सन् १९९० को दशकदेखि टेलिभिजन स्क्रीनमा चम्केका विजयकुमार पाण्डेलाई हामीहरुले १९९७ मा उनले चलाउने कार्यक्रम ‘दिशानिर्देश’ मा देख्न पायौं। टेलिभिजन प्रवेशमा उहाँकै आफ्नै इतिहास होला, त्यो कुरा पाण्डेले बारम्बार मिडियामा बताइरहे।
हाम्रो पुस्ताले कहिल्यै नबिर्सने कार्यक्रम थियो ‘दिशानिर्देश’। त्यसबेला नेपाल टेलिभिजनबाट दुइटा कार्यक्रम रोचक थिए। एउटा केदार खड्काले चलाउने ‘एकआपस’ र अर्का विजय कुमारको।
नेपालको टेलिभिजन दुनियाँमा कुनैपनि नेतालाई जादुमय शैलीले कपडा उतार्ने काम विजय कुमारले गरे। बडे से बडे नेताहरुको बौद्धिक क्षमता, सिर्जनशीलतालाई उनले दर्शकसामु राखिदिए ताकी दर्शकलाई चिन्ने मौका भयो।
त्यही कारणले पनि म र मजस्ता युवाहरुले कतिपय नेताको अन्तर्वार्ता हेरिदैंन। विजय कुमारले उनीहरुका स्तरहरुलाई छरपष्ट पारिदिए। युवापुस्ताबीच पाण्डेको कार्यक्रम 'हट केक' हुन्थ्यो।
पछि खै के कारणले हो, पाण्डेको कार्यक्रम आउन छाड्यो। उनकै कार्यक्रमको नक्कल गरेर अन्यले आफ्नो घरपरिवार चलाए। आज देशभित्र जतिपनि बहस कार्यक्रम छन्, ती सबै विजय कुमारको पपुलारिटी देखेर हुन चाहनेहरुको प्रयास मात्र हो।
त्यसपछि स्क्रीनबाट उनी छापामा आए। तत्कालीन अवस्थामा कान्तिपुर पब्लिकेसनको मासिक पत्रिका ‘नेपाल’ बजारमा आयो। सो पत्रिकामा उनी संस्थापक सम्पादक रहे। तर उनले त्यहाँ एउटा बहस फेरि सृजना गरे जसको स्तम्भ बेलायतमा बसेर बीबीसी नेपाली सेवामा काम गर्ने रविन्द्र मिश्रले ‘भूमध्यरेखा’ पेजबाट तत्कालीन माओवादीप्रति प्रश्न खडा गर्दथे, जसलाई बाबुराम भटृराईले प्रतिउत्तर दिएका थिए।
त्यसबेला बाबुराम भटृराइले ‘काँडाका लागि काँडाको प्रयोग’ गर्नु परेकाले हतियार उठाउन परेको बताएका थिए। रविन्द्र मिश्रलाई जवाफ दिदैं भटृराईले ‘तपाईले छाने स्तम्भ भूमध्यरेखाजस्तै मध्यम वर्गका मान्छेहरु जता शक्ति हुन्छ, जता छाल हुन्छ उतै लाग्दछन्’ भनेर दिएको जवाफले हलचल मच्चायो।
काठमाडौँ मध्यम शिक्षित वर्गमा एक किसिमको प्रभाव पर्यो जसको कारणबाट बाबुरामलाई दोश्रो वार्तामा आउन सहज भयो। विजय कुमारले पछि नेपालबाट राजिनामा दिए।
त्यसपछि उनले एउटा बौद्धमार्गी बाटो पक्रिए। करिब १० वर्ष उनी त्यो बाटोमा रुमल्लिए, वा दौडिए आत्मशान्तिको खोजीमा लागे। यसपछिका दिनमा उनले ‘खुसी’ किताब बजारमा ल्याए जसले मदन पुरस्कार समेत पायो।
अब यहाँनेर एउटा कुरा भन्नै पर्दछ। मान्छेले किन किताब लेख्छन्? रहरले? सोखले? पपुलर हुने वा लेखक हुँ भन्ने दम्भले?
