पूर्ण बहादुरसँग नभएको भनेको पैसा मात्र हो। आफ्नो श्रीमतीलाई बेस्सरी माया गर्छ। गीत त गाइने भएकाले गाउने नै भयो जो उसको नशा नशामा छ।
आफ्नी श्रीमतीले लगाएको वचन पनि कति सहज र ठण्डा भएर सम्हालिदिन्छ। ऊ रिसाउँदैन। आवेगमा आइहाल्दैन। वचनको घोचपेचले मनमा चिरा पनि पार्दैन। उसले दिने जबाफमा बाध्यता र विवशता छ तर नैराश्यता, पीडा र घृणा छैन।
आफ्नो बाबुलाई औधि माया गर्छ। उसको बाबुले नि उसलाई माया गरेको हुन्छ।
माया पाएर हुर्केको भएर नि होला — छोरालाई त्यही दिन्छ जो उसले पाएको हुन्छ।
पूर्ण बहादुर गरिब छ। तर धनबाहेक एक असल छोरा, असल लोग्ने र असल बाबु बन्न चाहिने सबै गुणले पूर्ण छ। नाम मात्र होइन, वास्तवमै ऊ एक पूर्ण पुरूषको रूपमा चित्रित छ।
पुरूष भएर जन्मिनु र पुरूषबाट समाजले अपेक्षित भूमिका निर्वाह गर्नु फरक कुरा होलान्। यदि त्यसो हो भने सबै पुरूष भएर जन्मेकाहरू समाजमा पुरूष नै भएर बाँचेका हुन्छन् भन्न पनि नमिल्ने होला। पुरूषलाई आदिम कालदेखि नै डर, त्रासबाट जोगाउने संरक्षक, कमाएर ल्याउने पालनकर्ता, दाजुभाइ/छरछिमेक र गाउँ समाजलाई जोडेर, मिलाएर लैजाने मियो, परिवारलाई माया र सीमाले बाँधेर राख्ने बाँध लगायत अनेक भूमिका दिइएको छ।
यी भूमिकामा कोही पुरूष अब्बल छन् भने कसैले केही नगर्दा पनि समाज मौन रहन्छ। उनीहरू आफैले बनाएका सामाजिक नियमहरू कानुन बनेर छुट पाएका होलान्। पुरूषलाई पूर्ण बन्नुपर्ने बाध्यता र दबाब छैन। तर पूर्ण स्वच्छन्दता र स्वतन्त्रता पनि त पाएका छैनन्।
यस्तो लाग्छ — पुरूष हुन गाह्रो छ तर पुरूष बन्दिनँ भन्दा पनि समाजले त्यो कुरा सहजै स्वीकार गरिदिन्छ। हामी आफै पनि हाम्रा बाबुहरूका गल्ती, कमजोरीलाई हाम्रा आमाहरूले गरेका भुलचुकभन्दा छिटो माफ गरिदिन्छौं। पुरूषले परिवारलाई पुर्याएको योगदान र बालबच्चाका लागि गरेको त्याग पनि सायद कम नै आकलन गरिन्छ।
त्यो मानेमा यो समाजले पुरूषलाई न्याय गरेको भन्न पनि नमिल्ला।
पुरूष पूर्ण हुनैपर्छ भन्ने छैन। पुरूषलाई न स्याबासी कसैले दिएको छ, न त नसियत। तर पूर्ण बहादुर हामीले हाम्रो वरपर देखेको पुरूषभन्दा फरक छ।
ऊ पुरूष भएर पनि पूर्ण छ।
छोराका लागि आफ्ना सपना, रहर, आवश्यकता सबै सहजै त्यागिदिन्छ। उसका कमजोरी खासै केही छैनन्। त्यसैले ऊ अलिक अपत्यारिलो पात्र लाग्छ।
त्यसो गर्न आवश्यक थियो र? त्यति नगरी पनि ऊ हिरो बन्न सक्दैन थियो र? जस्तो समाजका अरू पुरूष त्यस्तै देखाउन मिल्दैन थियो र? यस्ता तर्कनाहरू मनमा आए पनि फिल्म पूर्ण बहादुरको सारंगीले बाबु हुनु के हो, पुरूष हुनु के हो दर्शकलाई देखाएको छ, सम्झाएको छ।
यो फिल्म मिल्ने साथीहरूको कथा पनि हो — सँगै हुर्केर बढेर सँगै बुढो भएका, एकअर्काको सुखदुःखको साक्षी बनेका र सँगसँगै मरेका।
यी पात्रहरू भाग्यमानी हुन्। यस्तो जमात नै पो अब हाम्रो समाजमा कति होलान् र?
पूर्ण बहादुर र उसका साथीको मित्रता लोभलाग्दो छ र दर्शकहरूलाई भावुक पनि बनाउँछ। तर तिनका परिवार र छोराछोरी कथामा खासै अटाएका छैनन्। त्यही भएर फिल्ममा अलि पत्यार नलाग्ने पात्रहरू पनि बनेका छन्। कथाभरि सीमित पात्र मात्र छन्। गाउँ त त्यति सानो हुन नपर्ने!
