हामी साहित्यलाई समाजको ऐना मान्छौं। ऐनाले जसरी कुनैपनि वस्तुको यथार्थ प्रस्तुत गर्छ, साहित्यले पनि त्यही धर्म अबलम्बन गर्छ। ऐना आफैंमा निर्जीव वस्तु भएपनि वस्तु प्रतिबिम्बित गरी सजीवता प्रदान गर्छ।
एलबी क्षेत्रीको ‘इन्द्रमायाको देशमा’ ले पनि वर्तमान परिप्रेक्ष्यको राजनीतिक, सांस्कृतिक, आर्थिक पक्षको रहस्य उद्घाटन गरेको छ। नेपाली समाज, रहनसहन र दिनचर्या प्रमुखताका साथ उठान गरेको यस संग्रहले। नेपाली समाजको एक दस्तावेजका रूपमा काम गरेको छ।
कुनै पनि कालखण्ड अथवा त्यसबेलाका बारेमा जान्नु छ भने तत्कालीन समयको साहित्य अध्ययन नै समाज थाहा पाउने मुख्य आधार हुन्छ। कला र साहित्यले समाजमा घटेका घटना प्रतिबिम्बित गर्नुपर्छ भन्ने जर्ज लुकासको मान्यता छ। यो मान्यता र एलबीको ‘इन्द्रमायाको देशमा’ लाई एकै तराजूमा जोख्दा साहित्यलाई समाजको दस्तावेजका रूपमा स्वीकार गर्नुपर्ने हुन्छ।
‘इन्द्रमायाको देशमा’ ले समाजका घटना–परिघटना समेटेको छ। एलबीले समाजको सामुहिक भोगाइसँगै आफ्नै वैयक्तिक भोगाइका कच्चा पदार्थ प्रशोधन गरी एक दस्तावेजका स्वरूपमा यो संग्रह तयार पारेका छन्।
बाईसवटा कथाले संरक्षित ‘इन्द्रमायाको देशमा’ कथाकार एलबीको कृतिगत तेस्रो तथा दोस्रो कथा संग्रह हो। यसअघि ‘त्रिशंकुको देशमा’, लघुकथा संग्रह र ‘भीडमा हराएको मान्छे’ कविता संग्रह प्रकाशित गरी साहित्य क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका क्षेत्रीले यो संग्रह मार्फत समसामयिक र मौलिक कथा प्रस्तुत गरेका छन्।
समय–समयमा देश–विदेश यात्रा गरिरहने क्षेत्रीले यात्राक्रममा साक्षात्कार गरेका विभिन्न परिस्थिति र घटनाक्रम नै समाज बुझ्ने आधार बनाएका छन्। यो कुराको प्रतिबिम्ब उनका कथामा भेटिन्छन्। यात्राले उनका कथाको रेन्ज त बढाएको छ नै, त्यसका अलवा विषयवस्तुमा सजीवता प्रदान गरेको छ।
नारायणगढ, भैरहवा, सुनौली साथै गोर्खा पल्टन, भारत हुँदै, अष्ट्रेलियासम्मको विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक पक्ष कथाले उठान गरेका छन्। धनी–गरीब, शिक्षित–अशिक्षित लगायत सीमान्तकृत वर्गका पात्र पनि क्षेत्रीको संग्रहमा अटाएका छन्। समाज र समाजसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण पाटासँग विमर्श गरी विभिन्न मूल्य, मान्यतालाई ताली र गालीका माध्यमबाट प्रस्तुत गर्नु नै एलबीको प्रमुख ‘स्टाइल’ हो।