पाण्डेले लेखेको पुस्तक पढेपछि यस्तो लाग्दछ की हरेक पुस्तक रहरले जन्मदो रहेनछ। कुनैकुनै पुस्तकहरु समाजको आवश्यकताले जन्मिदो रहेछ। त्यसैको परिणाम स्वरुप ‘खुसी र सम्बन्धहरु’लाई लिन सकिन्छ।
काठमाडौंको असन, भक्तपुर र बौद्धका गल्लीगल्लीहरुमा छ्यांग तुम्बा र वासा पिउँदै हिड्ने म र मजस्ताका लागि ‘खुसी’ बरदान सावित भएको हो। पुतलीसडकको मकालु बुक्स स्टेशनरीबाट लिएर दुई दिनमा सकेपछि मैले अल्कोहल मुखमा नहालेको साढे दुई वर्ष भैसक्यो। अरुका लागि पुस्तक ‘खुसी’ खुसीमै सीमित होला भने मेरा लागि ‘खुसी’ धन सम्पत्ति परिवार भएको छ।
यसैबीच कोरोनाको महामारीमा उनले अर्को किताब निकाले ‘सम्बन्धहरु’। गैर-आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेलाई सोधेको थिएँ। नेपाल बसाइमा पढ्नुपर्ने राम्रो पुस्तक कुन-कुन होला भन्दा उहाँले ‘सम्बन्धहरु’ पनि समावेश गरिदिएपछि ती हाम्रा कुनैबेला टेलिभिजन आइडल र मेरा लागि खुसीका खुसीले लेखिएको किताब भनेपछि नकिनीरहन सकिएन।
सम्बन्धहरु पढ्दै जाँदा विजय कुमारभित्रका मनोदशा बुझ्न सकिन्छ। तर वास्तवमा उनले त्यस किताबमा उत्कृष्ट कुराहरु सरल भाषामा व्यक्त गरेका छन्। त्यस किताबले सत्यको राम्रो व्याख्या गरेको छ छोटो शैलीमा। मान्छेले भोग्नुपर्ने ‘निर्णय र नियति’ र मान्छेको निर्णय र नियतिमा रुमल्लिरहन्छ भनेर व्याख्या गरेका छन्।
छरिएर रहेका बिन्दुहरुलाई जोड्न सक्नु नै सिर्जनात्मक कुरा हो। थाहा पाउनु र पत्ता लगाउनु एउटै कुरा होइन। उनले राजनीति पार्टीले जुलुस र पत्रकारले सवाल उठाइरहनु पर्दछ भन्नेजस्ता व्यवहारिक ज्ञान किताबमा दिएका छन्।
कति सहज ढंगले ‘असल स्वभाव भएका मान्छेका बानी खराब र बानी असल भएका मान्छेको स्वभाव खराब’ र नेपाली पाखण्डीपनको उजागार गरिदिएका छन् यस किताबमा। जसले गढीमाई मेलामा पशुबली रोक्न एकातिर आन्दोलन गर्ने र अर्कोतिर तिनै मान्छेहरु होटलमा बसेर मासुभात खानेजस्ता ढोंगी र पाखण्डीपनको सबैतिर व्याप्त छ।
जीवनका उतराद्धमा नयाँ पुस्तालाई ज्ञान होइन, अनुभव दिन सकिन्छ भनेका छन् उनले। सायद टेलिभिजनको पर्दामा धेरैका नकाबहरु उतारेको कारणले होला मानिसका नकाबहरुका बारेमा मान्छेले आफू जे छु, जस्तो छु, त्यो देखिन्छ की भनेर नकाब लगाउँछ भनेर अनुभव समेत बाँडेका छन्।
धेरै गहकिला कुरा सरल र सभ्य भाषामा आजका पत्रकार र नेतालाई समेत मिठो गरी बिझाउने शैलीमा पाण्डेले व्यंग्य गरेका छन्। यसरी ‘यदि स्वादिलो खाना खानुछ भने एक्स्ट्र जिब्रो हुनुपर्दछ, तारिफको होइन, चाकडीको तारिफ ज्यादा भो भने चाकडी हुन्छ। त्यो चाकडी एक्स्ट्रा जिब्रोले गर्दछ’। पाण्डेको किताबमा उल्लेख छ।
