फिल्म समीक्षाः
केही वर्षअघिसम्म भारतीय कलाकार खेल मैदानमा दर्शकका रूपमा देखिन्थे। आइपिएलपछि कलाकारहरू खेल व्यवसायीका रूपमा समेत देखिए।
अचेल त वर्षैपिच्छे बलिउड कलाकारहरू खेलकुद वा खेलाडीको जीवनमा आधारित फिल्ममा देखिन थालेका छन्।
'लगान', 'चक दे इन्डिया', 'भाग मिल्खा भाग', 'पानसिंह तोमार', 'एमएस धोनी', 'मेरी कोम', 'दंगल', 'सुल्तान', 'गोल्ड', 'साइना' सम्म आइपुग्दा स्पोर्ट्स फिल्म प्रभावकारी देखिएको छ। यीमध्ये धेरै फिल्म दर्शकलाई मनोरञ्जन दिन सफल रहे। त्यसबाहेक खेलकुद क्षेत्र र खेलाडीको जीवनका लुकेका पाटा र सामाजिक मुद्दा उठानमा पनि सहयोगी बने।
अक्टोबर १५ मा जी-५ बाट सार्वजनिक 'रश्मी रकेट' यस्तै स्पोर्ट्स ड्रामा हो। तर यो फिल्म अरूभन्दा भिन्न छ, किनकी यो सार्वजनिक रूपमा चर्चित कुनै खेलाडीको जीवनमा आधारित छैन। अनि बलिउडमा यसअघि यस्तो कथामा फिल्म बनेको थिएन।
के छ त खास यो फिल्ममा?
पहिले फिल्मबारे सर्सर्ती बुझौं।
मनोरञ्जन र सामाजिक मुद्दाको संयोजन गर्ने प्रयास गरिएको यो फिल्म आकर्ष खुरानाको निर्देशनमा बनेको हो। यसमा तापसी पन्नुले रकेटजस्तै तेज गतिमा दौडिने रश्मी पात्रको भूमिका गरेकी छन्।
गुजरातकी रश्मीको रफ्तारमा विश्वास गर्ने उनको परिवार चाहन्छ, उनी देशका लागि प्रतियोगितामा सहभागी भएर दौडून्। तर रश्मी मान्दिनन्। भुइँचालो जाँदा दौडेर बुबाको ज्यान जोगाउन नसकेको घटनापछि उनी दौडिने चाहना मनमै मारेर बसेकी हुन्छिन्।
दौडिनुको साटो उनी बुबाको टुरिस्ट गाइड पेसालाई निरन्तरता दिन्छिन्। यही सिलसिलामा उनको भेट सैनिक क्याप्टेन गगनसँग हुन्छ। गगनको हौसला र दबाबले रश्मी म्याराथनमा देशका लागि दौडिन राजी हुन्छिन्।
अस्वाभाविक क्षमता भएकी रश्मीको नाम राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय म्याराथनमा चम्किन्छ। उनी भारतलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई स्वर्ण पदक जिताउन सफल हुन्छिन्। रश्मीको यो सफलतालाई उनका आफन्तजन र भारतले उत्सवका रूपमा मनाउँछन्।
रश्मीको यो खुसी लामो समय टिक्दैन।
देशका लागि पदक बोकेर फर्केलगत्तै एथ्लेटिक्स एसोसिएसनले रश्मीको 'जेन्डर' (लैंगिक) परीक्षण गर्छ। लैंगिक परीक्षण भनेको महिला खेलाडीको प्रदर्शन र शारीरिक क्षमतामाथि प्रश्न उठेको अवस्थामा शरीरमा भएको टेस्टोस्टेरन मात्रा जाँच्ने प्रक्रिया हो। महिलाको शरीरमा सामान्यभन्दा बढी मात्रामा टेस्टोस्टेरन पाएकै कारण भारत लगायत संसारका कयौं खेलाडीको पदकसमेत खोसिएको इतिहास छ।
