‘बाँचुन्जेल पैसा गनिरहन्थ्यो
मरेपछि हेरेको
उसको कफनमा गोजी थिएन।’
झट्ट हेर्दा छोटो संरचनाको ‘जेन’ कविताभित्र जीवनको सारा अर्थ अनावरण भएको छ।
जीवनभन्दा पैसालाई महत्व दिने मान्छे अन्तिममा आफ्नै कमाइ छोडेर मर्छ। कवि कृष्ण प्रसाईंले नेपाली कविताको क्षेत्रमा नौलो प्रयोग गरेका छन् जेन अर्थात् ध्यान कविता। जेन जापानी शब्द हो। जेनको नेपाली समनार्थी शब्द ध्यान हुन्छ।
डा.खगेन्द्र लुइँटेलले ध्यान कविताको बीजाधान नेपालमै भएको बताएका छन्। जेन दर्शनको प्रत्यक्ष सम्बन्ध बुद्धधर्मसँग रहेको र बुद्धको जन्मभूमि नेपाल नै भएकाले उनको तर्क उचित छ। यद्यपि यसको विस्तार भने चीन, जापान लगायतका देशमा भएको पाइन्छ। जेन कवितालाई नेपाली प्रयोगमा ध्यान कविता भनिएको छ।
चिन्तनमनन र गहिरो ध्यानबाट प्रकट हुने आन्तरिक रहस्यको कवितात्मक सूत्र यस्ता कवितामा पाइन्छन्। छोटो संरचनामा धेरै भन्न सक्नु कविताको विशेषता हो। ध्यानदर्शनका अनुसार अस्तित्व शून्यावस्थामा प्रकट हुन्छ। यही मान्यतामा टेकेर ‘घामको वर्षा’मा १०८ कविताका किरण छरिएका छन्।
कवि कृष्ण प्रसाईंको ध्यान कविता संग्रह ‘घामको वर्षा’ नेपाली कविता इतिहासमा गौरवमय कृति हो। प्रस्तुत संग्रहभित्र जीवन–मृत्यु र यथार्थ, प्रकृति, मानव, युगीन समाज, प्रेम–विछोड र दर्शनमा आधारित कविता छन्। ज्यादै छोटो संरचनाका यी कविताले हृदयमा झट्का दिन्छन् र मस्तिष्कमा हुन्डरी मच्चाउन सक्छन्।
संग्रहमा जीवन–मृत्यु र यथार्थ विषयवस्तु बनाइएका ३१ भन्दा बढी कविता छन्। शीर्षक भने राखिएको छैन।
‘मुगाका मालाहरू
मोती, मणि र मणिकहरू
सबै–सबै
ढुङ्गाझैँ लागे
मलाई जीवन बुझेपछि ।
× × × ×
ऊ आउँछ,
आएपछि कसैगरी
मैले जानैपर्छ।’
माथिका कवितांशमा जीवन र मृत्यु हृदयबाट छामिएको छ। जीवन र मृत्युको रहस्यमा धन, सम्पत्ति र संसार सबै–सबै मिथ्या रहेको उल्लेख छ। जीवन आडम्बरमा होइन यथार्थमा सरल हुने भाव यी कवितामा पाइन्छ। घर मान्छेको सपना हो। जीवनमा सुन्दर घर नचाहने कमै होलान्।
भौतिक वस्तुबाट मानिसले सुख खोजिरहेको हुन्छ। त्यसो त यो शरीर भौतिक छ। यति धेरै प्यार गरेको शरीर कुनै दिन निर्जीव होला थोरैले कल्पना गर्न सक्छन्, जुन सत्य हो भन्दै कवि भन्छन् ‘मेरो बस्ने घर मैले आफैँ बनाएँ। ऊ निर्जीव थियो, म सजीव थिएँ। एक दिन उसले आफ्नै ढोकाबाट निर्जीव बनाएर मलाई नै निकाल्यो।’
अध्यात्मले भन्छ– जीवन र मृत्युबोध भए जीवनका सबै पाटा बुझिन्छ। मन हत्या, हिंसा आतंक र अशान्तितर्फ हैन सेवा भावमा लाग्दछ। कवि कृष्ण प्रसाईंका जीवन र मृत्यु बोधका कविताबाट यही निष्कर्ष निस्कन्छ। जीवन र मृत्यु पछि उनले रोजेको अर्काे महत्वपूर्ण विषयवस्तु प्रकृति हो। प्रकृति हाम्री जननी र हामी उनका पुजारी। प्रकृतिबिना जीवनको कल्पनै असम्भव छ। प्रकृति हाम्रो गुरू। हामी जे–जति सिक्छौँ, त्यो प्रकृतिको देन हो।
‘आफूजस्तै
अरूका लागि बाँच्न
पहाडले मलाई सुटुक्क भन्यो ....