संग्रहको पहिलो कथा ‘राष्ट्र निर्माण’ ले देशको विषम परिस्थिति र ओहदामा पदासीन विशिष्ट व्यक्तिले गरिरहेका लापरवाहीलाई व्यंग्यका माध्यमबाट मिठो झापड हानेको छ। राष्ट्र निर्माणको जिम्मेवारी पाएका केही प्रभुत्वशाली पात्र एकहरू छलफल गर्न एक ठाउँमा भेला भए पनि निष्कर्षमा पुग्न नसक्नुले टिएस इलियटको ‘हलो म्यान’ कविताको पात्रसँगै मितेरी लगाउन पुगेका छन्।
राजनीति र प्रशासनको गैर जिम्मेवारीपनाको नांगो रूपलाई व्यंग्यात्मक रुपमा देखाउनु नै क्षेत्रीको शिल्पकला हो। ‘रेमिट्यान्सको कथा’ मा अस्ट्रेलियामा भएका नेपालीले भोग्नु परेको दुःख र पीडा प्रतिबिम्बित गरिएको छ। विदेश जाँदैमा रुखमा पात टिपेझैं पैसा कमाउन सकिँदैन। बरू रगत र पसिना चुहाउनु पर्ने यथार्थ कथाकारले यसरी प्रस्तुत गरेका छन्–
त्यो घरको माथिल्लो तलाको बीस ओटाभन्दा बढी कोठाहरु म र तपाईंकी बुहारीले राति ११/१२ बजेसम्म सफा गर्थ्यौं। ... होटलमा भाँडा माझ्नेदेखि लिएर कार्यालयहरूमा पोछा लगाउने, चर्पी सफा गर्ने काम समेत गर्नुपर्ने रहेछ। (रेमिट्यान्सको कथा, पृष्ठ २७)पछिल्लो दशक विदेश पलायन हुने संस्कृति ह्वात्तै बढेको छ। पढाइ र जागिर क्रममा खाडीमुलुक, यूरोप, अस्ट्रेलिया, अमेरिका लगायत देशमा पेट पाल्नै भनेर उनीहरु जुनसुकै काम अपनाउन बाध्य हुन्छन्। यो विषय कथाकारले छोराबुहारीका माध्यमबाट प्रस्तुत गरेका छन्। उनीहरूले अस्ट्रेलियामा भोगेका समस्यालाई नेपालीको सामुहिक विश्वदृष्टि स्वरुप जागृत गराउन सक्नु एलबीको अर्को ‘स्टाइल’ हो।
शीर्षकथा ‘इन्द्रमायाको देशमा’ विनिर्माणद्वारा बुनिएको राष्ट्रप्रेम र नारी स्वतन्त्रता खोजी गरिएको संग्रहकै उत्कृष्ट कथा हो। कथामा कथाकारले हेन्रीक इब्सेनको ‘अ डल्स हाउस’ की मुख्य पात्र नोरा र जर्ज बर्नाड शाकी क्यानडिडासँग नेपाली परिवेशकी इन्द्रमायालाई विश्वका स्थापित चरित्रसँगै स्थान दिएका छन्। यसबाट नारी शक्ति र अधिकारका निम्ति आवाज उठाउनु एलबीको अर्को स्टाइल हो, जसले कथाकारको बौद्धिकता प्रष्ट्याएको छ।
एक्काइसौं शताब्दीका मान्छे ‘जेट’कै गतिमा बाँचिरहेका हन्छन्। उनीहरू समाजमा नाम स्थापित गर्न, सुखी जीवनयापन गर्न कुदिरहँदा उनीहरूभित्रको मनोवैज्ञानिक विश्लेषण ‘मीठो हाँसो’ र ‘हतारमा’ कथाले गरेका छन्। जसलाई कथाकारले यसरी देखाएका छन्–