फिल्ममा रश्मीको अद्भूत दौडिने क्षमतामाथि शंका गरेर लैंगिक परीक्षण गरिएको हुन्छ। यो परीक्षणले रश्मीको दौडिने क्षमतामा मात्र नभई लैंगिकता र यौनिकतामाथि समेत प्रश्न उठाउँछ।
परीक्षणपछि प्रहरीद्वारा बलजफ्ती रश्मीलाई पक्राउ गरिन्छ। उनी महिला नभएर पुरुष भएको आक्षेप लाग्छ। प्रहरीले हिरासतमा पनि उनलाई पुरुषहरूसँगै राख्छन्।
'रश्मी रकेट' को कथा यही लैंगिक परीक्षणका नाममा महिला खेलाडीमाथि हुने विभेद र अपमान झेल्ने पात्रले लड्ने कानुनी लडाइँमा केन्द्रित छ। कथाले रश्मीको परिवार, खेल जीवन र अदालतको यात्रासम्मलाई समेटेको छ।
यो रश्मी पात्रको मात्र कथा हुन्थ्यो भने रश्मी रकेट सामान्य फिल्मका रूपमा गनिन्थ्यो। तर रश्मीको कथासँग लैंगिक परीक्षणको शिकार बनेका धेरै प्रतिभावान भारतीय महिला खेलाडीको कथा पनि जोडिएको छ। त्यसैले यो विशेष फिल्म हो जसले खेल क्षेत्रमा हुने लैंगिक विभेदको समस्यालाई हेर्ने नयाँ कोण दिन्छ।
खेल मैदानमा दिलोज्यान लगाई दौडेर देशको नाम राख्ने धेरै महिला खेलाडी फिल्मकी रश्मीजस्तै वास्तविक जीवनमा लैंगिक परीक्षणको शिकार बनेका थिए। खेल मैदानमा उत्साह र साहस देखाउने केही खेलाडी यो परीक्षणपछि खेल जीवनबाट पलायन भए। केहीले आत्महत्याको प्रयाससमेत गरे। केहीले अदालतको ढोका ढकढक्याए।
भारतमा शान्ति सुन्दरराजन, दुती चन्दजस्ता कयौं महिला खेलाडी यो परीक्षणको शिकार भएका थिए। शान्तिले सन् २००६ मा एसियाली खेलमा रजत पदक जितेकी थिइन्। लैंगिक परीक्षणमा फेल भएपछि उनको पदक खोसिएको थियो। भनिन्छ, उनले यो घटनापछि निराश भएर आत्महत्या प्रयास गरेकी थिइन्।
सन् २०१४ को एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा दुइटा स्वर्ण पदक जित्ने दुती चन्द पनि यही परीक्षणमा फेल भइन्। त्यसपछिको एसियाली खेलमा उनलाई सहभागी हुन रोक लगाइएको थियो। उनले अदालतमा लैंगिक परीक्षणविरूद्ध मुद्दा लडेर फेरि खेलमा फर्किन पाएकी थिइन्।
फिल्ममा रश्मीले यिनै महिला खेलाडीको प्रतिनिधित्व गरेकी छन्। रश्मी रकेटमा लैंगिक परीक्षणविरूद्ध अदालतको ढोका ढकढक्याउने कथा टिपिएको छ। अदालतले एथ्लेटिक्स एसोसिएसनको पक्षमा फैसला गर्ला वा रश्मीको?
