त्यतिखेर लागेको थियो, अब कोभिडले सिध्याउँछ होला! नयाँ नयाँ भेरियन्टको रूपमा ऊ परिस्कृत हुँदै थियो। खेलाँची गर्दा गर्दै मृत्युयज्ञ पनि सुरू भयो। कोभिडले त्यस अनुष्ठानमा मानिसकै समिधा बनायो, मानिसलाई नै चरू सम्झिएर होम्यो। तब अनायासै मनमा सृष्टिको अन्त्य आउन थाल्थ्यो। प्रलयको समय अब धेरै टाढा छैन, सबैले यही भन्थे।
मृत्युसँग भयभीत हुनु र फेरि उसैको पर्खाइमा रहनु एउटा विडम्बना थियो। त्यस घडी विश्व नै अनाथ भयो, लाचार भयो। मानिस मृत्युदेखि भाग्ने भएको रे! झन् उसलाई मनमै बास दिन्थ्यो। हरेक निमेष आफू मरेको कल्पना गर्थ्यो।
मृत्यु अप्रिय थियो तर प्रियजस्तै ऊ नजिक आइरहन्थ्यो। हामी जुन कुरा चाहँदैनौं त्यसैको भीड लाग्ने गर्छ हाम्रो मनमा। जुन कुरा हामीले इच्छा गरेका हुन्छौं त्यसलाई कल्पनामा गुमाइरहेका हुन्छौं। त्यो गुम्ला भन्ने भयले हामीलाई दुःख दिइरहन्छ।
वाञ्छित वस्तु भयवादले त्यसरी पर धकेल्ने गर्छ। अनि अवाञ्छित वस्तु सधैं नजिक ल्याउने गर्छ।
महाव्याधिसँग सतर्क हुँदाहुँदै पनि मान्छे निःसन्देह थिएन। जुन तरिकाले पनि कोभिड सल्किन सक्थ्यो। आत्मबल निख्रिँदै थियो। मनोवाञ्छा ओइलिन थाल्यो। त्रासको बेला छ, भविष्यको सोच आउन छोड्यो।
प्रथमतः जीवित हुनु ठूलो कुरा थियो। मरिन्छ, बाँचिन्छको निधो नहुँदा स्रष्टा कलाकारको कलम उठेन, कुची तंग्रिएन, सारेगमको संगीत ब्यूँझिएन। शीला कुँद्ने छिनु पनि भुत्ते भयो।
त्यतिखेरको विपदमा मानिसको मनोविज्ञान बुझ्न म अनेक सामग्री खोजिरहेकी हुन्थेँ। अन्तर्वार्ता सुन्थेँ, पढ्थेँ। कोभिडको उच्छृंखलताका समाचार म सुन्दैन्थेँ। त्यसले दुर्बल बनाउने छ। त्यस्तो कुरा ज्ञात नभएकै जाती।
अज्ञानतामा म यसरी निर्भय हुन खोज्थेँ। कोभिडकै कारण मरिन्छ जस्तो पनि मलाई लागेन। कोही स्रष्टा कलाकार भन्थे– यस्तो बेला साहित्य गर्ने इच्छा छैन, यहाँ जीवनकै निश्चितता नभएको समयमा अरू कुरा हुनु नहुनुले केही अर्थ राख्दैन।
यस्तो विकलतामा डा. गोविन्दराज भट्टराईको अभिव्यक्ति भने अर्कै थियो। कर्मबाट उनी किञ्चित विचलित भएनन्। जुन कुरा उनको 'कोरोना डायरी' र त्यस्तै अरू साहित्यिक कर्मबाट थाहा हुन्छ।
यसरी मृत्यु चिन्तनमा समय व्यतीत हुँदै थियो। त्यो भयावह दिनचर्यामा अर्को छनोट थिएन। कोभिडले सृष्टिमाथि नै धावा बोलेको बखत कुनै कुराको मूल्य थिएन। बाँचेर पनि मानिस मृतप्रायः स्थितिमा थियो।
वर्तमान समयको यो निर्भयता हामीले सोचेका पनि थिएनौं। यस्तो क्षण आउला जस्तो पटक्कै लागेको थिएन तर आयो। कति छिट्टै मैले त्यो सन्त्रास भुलिसकेछु!