× × × ×
इन्द्रेणी बनेर प्रकृतिले
तिमीलाई सिकाइरहेछ
जीवनका रङहरु।’
त्यसो त उनले नेपाली प्रकृति र राष्ट्रप्रेममा कविता लेख्न पछि परेका छैनन्। ज्यादै सटिकमा हृदयको भित्ता फोर्न सक्ने शक्ति यी कवितामा पाइन्छ।
‘मैले गुराँस टिपेँ र,
सिउँरिदिएँ सगरमाथालाई।
× × × ×
जून र तारालाई च्यापेर
अर्कै वृत्तको खोजीमा
भाग्दै थियो आकाश
मैले सम्झाएर रोकेँ
आकाशको शीत
मेरो हिमाललाई मन पर्छ।’
नेपाली प्रकृतिको वर्णन गर्न यत्तिकै छोटा कविताका हरफ काफि हुन्छन्। पाठक अल्मल्याउने जटिल बिम्ब र शब्दगुम्फनको कुनै जरूरत छैन। हाम्रा हातबाट सगरमाथाले गुराँस सिउरनु नै हाम्रो स्वाभिमान र अस्तित्वको पहिचान हो। जीवन, मृत्यु, प्रकृति, प्रेम, विछोड, जीवन यथार्थ, समाज सबै मानवसँग जोडिएका विषय हुन्।
यी ध्यान कविताको अर्काे केन्द्र मान्छे आफैँ हो। कवि प्रसाईंले मान्छे जन्मन्छ, हुर्कन्छ र मर्छ यो सत्य भएकाले सबैले आफ्नो जीवन सेवामा समर्पित गर्न आग्रह गरेका छन्। उनका कवितामा मानवीय शक्ति र विसङ्गत पक्ष पनि उजागर भएको छर मानवीय विकृतिको विभत्स दृश्य र कठोर भाव भने छैन।
ज्यादै सरल तरिकाले गलत मानवीय आचरणको सूत्र उतारेका छन्। ध्यानदर्शनको केन्द्र बौद्धधर्म भएपनि उनले हिन्दू धर्म र पूर्वीय दर्शनमा पनि आधारित कविता लेखेका छन्।
‘उनै सूर्यलाई हेरेर म धन्य भएँ,
जसलाई मेरा पुर्खाले
हजारौँ वर्ष अघिदेखि पुजेका थिए
× × × ×
आगोसँग डराउँथ्यो ऊ
जीवनको अन्तिम पल
अग्निस्नान गरेर
आगोमै बिलायो।’
सूर्यको पूजा गर्ने र शरीरबाट प्राण गइसकेपछि अग्निस्नान गर्ने चलन हिन्दू धर्ममा छ। मृत्युसँग जत्तिसुकै भागेपनि अन्तिमपल उसैसँग हात नमिलाई सुखै छैन भन्दै यसलाई जीवन छँदै मनन गर्न कविताको आग्रह छ। छोटो आयामका जेन अर्थात् ध्यान कविताको महत्वपूर्ण विशेषता नै आयाम संक्षिप्तता हो।
हृदयको गहिराइ र मस्तिष्कको शून्यावस्थामा प्राप्त हुने ध्यानचेतमा यस्ता कविताको आधार तयार हुन्छ। संग्रहका कविताले पट्यार लाग्दा लामा–लामा कविता र बेकारका शब्दजालबाट मुक्ति दिएका छन्। कविता सरल छन्, सुनिसकेपछि मनन गर्न सक्ने दम यी कवितामा छ।
अहिलेका कतिपय कविता पाठकले होइन लेखकले नै अर्थ लगाउन नसकेका उदाहरण प्रशस्तै छन्। राष्ट्रिय कवितामा उत्कृष्ट भएको भोलिपल्ट मेरो कविताको अर्थ लगाइदिनुप¥यो भन्दै समीक्षकको घरघर धाउने कवि र कविताको विकल्प हो जेन कविता। यसमा कुनै छटपटि, पीडा, दम्भ, आक्रोश छैन। विसङ्गतिलाई पनि शान्त तरिकाले प्रस्तुत गर्नु कविको खुबी हो।
डोको इन्टरनेशनल हङकङद्वारा प्रकाशित घामको वर्षा एकैपटक नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रकाशन भएको छ। जीवन र प्रकृतिको संगम ‘घामको वर्षा’ कविताप्रेमीका लागि उत्कृष्ट कृति हो। लेखकीय चिन्तन अझै सुक्ष्म बनोस् शुभकामना।
‘जीवन र मृत्युभित्रै संसार सारा टिक्दो रैछ मृत्युसम्म आइपुग्दा जीवन पनि बिक्दो रैछ।’