'ज्वाला', 'जीवन संघर्ष' जस्ता फिल्मका निर्माता दिलिप पौडेलको निधन भएको छ।
उनको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ः १५ बजे निधन भएको हो।
उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई लिएर 'ज्वाला' नामक फिल्म निर्माण गरेका थिए।
त्यसैगरी राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्कालगायतका कलाकारलाई लिएर 'जीवन संघर्ष' नामक अर्को फिल्म निर्माण गरेका थिए।
७४ वर्षीय पौडेलले नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका थिए। उनले राजधानीको डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याएका थिए।
नेपाल लेखापढी कानुन व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका स्व. पौडेलको बुधबार राती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।