अनि शिक्षकमा भए जति सबै अवगुण किन? पूर्णबहादुरको हितैषी जस्तो लाग्ने साहु पनि बेइमान छन्। साहु भनेका अरूको विवशता प्रयोग गरेर, आत्मा मारेर धनी हुन खोज्ने मात्र हुन्छन्? क्रुर र विभेदी मात्र हुन्छन्? अनि त्यो समयको समाजमा पनि पैसाको त्यसरी कारोबार हुन्थ्यो?
त्यस्तै पूर्ण बहादुर कति धेरै धक्का र मुक्का खाएर हेपिएको? राम्रो गाउन, बजाउन जान्ने मान्छे त धेरै प्यारो पो हुन्छ होइन र? त्यही गाइनेको गीत सुनेर प्राण नै त्याग गर्न लागेका पनि बाँचेका होलान्। मेला, पर्व, जात्रा, चाड र उत्सव त्यही गाइनेको गीतका कारण झन् रमाइला बनेका होलान्। बिरह बिर्साउने र पीडा पिउन सहज बनाउने ओखती बनेका होलान्।
के यो पेसाको गरिमा र इज्जत केही पनि नभएकै हो त? यस्तो सरस्वतीको वरदानरूपी पेसासँग सम्बन्धित अर्को पक्षलाई किन पूर्ण रूपमा उपेक्षा गरियो? पढ्न र पढाउनुपर्छ भन्ने जुन सन्देश कथाले दिएको छ, त्यो सराहनीय छ। तर त्यसका लागि परम्परागत पेसा, सीप र कौशलप्रति गर्व र सम्मानलाई छायामा पार्न जरूरी थिएन सायद। मागेर खाने पेसामा मात्र वर्णन गर्नु उचित थिएन।
गाइनेकै कथामा केन्द्रित भएर पनि गाइने भाका र मौलिक गीतले फिल्ममा ठाउँ पाएको देखिएन। पाएको भए कथा अझै वास्तविक लाग्ने थियो होला।
पछिल्लो समय नेपाली फिल्मले समाजको यथार्थ पात्र, कथा र मौलिकता अँगाल्न खोजेको छ। तर यसका लागि आवश्यक खोज र अनुसन्धानमा पर्याप्त ध्यान दिन सकिएको छैन। आफ्ना घर, आँगन र परिवेश अनि आफै जस्ता पात्र हेर्न नेपाली दर्शक यतिसम्म लालायीत छन् कि, सामान्य कमीकमजोरी सहजै नजरअन्दाज गरिदिन्छन्।
पूर्ण बहादुरको सारंगीले सपनालाई कुनै वर्ग र समुदायको पेवा होइन, सपना देख्ने हक सबैको छ, सपना देख्नकै लागि हैसियत र सामर्थ्य अनिवार्य सर्त होइनन् भन्ने निकै मार्मिक सन्देश दिएको छ। अहिले सपना देख्ने र देखाउनेहरूको खडेरी बढ्दै गएको छ। सपना देख्न सक्नु पनि सम्पन्न वर्गको मात्र विलासिता हो भन्ने भ्रम यो फिल्मले चिरेको छ जुन अत्यन्त सराहनीय छ।
हाम्रो समाजका सीमान्तकृत समुदाय र विपन्न वर्गमा आफ्ना र छोराछोरीको भविष्यका लागि देखिने सपनाको अभाव छ। स्कुल छोड्ने दर र बालविवाह जस्ता विद्यमान समस्या तथा चुनौती सपनाको खडेरीका उपज हुन्।
सपना पूर्ण बहादुरको मात्र होइन, उसकी श्रीमतीको पनि छ। सबै त्यागेर मनपर्ने मान्छेसँग जीवन बिताउन आएकी बाटुलीलाई अभाव र गरिबीभन्दा दमन र छोराको भविष्यको चिन्ताले बढी पिरोल्छ। ऊ पूर्णको जस्तो जिन्दगी आफ्नो छोराले नबाँचोस् भन्ने चाहन्छे।
बाटुली पर्दामा थोरै समय आउँछे तर सशक्त बनेर जान्छे। हेपाइ र दमनको अन्त्य चाहन्छे र आफूले जानेको/ सकेको बिद्रोह गर्छे।
त्यो समाजकी बाटुलीमा बिद्रोहको चेत र भविष्यको चिन्ता पनि अलिक अपत्यारिलो नै छ। पूर्णको दुःखलाई जुन हिसाबले प्रदर्शन गरेर पूर्णलाई नायक बनाइएको छ, बाटुलीलाई भने कता कता धेरै खलनायकमध्ये एक हो कि भन्ने दर्शकलाई लाग्छ।
बाटुली र पूर्णले आ-आफ्नो घर घरबाट आर्थिक-सामाजिक रूपान्तरणका क्रान्ति गरेका छन्। ती पूर्ण र बाटुली हाम्राबा आमा हुन्, जसका बिद्रोह र क्रान्तिका कारण आज हामी फरक र सहज स्थानमा छौं भन्ने जो कुनै दर्शकलाई लाग्छ। तिनले आफ्ना सपना र रहरसँग हाम्रो भविष्यको सटही नगरेको भए भन्ने आभाष हुँदा मन कटक्क खान्छ।