ऊ जहिले पनि हतारमा देखिन्छ। उसलाई सुत्नुभन्दा पहिला भोलि जाग्नुको हतार हुन्छ। सुन्नुभन्दा पहिला बोल्नुको हतार, पढ्नुभन्दा पहिला खेल्नुको हतार, पुग्नुभन्दा पहिला फर्किनुको हतार। (हतारमा पृष्ठ. ६९) ‘अन्य’ कथाले देशको राजनीतिक संस्कारको यथार्थ चिरफार गरेको छ। हाम्रालाई काखी च्याप्ने र राम्रालाई गलत्याउने संस्कारको प्रतिनिधित्व कथाका पात्र पार्टी सभापति र उनका समकक्षीले गरेका छन्। ‘रहर’ यस संग्रहको सामाजिक कथा हो। घरपरिवारको उन्नतिका निम्ति अहोरात्र खटिएको प्रकाशले आफ्ना चाहना सन्तानका माध्यमबाट पूर्ति गर्ने सपना देख्नु उसको मात्रै नभएर सम्पूर्ण मान्छेको विश्वदृष्टि हो।
‘सिमाना’ उच्च दर्जाको कथामध्ये एक हो। वरिष्ठ नेताहरू भारत भ्रमणमा जाँदा त्यहाँका नेता समक्ष नेपालमाथि भएको अन्याय र दमन बिर्सेर आफ्नो स्वाधीनता र स्वाभिमान संकटमा पार्दै आइरहेको महशुस नेपालीले गरेका छन्। ‘सिमाना’ कथाले नेपाली अस्तित्व, परिचय र राष्ट्रियता सम्बन्धी विषय उठान गरेको छ।
कथाकी मुख्यपात्रले सुनौली नाकामा भारतीय प्रहरी समक्ष गरेको अदम्य साहस र बुलन्द विद्रोहले नारी शक्ति प्रतिनिधित्व गरेको छ। सीमा प्रहरीले गरेको दुर्व्यवहारको प्रतिउत्तर स्वरूप नारीपात्रले थुकिदिएर नाकको सिँगान ‘ल खा’ भनी फ्याँकिदिएकी छन्। यसले नारीहरू पनि आफ्नो अधिकार र राष्ट्रियताको मामिलामा बलियो हैसियत राख्न सक्छन् भन्ने पुष्टि हुन्छ।
‘दर्पदमन’, ‘सोझो मान्छे’ र ‘हतारमा’ जस्ता कथामा आकस्मिकता खोज्दा पाठकलाई कथा प्रवाह अस्वभाविक भएको भान हुन जान्छ। तर पनि, क्षेत्रीले काल्पनिकभन्दा आफैंले बाँचेको, भोगेको विषयवस्तु प्राथमिकताका साथ यथार्थपरक चित्रण गरेका छन्। कथामा प्रस्तुत गरिएका विषयवस्तुलाई न्याय दिदैँ जीवन्त र विश्वसनीय बनाउन सक्नु एलबीको अर्को ‘स्टाइल’ हो।
वर्तमान युगलाई आधुनिक भनेर जति व्याख्या गरिएता पनि धर्म, संस्कार र रितीरिवाजको जरा निकै गहिरो हुने प्रंसग ‘रुपान्तरण’ कथाले बोकेको छ। जातीय छुवाछुत र धार्मिक श्रेष्ठताका नाममा गरिने भेदले समाजलाई क्यान्सरले झैं थला पारेको छ। देशकै राजधानी पनि यो विकृति र कुरितीबाट अछुतो नरहेको प्रसंग कथाकार यसरी पोख्छन्–
‘तैँले पकाएको भात कसले खान्छ?’म झसँग भएँ। यो करा मलाई ज्ञान थिएन।‘किन र आमा?’‘नबुझे जस्तो नगर। तिमीहरू क्षेत्री। तिमीहरूलेछोएको भात हामीलाई चल्दैन।(रुपान्तरण, पृष्ठ ५९)समाजमा विभिन्न जात, धर्म र भाषाभाषी बस्छन्। समाज विकास सबै एक आपसमा जुट्न सके मात्र सम्भव छ। जीवनको एक कालखण्ड प्राध्यापनमा बिताएका क्षेत्रीले यो राम्ररी बुझेका छन्। सामाजिक असमानता, विकृति र विसंगति साहित्यका माध्यमबाट चिरफार गरी अन्त्य गर्ने पाइला चाल्नु नै एलबी स्टाइल हो।
