दुई पटक स–सानो समूहमा दीपक रौनियार कृत ‘सेतो सूर्य’ हेरेपछि थाहा भयो धेरै मित्रलाई प्रस्तुतिको दृष्टिले चलचित्र बेजोड लाग्यो । त्यस्तै कथाको उठान र विषयवस्तु बाध्ने कला पनि उनीहरूले रुचाए । तर कथाको बैठान उनीहरूलाई कि त नाटकीय लाग्यो कि कतै केही नमिले नमिले जस्तो । धेरै दर्शकलाई चलचित्र भव्य लागेको तर कथा भने कस्तो कस्तो लागेको मनोभावले प्रख्यात फ्रान्सेली चलचित्र निर्माता र समालोचक जिन एप्स्टाइनको सम्झना दिलाउँछ । प्रथम विश्व युद्धपछि ख्याति कमाएका एप्स्टाइनको एउटा निकै चर्चित उद्धरण छ – ‘चलचित्र सत्य हो तर कथा झुठो हो’ । ‘सेतो सूर्य’ हेरेपछि धेरै दर्शकमा यस्तै भाव आएको देखिन्छ । अर्थात् उनीहरूले चलचित्रमा प्रस्तुत कथालाई कुनै एउटै गाउँमा एउटै परिवारमा भइरहेको घटनाक्रम माने र त्यसलाई वास्तविकतासँग नजानिँदो तरिकाले दाँज्ने कोशिश गरे । कथाको बैठानलाई पनि तत्कालीन समयमा त्यस्तै केही घटना भइरहेको थियो कि थिएन भनेर दाँज्न थाले । तर ‘सेतो सूर्य’ मूलतः चलचित्र हो, दस्तावीकरण होइन । एप्स्टाइनको शैलीमा यसो भन्न मिल्छ – चलचित्र कथा भन्ने कला र त्यसको श्रव्यदृश्य प्रस्तुतिका लागि हो त्यसमा भएको कथा सत्य हो वा झुठ हो त्यो ठम्याउनका लागि होइन ।
‘सेतो सूर्य’ हेरपछि नयनराज पाण्डेले ट्विट गरे, ‘मैले लेख्न खोजेको फिल्म ‘सेतो सूर्य’ जस्तै हो... तर लेखेँ ‘मलाई माफ गरिदेऊ’ ।’ दर्शकको उल्झनबाट यहाँ पाण्डे मुक्त छन् । उनको रूचि कथाको बैठानमा भन्दा बढी कथाले बोकेको सन्देश, त्यस्तो सन्देशका लागि यथार्थका विभिन्न अंशहरूबाट कथ्य बनाउने कला र श्रव्यदृश्यमा कथानकलाई उन्ने सीपसँग जोडिएको छ । त्यसलै उनको टिप्पणीले कथानकमा भएको उत्सुकता, पात्रहरूका आकर्षक अभिनय र पटकथामा रहेको बेजोड सम्वादतर्फ इंगित गर्छ । सम्भवतः पाण्डेलाई लागेको हुनुपर्छ कि व्यक्तिगत, सामाजिक र राजनीतिक विषयलाई एकै ठाउँमा उनेर यस्तो सशक्त चलचित्र नेपाली भाषामा विरलै बनेका छन् । कथानक, प्रस्तुति र विषयवस्तुका दृष्टिले ‘सेतो सूर्य’ उत्कृष्ट छ ।
नयाँ संविधान जारी गर्नु अघिल्लो दिनदेखि भोलिपल्टसम्मको तीन दिनको समयावधिलाई पृष्ठभूमिका राख्दै चलचित्रको कथानक प्रस्तुत गरिएको छ । अर्थात् संविधान घोषणाको सन्दर्भमा निहित हर्षोल्लाश र सम्झौता पृष्ठभूमिमा छ र दृश्यमा छ एक वृद्धको मृत्य । मृत्युले सामान्यतः शोक निम्त्याउँछ । तर चलचित्रको प्रारम्भसँगै सांस्कारिक मूल्यमान्यतामा रहेको मतभेद तथा मृत शरीर वरिपरि रहेका पात्रहरूको जीवनमा निहित अन्तरविरोधसँगै कथावस्तु अघि बढ्छ । अर्को शब्दमा, एउटा मृत्युबाट प्रारम्भ भएको ‘सेतो सूर्य’ को कथानकमा अन्तरविरोधका तहगत पत्रहरू जीवन्त छन् ।