त्यो त्रासद स्थितिमा भय, कठोरता, जिजीविषा, मृत्यु अनि अस्थिर मनोवृत्तिले विश्व डगमगाएको थियो। डा. भट्टराईको 'निर्वाचित निबन्धावली' निबन्ध संग्रह, त्यसै बखत तिनै विषयवस्तुमा लेखिएका रचनाहरू हुन्। कृति हालै स्वदेश प्रकाशनबाट प्रकाशित भएको छ।
प्रस्तुत कृतिको अध्ययनमा म फेरि आतंकित भएँ, कायल भएँ कोभिड सम्झिएर। उन्नाइस वटा निबन्ध संकलित यो कृति पढेपछि निबन्धप्रति मेरो सम्मोहन दोब्बर भयो। दोहोर्याएर पढौंजस्तो भयो। धीत मरेन।
कतिपय कृतिहरू यस्ता हुन्छन् जुन दोहोर्याइरहँदा समेत पहिलोपटक पढ्दैछु जस्तो हुन्छ। 'निर्वाचित निबन्धावली' मा मलाई त्यस्तै भयो।
यी निबन्धले वैश्विक चेतनाको प्रवाह, बहुलता, विचलित सत्यहरू, वैकल्पिकताको खोजी, जडीभूत विचारको अन्त्य, विनैर्माणिक धारणा, स्थायित्वको देहावसान, किनारीकृतको आवाज, स्थानीयतामाथि अतिक्रमण, प्राचीनताको विलयसँगै तेस्रो संस्कृतिको विकास अनि क्षणिकतालगायत अनेक तत्त्वले विद्यमान जीवन पद्धति नै उथलपुथल भएको देखाउँछन्।
डायास्पोरा र साइबर संस्कृतिले ओसारेको सन्देह र अस्थिरता झन् डरलाग्दो छ। समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र लगायत हरेक क्षेत्रमा त्यसको प्रभाव गहिरो छ। भाषा साहित्यमा झन् गहिरो छ।
त्यसैको अध्ययन गर्ने सिद्धान्त उत्तर आधुनिकवाद भएको बताउने र नेपाली साहित्य समाचोलनामा क्रान्ति ल्याउने डा. भट्टराईका निबन्धमा तिनै कुरा छन्।
वर्तमान समयले राष्ट्रियताका धेरै सीमारेखा भत्काएको छ। विश्व नै साझा समुदाय बनेको छ। संकीर्णता र संकुचनले बन्धित दायरा फुक्लिएको अवस्था छ।
अबको स्रष्टा र उसको कृति विश्व साहित्यको एकांश भएको छ यद्यपि विश्व साहित्यको प्रतिस्पर्धामा पुग्न भने हामी सकेका छैनौं। यही चिन्ता छ लेखकलाई।
केही समय यता वैश्वीकरणको आँधीमा उढ्दो वर्तमान साहित्यस्वरूप, उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा समकालीन नेपाली साहित्यपथ, डायास्पोरा–एक अस्थिर धारणा, नेपाली साइबर रंगमञ्चमा सार्त्रको नाटक- एक नूतन अनुभव लगायत आलेख पढेर म रन्थनिएकी थिएँ।
अघिका दिनमा साहित्य अध्ययन गरेर यसरी चक्कराएकी थिइनँ जति यस निमेष चक्कराएकी छु। त्यसैमा फेरि डा. भट्टराईको निर्वाचित निबन्धावलीले अर्को चक्कर थपिदियो। उल्लिखित तिनै लेखरचनाले प्रस्तुत निबन्ध संग्रहको साहित्यिक मर्म र वैश्विक अवधारणा बुझ्न मलाई केही सहज भयो।
कोरोनाकाल इतिहासमा एउटा कालखण्ड विभाजनको माइलस्टोन भएको छ। त्यसैको वरिपरि र त्योभन्दा अघिको अर्को सानो माइलस्टोन, नाकाबन्दी, को केन्द्रीयतामा यी निबन्धहरू लाग्छ, स्वयं समय हुन् जो आफैंमा संवाद गर्दैछन्।