प्रयोगात्मक शैली अनुसरण गरिएको संग्रहको अन्तिम कथा ‘उसले फेरि सपना बुन्नु छ’ ले सीमान्तकृत वर्ग प्रतिनिधित्व गरेको छ। संगीता र जेठाको मनोवैज्ञानिक तरंग, सुनको टप लगाउने सानो सपना र देवरले बिष पिएसँगै उनीहरूको तुहिएको सपनाजस्ता विल्कुलै सामान्य लाग्ने कुरा मुख्य विषयवस्तु बनाउनु पनि एलबीको अर्को स्टाइल हो। यसमा सीमान्तकृत वर्गको पिडादायी कथा प्रस्तुत गरिएको छ।
गायत्री चक्रवर्ती स्पीभाकको धारणा अनुसरण गर्दै लेखकले सबाल्टर्न कथा आफूले बोलिदिने प्रयास गरेका छन्। सामाजिक यथार्थ प्रस्तुत गरेका कथाकारले प्रभुत्वशाली वर्गले सल्बार्टनमाथि गर्ने अत्याचार देखाउन चुकेका छैनन्। संगीतालाई कुखुरा साहुसाहुनीले नामले नबोलाउनु र राउ सिंहलाई निकै कम तलब दिएर काममा लगाएको प्रसंग कथाकार यसरी लेख्छन्–
जेठाले पनि त्यो काम छाड्छु भनेको, साहुले पाँच सय तलब बढाइदियो। ... तर हामीलाई ठिक्क हुन्छ। एक पैसा बच्दैन।(उसले फेरि एउटा सपना बुन्नु छ, पृष्ठ ८६)‘इन्द्रमायाको देशमा’ का कथाले एलबी क्षेत्रीको व्यक्तिगत अनुभव र कालिक वृत राम्ररी प्रतिनिधित्व गरे पनि धेरै विषयवस्तु छुटेका छन्। कथाहरूलाई पछिल्लो दशकको दस्तावेज भनिए पनि द्वन्द्व र यसका प्रभाव कतैपनि उठान गरेको भेटिँदैन। कथाकारकै भोगाइ र अनुभवलाई धेरै स्थान दिएकाले किताब पढ्दै जाँदा कतै कथाकारकै आत्मवृतान्त त होइन भन्ने आभाष हुन सक्छ। साहित्यमा डुबेर ज्ञान खोज्ने पाठकलाई यसले उतिसारो खुसी दिन सकेको छैन।
आफ्नै भोगाइ र अनुभव संग्रहमा थोपर्नुको सट्टा नयाँ पुस्तक तयार गर्न सकिन्थ्यो, यसलाई नजरअन्दाज गरी क्षेत्रीले अन्याय गरेको महशुस पाठकले गर्न सक्छन्। जसले गर्दा एडगर एलन पोले ब्याख्या गरेजस्तो प्रारम्भ, मध्य र अन्त्यको तालमेल ‘जवाफ’, ‘उपहार’, ‘अध्ययन गर्न बाँकी छ’, ‘शिक्षक आनन्द’ कथामा देखिँदैन। कोलोरिजको ‘सेकेन्डरी इम्याजिनेसन’ को झल्को संग्रहका कथामा भेटिदैँनन्।
तै, बाइसवटा कथाले हाम्रो समाज र समय कतै न कतैबाट जोडेको कुरा नर्कान सकिँदैन। इन्द्रमायाको जादु चले पनि नचले पनि यसले उठान गरेका बिषयवस्तु सापेक्ष छन्। त्यसैले नेपाली साहित्यमा यसले आफ्नो चिनारीको खाँबो गाड्न सफल भएको छ।