कथा सरल छ । वृद्धको शव ढोकाबाट निकाल्न नमिल्ने संस्कार भएकोले झ्यालबाट निकाल्नु छ । तर जेठो छोरो (चन्द्र उर्फ दयाहाङ) घर फर्किसकेका छैनन् । गाउँमा नाबालक, वृद्ध र महिला मात्र भएकोले कान्छो छोरा (सूरज उर्फ रवीन्द्रसिंह बानियाँ) एक्लैले यो कार्य गर्न सम्भवप्राय छैन । सूरज नेपाली सेना छाडेर गाउँमै केही गर्न फर्किएका छन् । चन्द्र माओवादी संघर्षताका जनमुक्ति सेनामा होमिएका हुन् । युद्धको समयमा गाउँ छाडेपछि उनी पहिलोपटक घर फर्कदै छन् । जेठी बुहारी (दुर्गा उर्फ आशा मगराँती) ‘सानो जात’ भनाउँदो पृष्ठभूमिको महिला भएकाले कर्मकाण्डीय प्रक्रियामा सघाउन उनलाई बन्देज छ । सूरज र केही वृद्धहरूले लाश झ्यालबाट निकाल्ने कोशिश गर्दा एकजनाको हातबाट शव चिप्लन्छ र दुर्गा थाम्न पुग्छिन् । उनलाई महिला भएर लाश छोएको बात लाग्छ । बाँचुञ्जेल ससुराको रेखदेख गरे पनि शवलाई छोएको बात लागेपछि दुर्गा घरबाट निस्केर नजिकै बस्न जान्छिन् र सधैँका लागि आफ्नो सानी छोरी (पूजा उर्फ सुमी मल्ल)सँग पोखरा जाने तरखरका छिन् । उता भरियाको भूमिकामा रहेका अर्को बाल कलाकार बद्री (अम्रित परियार)सँगै चन्द्र घर आइपुग्नासाथ थाहा हुन्छ दाजुभाइमा वेमेल छैन । बाँकी सम्पूर्ण कथानक द्वन्द्वको समयमा सेना र माओवादीमा आवद्ध रहेका दाजुभाइको भिन्न पृष्ठभूमि, उनीहरूले बोकेको फरक मूल्यमान्यता, द्वन्द्वले महिलाको जीवनमा पारेको प्रभाव एवं बाल मनोभावमा सृजना भएको तनाव वरिपरि रचिएको छ ।
यसपछि कथानक सीधा छ । त्यसले मागेको क्रम पनि सरल छ । पहाडी भूबनोटमा अवस्थित गाउँ भएकोले अप्ठेरो गोरेटो, उकाली–ओराली र कुँइनेटाहरू छिचोल्दै लाशलाई तल रहेको नदी किनारको घाँटसम्म लैजाने बडेमानको चुनौती छ । गाउँमा वैश्यकहरूको अभाव भएकोले एकआपससँग सोझो कुरा गर्न नसक्ने दाजुभाइले नै दहासंस्कारको कार्य सम्पन्न गर्ला कि नगर्लान् संशय छ । तर मृत्यु वरिपरिको सांस्कारिक कार्य जोगाउन घरपरिवार र आफन्तजन लागिपरेका छन् । पाइला पाइलामा हुने मतभेद सहित कथा अघि बढ्छ । मलामी गइरहेको क्रममा चन्द्र र सूरजको मतभेद र सम्वाद यति अप्रिय हँदैजान्छ कि लाशलाई बीच बाटैमा छोडेर सूरज फन्केर हिँडिदिन्छन् । चन्द्र सहायता खोज्न लाग्छन् । यस्तोमा रीतिरिवाज अनुसार दहासंस्कार सम्पन्न गर्ने कार्य वेवारिसे बन्दै जान्छ ।