लेखन कलाको जादुले वेगवान् समय पनि यसरी रोक्न छेक्न सक्दो रहेछ, ऊ टक्क अडिएको छ केही सुन्न तथापि विचारले, तर्कले, विश्लेषणले, अनुभूतिले र उच्च भावावेगले गरिएका प्रश्न प्रतिप्रश्नमा समय अनुत्तरित छ। धाराप्रवाह शैलीले समयको पदध्वनिमा सुमधुर संगीत भरेको छ।
निर्वाचित निबन्धावलीमा विशेषतः महाव्याधिले भूमण्डलभरि मृत्युको फेरी लगाएको आततायी स्थितिमा सिर्जिएका रचनाहरू छन्। कोरोनासँग गरिएको गुनासो भने होइन। एउटा स्वतन्त्र भोक्ता अर्थात साक्षी भएर दिनैपिच्छेको साहित्यिक कर्म, अतीत स्मृति र कठिन परिस्थितिको दृश्यात्मक चित्रण छ। समयको प्रत्यक्षीकरण गरिएको छ।
त्यस्तै दुर्लंघ्य अवस्थासँग अद्यावधिक भई प्रस्तुत गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका वेबिनार कार्यक्रम बडो महत्त्वपूर्ण छन्। त्यसैमा जोडिएर आएको छ भाषा चिन्तनको कुरा, डायास्पोरिक जीवन र साहित्यका कुरा, तिनीहरू कसरी अन्धकारमा हाम्फाल्छन्, बहस पैरवी यसकै छ।
कस्तो विरोधाभास छ अहिलेको समयमा! एकतिर राष्ट्रिय भावना छ अर्कोतिर राष्ट्रियता भत्किँदैछ, कस्तो डरलाग्दो आँधी चलेको छ डायास्पोराको! जति बोध गर्यो उति जटिल लाग्ने, उति बोध गर्न बाँकी रहने गम्भीर पाठ छन् निबन्धभित्र।
पैंतीस वर्षको निर्वासनपछि गुप्तदानले खाइरहेको एक प्राध्यापकको जुनी, एक रिटायर्ड प्रोफेसरको काठमाडौंमा एक बिहान जस्ता लेख पढेर म यसरी अभीभूत भएँ कि लाग्छ, यस्ता कलात्मक संस्मरण सायदै लेखिन्छन्।
त्यसो त अतीत स्मरण गर्नु मात्रै सर्जकको अभिप्राय होइन, वैचारिकता प्रमुख छ। पैंतीस वर्ष शैक्षिक सेवामा समर्पित एक व्यक्तित्व, अन्तिम उचाइमा पुगेर, सेवानिवृत्त क्षणमा गरिएको अनुभव बडो उदेक लाग्दो, आश्चर्यको छ।
गुप्दानमा फेरि अर्कै रहस्य छ। हुन त हरेक मानिसका आआफ्नै जटिल र स्मरणीय भोगाइहरू हुन्छन् यद्यपि ती रुचिकर नहुन सक्छन्। ती दुरुह भोगाइले नै लेखन उचाइमा पुर्याएका होइनन्। अभिव्यक्ति कलाले त्यसलाई माथि उठाउने रहेछ। अमर बनाउने रहेछ।
हो यहाँ त्यस्तै अमर बनाउने कला छ। म त यस्तो कहिल्यै लेख्न सक्दिनँ होला! पढ्दै जाँदा बीचबीचमा आफैंलाई सोधिरहेँ।
विस्मित पार्ने खालको आकर्षक प्रस्तुतिमा युग चेतनाको कुरा बडो दार्शनिक लाग्छ। वैश्विक चेतनाको आह्वान ठूलो छ। विचार, भावावेग र कलाको सुन्दर मिलाप नै साहित्य हो भन्ने बोध गराउँछ यस्तो कृतिले।
साहित्यप्रेमी, पुस्तकप्रेमी, भाषाप्रेमी, समयप्रेमी डा. भट्टराईको चेतनास्तर मलाई बडो गजब लाग्छ। सूक्ष्मलाई पनि दार्शनिक दृष्टले हेर्ने अनि साधारण विषय पनि आकर्षक बनाइदिने उहाँको क्षमता छ।