रश्मीले आफूमाथि अन्याय भएको भन्दै मुद्दा दायर गर्ने निर्णय लिएपछि फिल्म यही प्रश्नको सेरोफेरो घुम्छ।
खेलाडीको जीवनका सफलता वा असफलता आफैंमा सिनेमाका कथाजस्तै रोचक हुन्छन्। रश्मी रकेटकी पात्रको जीवनमा पनि कथाका लागि चाहिने उतारचढाव देखाइएको छ। यो उतारचढावमा पात्र र दर्शकको संवेदना जोडिने र टुट्ने क्रम चलिरहन्छ।
यथार्थपरक कथा भएको यो फिल्ममा बलिउडका पुराना सूत्र धेरै दोहोरिएका छन्। फिल्ममा अमित त्रिवेदीको संगीत राम्रो हुँदाहुँदै नचाहिने ठाउँमा तापसी नाचेको हेर्न मजा आउँदैन। शारीरिक रूपमा फिट देखिए पनि रश्मीलाई खेलाडीका रूपमा अरूभन्दा बढी नै असाधारण देखाइएको छ।
फिल्ममा रश्मी र उनका आमाबुबासँगका दृश्य हेरून्जेल ठिकै लागे पनि तिनले कथालाई मूल मुद्दाबाट बहकाएका छन्। खेल मैदानमा हुने प्रतिस्पर्धीबीचको 'इगो' र खेलकुद क्षेत्रभित्रको राजनीति उजागर गर्ने घटनाक्रम चयनमा पनि नयाँपनको अभाव छ।
तापसी पन्नुले यसअघि नै 'पिंक', 'नाम शबाना', 'थप्पड', 'मनमर्जिया', 'साँड कि आँख' जस्ता फिल्ममार्फत् आफूलाई अब्बल अभिनेत्रीका रूपमा प्रमाणित गरिसकेकी छन्। फिल्म र चरित्र छनोटमा उनले देखाएको परिपक्वताको धेरैले प्रशंसा गरेका छन्।
रश्मी रकेटमा पनि खेलाडीका रूपमा देखिन उनले गरेको मेहनत झल्किन्छ। महिलाप्रधान सशक्त भूमिकामा देखिँदै आएकी तापसीले फेरि एकपटक गम्भीर मुद्दाको फिल्म रोजेर आफ्नो प्राथमिकता देखाएकी छन्।
एउटा अन्तर्वार्तामा तापसीले आफू स्कुल पढ्दा हरेक वर्ष दौडमा सहभागी भई पुरस्कार जित्ने गरेको बताएकी छन्। रश्मी रकेटको तयारी क्रममा बाल्यकालको रूचिसँग फेरि जोडिन पाएको उनको भनाइ थियो।
यो पृष्ठभूमिले पनि फिल्मकी पात्र रश्मीसँग उनलाई जोडिन सहज भएको अनुमान लगाउन सकिन्छ। फिल्ममा उनी सुरूदेखि नै निडर र आफ्नो मनको मात्र सुन्ने युवतीको भूमिकामा देखिन्छिन्।
बाल्यकालदेखिको पृष्ठभूमि देखाइएकाले कथामा उनको सशक्त चरित्र स्थापित भएको छ। तर लैंगिक परीक्षणपछि मानसिक आघात सहनुपरेको पात्रका रूपमा उनको चरित्रमा रूपान्तरण देखिँदैन। अप्ठ्यारो परिस्थितिमा जेलिएको पात्रको मनोदशा र त्यसबाट बाहिर निस्कन मुख्य पात्रले गर्ने संघर्ष चित्रणमा फिल्म कमजोर छ।
तापसीबाहेक रश्मीका प्रेमी र पति बनेका प्रियान्सु पेन्युली र आमाको भूमिकामा सुप्रिया पाठक सहज अभिनयका साथ महत्वपूर्ण भूमिकामा छन्।
फिल्मको दोस्रो हाफ कोर्टरूम ड्रामाले ओगट्छ। यसपछि फिल्म मुख्य पात्र रश्मीबाट फुत्केर वकिल बनेका पात्र इशित (अभिषेक बेनर्जी) मा बढी केन्द्रित हुन्छ। रश्मीको मुद्दा लड्ने इशितको भूमिका र अभिनय दुवै आकर्षक हुँदाहुँदै अदालतभित्रका संवाद र दृश्य चलनचल्तीका फिल्ममा दोहोरिने सूत्रबाट उम्कन सकेको छैन।
फिल्मको कथाले कोर्टरूममा अब के होला भन्ने उत्सुकता जगाउन नसक्दा खल्लो लाग्छ। फिल्म खेलकुद क्षेत्रको यथार्थ चित्रण र व्यावसायिक बलिउड फिल्ममा देखाइँदै आएका सूत्रबीच कतै फसेको महशुस हुन्छ।
कमी-कमजोरीका बाबजुद रश्मी रकेटले उठाएको विषय सशक्त र नयाँ छ। रश्मी रकेट फिल्म बन्ने खबर सार्वजनिक भएयता भारतीय मिडियामा लैंगिक परीक्षणका त्रुटि र विभेदबारे प्रशस्त बहस भइरहेका छन्।
खेलकुद क्षेत्रमा लैंगिक विभेदजस्तो सामाजिक र नीतिगत समस्याबारे फिल्ममार्फत् बहस छेड्न सक्नु रश्मी रकेटको सफलता हो।