यहीँबाट कथानकले नयाँ पत्रहरू खोल्छ । सहयोग खोज्ने क्रममा चन्द्रका माध्यमबाट राज्यको भेदभावपूर्ण मनोवृत्ति र पूर्वमाओवादी नेताहरूको बदँलिदो जीवनशैलीलाई उजागर गरिएको छ । साथै द्वन्द्वले बाल मनोभावमा पारेको प्रभावलाई सटिक रुपमा प्रस्तुत गरिएको छ । यद्यपि आनो पृष्ठभूमिका कारण चन्द्र, सूरज र दुर्गाले तीन पृथक् राजनीतिक मूल्यमान्यताको प्रतिनिधित्व गर्छन् । तर गाउँका बालबालिका चौथो पक्ष वा तीनवटै पक्षभन्दा भिन्न छन् । अर्थात् राजनीतिलाई पृष्ठभूमिका राखेर गाउँ ठाउँमा सामान्य जीवनपद्धतिमा त्यसैको वरिपरि निर्माण भएको अन्तविरोध वरिपरि रचिएको कथानकमा सामाजिक मनोभावलाई सशक्तसँग प्रस्तुत गरिएको छ । साथै नेपाली समाजमा द्वन्द्व र आशा दुवै जीवन्त छन् भन्ने सन्देश चलचित्रले दिएको छ ।
लैङ्गिक सवाल प्रारम्भदेखि नै कथावस्तुको केन्द्रमा छ । चाहे त्यो दुर्गाले झर्दै गरेको लाशलाई थाम्नपुग्दाको सम्वाद होस् वा छोरी पूजाले उनको बुबाबारे कौतुहल जनाउँदाको सम्वाद । अझ आफ्नो छोरीको भविष्य सुनिश्चित गर्न दुर्गाले चन्द्र र सूरज दुवैलाई नागरिकताको फारममा हस्ताक्षर गर्न गुहार्दाको दृश्य वरिपरि यो पक्ष प्रबल हुन्छ । यद्यपि छोरीका बाबुबारे कुनै जानकारी नदिने विषयमा उनी दृढ छिन् । उनी कर्मठ छिन् र निसंकोच रुपमा बोल्छिन् । लैङ्गिक पाटोलाई दुर्गाको माध्यमबाट मात्र हेरिनु हुन्न । चन्द्रको उदारताको पाटो पनि छ । लाश थाम्न पुगेको सन्दर्भलाई दुर्गाले सघाउन खोजको भन्दै चन्द्र अथ्र्याउन खोज्छन् । त्यस्तै पूजासँगको लामो यात्रा र सम्वादबाट फर्केर आएपछि दुर्गाको कोठामा गएर चन्द्रले चुपचाप गरेको कार्यले केही विशेष संकेत गर्छ ।
पूजा र बद्रीको भूमिकामा बालमानोभाव प्रभावशाली रुपमा समेटिएको छ । यिनीहरूको भूमिकाले कथावस्तुलाई उन्नत बनाएको छ । ‘म मान्छे होइन भरिया हुँ’ भन्ने सम्वाददेखि नै बद्रीको भूमिका सार्थकरुपमा प्रारम्भ हुन्छ । बद्रीको अभिनय आकर्षक छ । उनी अरु बालबालिकाभन्दा भिन्न पृष्ठभूमिबाट आएकोले अनुभवी देखिएका छन् । उनले गरेको अभिनय पनि धेरै सहज लाग्छ । अर्कोतर्फ पूजा र बद्रीबीचको तनावमा बालमनोभावको बजोड चित्रण पाइन्छ । त्यस्तै अन्य बालबालिकाको उपस्थितिले युवाविहीन बनेको गाउँ र गाउँमा सृजना भएको वैश्यकहरूको रिक्ततालाई झल्काउँछ ।