पुस्तक पढेपछि मैले केही लेख्ने आँट गरेकी मात्र हुँ। समीक्षा गर्ने किसिमले यहाँ लेखिरहेकी छैन।
हिंस्रक जीवजन्तुले घासपात खाने अनाथ पशुप्राणीलाई कति सहजै निमेषभरमा अन्त्य गरिदिन्छन्! कत्रो संघर्षले बचाउँदै आएको उसको अस्तित्व क्षणमै समाप्त हुन्छ। उता हिंस्रक विनाअवरोध विजयी हुन्छ।
अहिलेको साइबर संस्कृति, डायास्पोरा र भूमण्डलीकरणको आँधीलाई यसरी नै लिन सकिन्छ। एउटा अधिनायकवादको रूपमा। हाम्रो प्राचीन सभ्यता उसले निखार्दै लगेको छ। भ्रान्ति र वास्तविकताको दोछायामा हामी विचित्रको हुन लागेका छौं। प्रविधिले हाम्रो आदिम लय नै तितरबितर पारिदिएको छ। अतिक्रमण गरेको छ।
नित्य भोगेर पनि साइबरको विचित्रताबारे मैले यस्तो बोध गरेकै रहिनछु। आफूलाई ज्ञात भएर पनि पहिलोचोटि थाहा भएजस्तो लाग्ने लेखन शक्ति छ निबन्धमा।
शीर्षकबाटै कति कुराहरू अनुमान लगाउन सकिने छन् त कति सकिने छैनन्।
‘जीवनको एक अमीट तृष्णा रहेछ पुस्तकालय’ पढेपछि, मैले यतिका वर्षसम्म चिन्न नसकेका स्रष्टालाई एउटा आलेखले सम्पूर्णतः पहिचान गर्न सकेको बोध भयो।
विश्वग्रामीकरणका ईश्वरलाई पुकारा, कोरोनाकालकामा गरिएको ईश्वर–वार्ता, महाकालसँग छोटो संवाद यो के भन्न खोजिएको हो, यस्ता कुरा पाठक आफैंले पढ्नु होला। अनि थाहा पाउनु होला मैले भनेको लेखन शक्तिको कुरा।
वैचारिकता र भावात्मकताको सन्तुलित संयोजनले बाँधिएका यस्ता सिर्जनाहरू बिरलै रचिन्छन्। शब्दशब्दमा दृश्यात्मक विम्ब निर्माण गर्नु कठिन काम छ। हो, यहाँ त्यही कठिनाइ सफल भएको छ।
कोरोनाकालको भयावह दृश्यमा विश्वयुद्ध भोग्दैछु जस्तो महसुस भयो, त्रासले निसासिएँ। मृत्यु अगाडि नै थियो। महाकालसँग लेखकले संवाद गरेका छन्। जिन्दगीको अभिप्राय नै डिलिट गरिदिने हो कि, एउटा ठूलो आशंका छ।
घरको धुरीमाथि यमराज दाउ हेरेर बसेको छ। द्वारमा तरवार भिरेर ढुकेको छ। घाँटी थिचेर मार्ने उसको योजना कठोर छ। व्याप्त तर अदृश्य उसको अस्तित्वमा लाखौं अक्षौंहिणी सैन्यबलले ठूलो आतंक मच्चाएको छ।
त्यही विध्वंसको रापमा एउटा लेखक भय, त्रास, अन्योलको बीचमा साहित्यको तृष्णाले सञ्चालित छन्। त्यही अनुरागले उनको दिनचर्या चलेको छ। जिजीविषा सक्रिय छ। आशा, भरोसा, कल्पना जीवित छन्।
त्यो दुरुहतामा समेत भाषा साहित्यको चिन्ता छ। विश्व काँतर भएर सास दबाएको बेला, डा. भट्टराई केही सन्देह र थोरै विश्वासको संघारमा, साहित्यमा साधनारत छन्। बडो आश्चर्य लाग्ने कुरा छ।
त्यसो त उनलाई निर्भीक बनाउने दबाइपानी भनेकै वाङ्मयी कर्म थियो। दिनको सत्र अठार घण्टा, विनाअवरोध लेख्न पढ्न पाउँदा घरीघरी उनी कृतज्ञ हुन्छन् महाव्याधिसँग। के तपाईंलाई थाहा छ? उनलाई अझै समय पुगेको थिएन।
