ मिनेट) तोकिएको छ, जुन सामान्यतयाः नेपाली फिल्मको औसत लम्बाईभन्दा बढी हो।
यो अनमोलको फिल्म करिअरकै सबभन्दा लामो फिल्म हो। यसअघि 'ड्रिम्स' उनको सबभन्दा लामो फिल्म थियो। जसको रनटाइम २ घण्टा ४६ मिनेट थियो।
'जेरी अन टप' का निर्माता सरोज न्यौपानेका अनुसार, फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गर्नेछ। यससँगै फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डले केही समयभित्रै प्रमाणपत्र प्रदान गर्ने तयारी रहेको निर्माता न्यौपानेले जानकारी दिए।
यो फिल्म हेर्न अब दर्शकले हलमा झन्डै साढे ३ घण्टा हलमा समय दिनुपर्ने हुन्छ। फिल्मको लम्बाई लामो हुँदा यसले फिल्मको शोमा समेत असर पर्छ। रनटाइम लामो भए पनि 'जेरी अन टप' ले राम्रो शो पाएको छ। निर्माण पक्षले रनटाइम लामो भए पनि दर्शकले बोर महसुस नगर्ने विश्वास व्यक्त गरेको छ।
बुकिङले पनि राम्रो देखाइरहेको छः अनमोल केसी

फिल्मका कलाकारहरू 'जेरी अन टप' लाई लिएर आशावादी देखिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा अभिनेता अनमोल केसी तथा अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरूङले बुकिङले राम्रो संकेत गरिरहेको बताउँदै दर्शकको माया पाउने विश्वास व्यक्त गरे।
अनमोलले 'जेरी' फिल्मले दर्शकबाट पाएको मायाजस्तै 'जेरी अन टप' ले पनि माया पाउने विश्वास व्यक्त गरे। उनी अक्सर एउटा प्रोजेक्टमा लागेपछि रिलिजसम्म त्यसमै समय दिन्छन्। यसपालि पनि उनको १६ महिनापछि सिनेमा हलमा फिल्म रिलिज हुन लागेको हो। यसअघि गत वर्षको जेठमा 'फर्की फर्की' रिलिज भएको थियो।
'जेरी अन टप' नेपालको बजार र बजेटअनुसार राम्रो सिनेमा बनेको अनमोलले बताए। उनले भने, 'नेपाली बजार र बजेटअनुसार फिल्म बनाएका छौँ। त्यो हुँदाहुँदै केही कमीकमजोरी होलान्। हाम्रो तर्फबाट राम्रो गर्ने प्रयास गरेका छौँ। सन्तुष्ट छु।'
दर्शकको माया ठूलो
अनमोल केसीका थुप्रै फिल्म सफल छन्, तर कुनै पनि फिल्मले व्यापारमा १० करोडको आँकडा पार गरेका छैनन्। 'जेरी अन टप' ले त्यो आँकडा पार गर्ने अपेक्षा कतिपयको छ। व्यापारलाई लिएर चुनौती महसुस गरिरहेका छन् कि भन्ने प्रश्नमा अनमोलले भने, 'व्यापारबारे पनि आशावादी छु। तर पनि मलाई लाग्छ, त्यो एउटा अंक हो। त्योभन्दा ठूलो कुरा १०–१२ वर्षदेखि दर्शकहरूले जसरी माया दिनुभएको छ, त्यो मेरो लागि ठूलो कुरा हो।'
उनले असफल प्रोजेक्ट पनि आफ्नो लागि प्यारो रहेको बताए। फिल्ममा अनमोल र अभिनेत्री आँचलले पहिलोपटक सहकार्य गरेका हुन्। अनमोल र जसिताको भने यो दोस्रो सहकार्य हो। कार्यक्रममा बोल्दै आँचलले दर्शकले आफ्नो काम मन पराए त्यो नै सफलता हुने बताइन्।
'राम्रो काम गरेका छौँ। मन पराउनुहुन्छ भन्ने अपेक्षा छ,' उनले भनिन्।
त्यस्तै, जसिता गुरूङले फिल्मको प्रचार सामग्रीलाई लिएर राम्रो प्रतिक्रिया पाएको बताइन्। 'टिजर, ट्रेलर एकदमै मन पराउनुभएको छ। आशा छ फिल्मले पनि धेरै माया पाउनेछ।'
सुयोग गुरूङको निर्देशनमा बनेको फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारहरूको समेत शीर्ष अभिनय छ।
एडभेन्चर लभस्टोरी 'जेरी अन टप' सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित छ।