यो फिल्मले नेपाली सिनेमा क्षेत्रमा पनि क्रान्ति ल्याएको छ। दायाहाङ राईबाट निश्चित रूप, रङ, गुण र भेषका मात्र हिरो हुन्छन् भन्ने तोडिएको 'स्टेरियोटाइप' विजय बरालसम्म आइपुग्दा पूर्णतः बिलाएको जस्तो लाग्छ।
अब नेपाली फिल्म एक जवान 'हिरोहिरोइन' र उनीहरूको प्रेम कथामा मात्र केन्द्रित हुँदैनन्। नेपाली सिनेमा नेपाली समाजको ऐना बन्छन् र जुनसुकै उमेर, समूह र पात्रको कथा भन्ने ल्याकत राख्छन्। यसलाई दर्शकले सहर्ष स्वागत गर्नेछन्।
समाज परिवर्तनको जिम्मेवारी कला, साहित्य र सिर्जनाको हो। नेपाली फिल्मले त्यो अभिभारा पूरा गर्नेछ। अब नेपाली फिल्मले कथा खोज्ने, लेख्ने, भन्ने र प्रस्तुति गर्ने क्षमतामा क्रान्ति ल्याउनुपर्छ। कलाकारको अभिनय र निखारताको सवालमा भने यो क्षेत्र निकै अगाडि बढिसकेको छ।
रंगमञ्चबाट खारिएर आएका कलाकार भएर पनि होला, अभिनयमा खोट लगाउने कुनै ठाउँ छैन। सबैको जस्तै बाल कलाकार स्वयं केसीको अभिनय जीवन्त छ।
यसका बाबजुद धेरै ठाउँमा कथा साह्रै ढिलो गरी बगेको जस्तो लाग्छ। खुसी देखाउन दर्शकलाई तीन घन्टै दुःखी मात्र बनाउन पनि आवश्यक थिएन होला। फिल्ममा कारूणिक दृश्य खचाखच छ। बीचबीचमा हाँस्य र अन्य रसको सही सम्मिश्रण गर्न अवश्य सकिन्थ्यो। पैसा र समय निकालेर हल पुगेका दर्शकले मनोरञ्जन पनि पाउनुपर्छ। कति दर्शक दुःख बिर्सिनै त्यहाँ पुगेका हुन्छन् भन्ने पनि निर्माण पक्षले बिर्सिन हुँदैन।
त्यसै गरी डाक्टर मात्र सम्मानित पेसा भन्ने बनाउन पनि आवश्यक थिएन। पूर्ण बहादुरको छोरो कमल पढे-लेखेको गायक वा गन्धर्व बन्न सक्थ्यो। उसले आफ्नो बाबुबाजेले अपनाएको पेसालाई थप अर्को उचाइमा पुर्याउन सक्थ्यो। कमल आफ्नो र बाबुको आत्मसम्मान र स्वाभिमानका लागि शिक्षक बन्न पनि त सक्थ्यो।
फिल्मको प्लट हेर्दा प्रकाश सपूतको गीतको झल्को आउँछ। प्रायः जसो उनका गीतका भिडिओ पनि यसरी प्रस्तुत भएका छन्। त्यसैले कथा पस्किने शैली अझ पृथक र सशक्त बनाउन सकिन्थ्यो। प्रकाश सपूतले लेखेका, गाएका र अभिनय गरेका गीत, संगीत र कलाले लैंगिक तथा अन्य विभेद, असमानता तथा सामाजिक विकृति र विसंगतिको चिरफार गर्दै समाज र राष्ट्रप्रतिको दायित्व निर्वाह गरेका छन्। उनको काम हेर्दा उनी समाजको गहन अध्ययन गर्छन् र उठान गर्नुपर्ने मुद्दाको सही छनौट गर्न काबिल छन् भन्ने लाग्छ। त्यो ल्याकत समकालीन अधिकांश कलाकारमा छैन। यसले गर्दा कला क्षेत्र सतही र फितलो बनेको हो कि भन्ने लाग्छ।
समग्रमा प्रकाश सपूतसँगै पूर्ण बहादुरको सारंगीले हराएको नेपाली सिनेमाको साख स्थापित गरी नयाँ युगको सुरूआत गरेको छ भन्दा फरक पर्दैन।
समाजको एक पात्रको कथा भन्न र देखाउन फिल्म सफल बनेको छ। फिल्म हेरेपछि पूर्ण बहादुर र उनको जीवनका सबै पात्र दर्शकले सजिलै भुल्न सक्दैनन्। फिल्मले एक छोरा मान्छेलाई बाबु बन्न र पुरूष बन्न सिकाएको छ। पुरूषले गरेका त्याग र योगदानको कदर गर्न सम्झाएको छ। र, अत्यन्त सन्देशमूलक फिल्म बन्न सफल भएको छ।
(नर्बदा घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)