मोहित सुरीको फिल्म 'सैयारा' बाट अनित पड्डा र अहान पाण्डे रातारात चम्किए। यो फिल्मले आक्रामक कमाइ गर्दै थुप्रै रेकर्डहरू बनायो।
नेपालमा पनि यो फिल्म हेर्न हलमा दर्शकहरुको भिड लाग्यो।
सिनेमा हलपछि यो फिल्म ओटिटीमा रिलिज भइसकेको छ। र, फिल्मले ओटिटीमा पनि रेकर्ड कायम गरिरहेको छ। अब अनित र अहानका फ्यानहरू उनीहरूको आगामी प्रोजेक्टको प्रतीक्षामा छन्।
चर्चा अनुसार अहान हाल यशराज फिल्मको एक एक्सन फिल्ममा काम गर्ने तयारीमा छन्।
यसैबीच, पछिल्लो रिपोर्टले अभिनेत्री अनितले कियारा आडवाणीलाई विस्थापित गर्दै म्याडक हरर कमेडी युनिभर्सको प्रतिष्ठित प्रोजेक्टमा प्रवेश गरेको बताएको छ।
अनित पड्डाले म्याडक फिल्मस्को अर्को हरर कमेडी फिल्म 'शक्ति शालिनी' मा मुख्य भूमिका पाएको खबर सार्वजनिक भएको हो। पिंकभिल्लाले जनाएअनुसार यो भूमिका पहिले कियारा आडवाणीले गर्ने भनिएको थियो।
एक स्रोतलाई उद्धृत गर्दै जनाइएअनुसार अनित पड्डा उक्त फिल्मको लागि विगत दुई महिनादेखि छलफलमा थिइन्।
स्रोतलाई उद्धृत गर्दै भनिएको छ, 'दिनेश विजन आफ्नो युनिभर्समा नयाँ ऊर्जा भर्न चाहन्थे। उनले सैयारामा अनितको काम मन पराए, र हरर कमेडी युनिभर्सको अर्को अध्याय उनलाई लिएर अगाडि बढाउने निर्णय गरेका छन्।' 'शक्ति शालिनी' ले डिसेम्बर ३१, २०२५ को लागि प्रदर्शन मिति तय गरेको छ। यद्यपि, उक्त मितिमा फिल्मको छायांकन बल्ल सुरू हुने अपेक्षा गरिएको छ।
फिल्मका लागि अनितले आफ्नो लुक टेस्ट समेत गरिसकेको जनाइएको छ। निर्देशकको नाम अहिले गोप्य राखिएको र त्यसबारे अन्तिम निर्णय दुई हप्ताभित्र लिइने जनाइएको छ।
हरर कमेडी फिल्ममा अनित जोडिएको खबरलाई लिएर दर्शक तथा फ्यानहरू उत्साहित छन्। कतिपयले खुसी व्यक्त गरेका छन् भने कतिपयले अनितले यस बिन्दुमा 'शक्ति शालिनी' जस्तोभन्दा रोमान्टिक खालकै फिल्महरू बढी गर्नुपर्ने धारणा राखेका छन्।