‘सेतो सूर्य’को कथावस्तु मूलतः संस्कारमाथिको प्रहार हो । त्यसैले सम्पूर्ण कथा एउटा लाश र त्यसको न्यायोचित दहासंस्कार वरिपरि केन्द्रित छ । मृतक वृद्ध र उनका दुबै छोराहरूले खास किसिमको राजनीतिक चिन्तन बोकेको र दुर्गाको पहुँच माओवादीबाट अलग्गिएका सशस्त्रधारी समूहसँग भएकोले कतिपय दर्शकलाई चलचित्र बढी राजनीतिक लाग्न सक्छ । तर कथाको केन्द्रमा दहासंस्कार वरिपरि निर्मित तनाव प्रधान छ । सहकथाको रुपमा मूलपात्रहरूका आआफ्नै कथा भएपनि राजनीतिक, लैङ्गिक र जातीय पाटो सांस्कारिक पक्षसँगै जोडिएर आउँछ । संस्कारमाथि कनाथकले पटक पटक प्रहार गरेपनि आपतकालीन परिस्थितमा बाहेक सांस्कारिक मूल्यमान्यतामा वृद्धहरू सम्झौता गर्न तयार छैनन् भन्ने देखाउँछ । त्यसैले परिवर्तन चाहने पक्षहरू संवेदनशील अवस्थामा कमजोर देखिन्छन् । एउटा दृश्यमा चन्द्रको सम्वादले यो वास्तविकतालाई राम्रोसँग समाएको छ । उनी भन्छन्, ‘परिवर्तनका लागि यत्रो लडियो, हाम्रो परिवार भने जस्ताको त्यस्तै ।’
चलचित्रको छायाकंन उत्तिकै राम्रो छ । समसामयिक जीवनमा इतिहासको प्रभाव देखाउन कुनै ऐतिहासिक दृश्यको सहारा लिइएको छैन । धेरै वर्ष पछि चन्द्र गाउँ प्रवेश गरिरहेको दृश्यमा घासपात उम्रिएका विराना घरहरू, कुनै कुनै छतविहीन त कुनै पर्खालविहीन घरहरूको दृश्य छ । त्यो दृश्यले नै धेरै मानिसले गाउँ छाडेर गएको सन्देश राम्रोसँग दिन्छ । त्यस्तै धेरै दृश्यहरूको सिलसिलाले खेलको नियम आफै बनाएका छन् । अनि छोटा छोटा श्रव्यदृश्य र त्यसको मितव्ययिता राम्रो प्रयोग चलचित्रमा हेर्न पाइन्छ ।
‘सेतो सूर्य’को पटकथा र सम्पादन पनि उच्चकोटीको छ । अझ छोटो र सटिक सम्वादपछिको मौनताले सम्वाद र अभिनय दुवैलाई प्रभावशाली बनाएको छ । अर्थात् सम्वाद सर्वसाधारणका जीवनका अभिन्न अंग जस्तै छन् । धेरै सहज । अनि सम्वादबीचको वा पछिको मौनता उत्तिकै शक्तिशाली । त्योभन्दा पनि बढी मौनतालाई सम्वाद सँगसगै कसरी प्रयोग गर्नेबारे पटकथा लेखक र निर्देशक माहिर देखिएका छन् । सीधा कथा र मितव्ययी कथ्यशैलीले चलचित्रलाई शान्त र गम्भीर बनाएको छ । अनि कथाको माग अनुसार मूल पात्रहरूले भावनात्मक परिपक्वता, पात्रहरूबीचको सम्बन्धमाथि अर्थपूर्ण बनाउनेगरी शानदार अभिनय गरेका छन् । खासगरी आशा मगराती, दयाहाङ राई र अम्रित परियारको अभिनय अति राम्रो छ ।
चलचित्रमा यो वा त्यो पक्षलाई सही वा गलत भन्ने कोशिश निर्देशकले गरेका छैनन् । नेपाली भाषाको चलचित्रले सही मानेमा आफ्नो स्तर उस्कादैछ । यो यात्रामा ‘सेतो सूर्य’ले एउटा कोशेढुङ्गा थपेको छ । आफ्नो पहिलो चलचित्र ‘हाइवे’मा रौनियार सम्भावनायुक्त निर्देशन लाग्थे । ‘सेतो सूर्य’सँगै उनी परिपक्व निर्देशकमा परिणत भएका छन् । यसका लागि दीपक रौनियार र सम्पूर्ण टोला बधाईका हकदार छन् ।