फाइनप्रिन्टले बजारमा ल्याएको यस किताब भूमिश्वर पौडेलले सम्पादन गरेका छन्। दुई सय साठी पेजको यस किताब प्रत्येक च्याप्टर पढ्दा नयाँ-नयाँ लाग्दछ। एउटा बेरोजगार युवासँग पाण्डेको संवाद र गुम्बा जाँदा योगिनीसँगको संवाद सँगसँगै चाइना युनिभर्सिटीमा त्यहाँका सहपाठीहरुसँगको संवादले मान्छेको चित्र र चरित्र एकातिर छर्लग्यांएको छ भने अर्कोतिर पाठकलाई नयाँ ज्ञान दिएको छ।
संवादमा पाण्डेले स्वीकारेको राजनीतिप्रति वितृष्णा र युवाको आक्रोश छताछुल्ल छ। लेखक निरिह बन्छनकी एउटा युवा विदेशिनु परेको घटनाक्रमले। राजनीति र राजनीतिक नेताप्रति तिखो व्यंग्य यस किताबमा गरेका छन्।
धर्मका सम्बन्धमा ‘थाइल्याण्डमा ९४ प्रतिसत जनता बौद्धमार्गी छन् तर संविधान धर्मका सम्बन्धमा मौन छ’ भनेका छन्। हाम्रो संविधानले धर्म निरपेक्ष भनेको छ। यसमा पाण्डेले अंग्रेजीको सेकुलर शब्दको अनुवाद धर्मनिरपेक्षता हुनै सक्दैन’ भनेका छन्।
समग्रमा किताब युवापुस्ताले पढ्नै पर्ने पुस्तक हो। विजय कुमारलाई सामाजिक संजालमा पछ्याइरहने वा उनको लेख हेरिरहनेहरुलाई भने उनले केही पंक्तिहरु दोहोराएका छन् जुन हामीले पहिल्यै पढिसकेका हुन्छौँ।
जे होस्, आजका युवाले राजनीति, दर्शन, धर्म र संघर्षका बारेमा अध्ययन गर्नुपरे ‘सम्बन्धहरु’लाई पढ्दा हुन्छ। विजय कुमार मेरो मनपर्ने लेखक भएकाले विमानस्थल उत्रनेबित्तिकै उनको किताब किनेर पढ्दै घरतर्फ लागेको थिएँ।
उनले सामाजिक संजाललाई पनि गहिरो व्यंग्य गरेका छन्। अर्थात सामाजिक संजाललाई विश्वसनियताका आधारमा हेर्नु हुँदैन भनेका छन्। सामाजिक संजालमा झुल्नु एउटा लत हो भनेका छन्।
यसअघि ‘खुसी’ ले म र मजस्ता धेरैको मदिराको लत छुटाएको थियो भने यसपटक नजानिँदो पाराले अर्को लतमा परिएको रहेछ। त्यो हो ‘सामाजिक संजाल'। निश्चय पनि यस किताब पढेपछि सामाजिक संजालमा झुण्डिने बानीलाई छाड्ने निर्णय गरिदो रहेछ। केही अपवाद बाहेक यसमा झुण्डिइरहने लतलाई सम्बन्धहरुले छुटाउने रहेछ।
यद्यपि यो कुनै समीक्षा वा विज्ञापन होइन, उनको किताब समीक्षा गर्न क्षमता योग्यता केहीले पनि भ्याउँदैन तर पाठकलाई सुसूचित चाँहि हो। विजय कुमार यसका लागि धन्यवादका पात्र मात्रै होइनन्, यस मार्गनिर्देशक समेत हुन्। पढ्नै पर्ने पुस्तकको गन्तिमा राख्दा फरक पर्दैन।