यी निबन्धमा व्याधि नभोगेका, भोलि आउने नवपुस्ताले अझ बढी कठोरता महसुस गर्ने छन्। मृत्युको महायज्ञमा कोभिडले बलात हामीलाई होम्दै थियो। उसको क्रूरतामा अभ्यस्त थियौं र पनि यस संग्रहले फेरि उही आतेस थपिदिएको छ, उही भयावहता दोहोर्याइदिएको छ।
यी अक्षरका कुरा हुन् भन्ने बिर्सिएर पाठक फेरि भयभीत हुन्छ। क्वारेन्टिन, आइसोलेसन, लकडाउन, सेनिटाइजर, थर्मोगन जस्ता शब्दमा अनायास कोभिड ब्यूँझिन थाल्छ।
जडीबुटी लिन गएका हनुमान द्रोणगिरि नै बोकेर श्रीरामको सम्मुख उपस्थित भएका थिए। त्यस्तै यहाँ सर्जक डा. भट्टराईले कोरानाकालीन विश्वको मनोजगत र अवस्थितिको पहाडै उचालेका छन्।
सारा संसार बन्दी भएको बखत छ। संकटकालीन वातावरणले क्रान्तिकारी परिवर्तनको उद्घोष गरेको छ। मृत्यु छ, भय छ, आतङक छ तर पनि चुनौती एउटा अवसर हो।
दुर्बोध्य समयप्रति यसरी सकारात्मक हुन सक्नु लेखकले डरमाथि विजय प्राप्त गर्नु हो। प्रथम सगरमाथा आरोही एड्मन हिलारीलाई एक अन्तर्वार्तामा पत्रकारले ‘कसरी विजय प्राप्त गर्नु भयो’ भनी सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘सगरमाथासित मैले केही विजय प्राप्त गरेको छैन। बस्, आफैंभित्र रहेको डरमाथि विजयी भएको हुँ।’
यहाँ लेखकको दैनिक गतिविधिमा मैले हिलारीकै अभिव्यक्ति पाएँ।
स्कुल–कलेज अनलाइन भए। भौतिकता ठप्प भयो। अनि सुरू भयो साबइर क्रान्ति। अहिले प्रविधिक जगत नै एक मात्र सहारा हुन पुगेको छ। पहिरो खसेजस्तो आकस्मिक परिवर्तन बडो उदेकलाग्दो छ। वास्तविकता जस्तो लाग्ने तर भ्रान्तिमय जगतमा मानिसहरू भित्रभित्रै सल्बलाएका छन्। घरमै छन्, सुरक्षा अनुभव गर्न दिउँसै गजबार ठोकेका छन्।
भौतिक अस्थिरतामा रोकावट आए पनि साइबरले गतिशील बनाएको छ। समय र आकाश (टाइम र स्पेस) को दूरी मेटिएको छ। साइबर संस्कृतिले सिर्जेको अस्थिरता र अविश्वासहरू भयंकर छन्। वैश्विक चेतना र युग परिवर्तनका कुरा गम्भीर छन्। टिएचबी कलेज असमको जूम भेलालाई समर्पित एक अपराह्नमा हाम्रा परम्परित धारणा उथलपुथल भएका छन्। विद्यमान अवस्था दुरुह छ, स्वतन्त्र छ। हिजोसम्म सत्य ठहरिएका कुरामा आज अनन्त सन्देह उत्पन्न भएको छ।
गहिरो निद्राबाट ब्यूँझिँदा उज्यालोले आँखा तिरमिराएझैं हुने सत्यहरू पैदा भएका छन्। त्यसलाई स्वीकार नगर्ने र जड्ता रुचाउने एउटा समाज पनि छ। समयको तीव्र आवेग बोध गर्न सक्षम भट्टराई एक युगनायक हुन्। पुरानो सभ्यता एककिसिमले ध्वंस भएको छ, आदिम परम्परा उल्लंघन भएको छ। जीवनको लय फेरिएको छ, नयाँ पद्धतिसँग अभ्यस्त हुँदाका अनौठा अनुभव यन्त्रमय छन्।
विकासोन्मुख देशको, एउटा लेखकको जीवनशैलीमा त यति धेरै परिवर्तन आएको छ भने प्रविधि सम्पन्न देशका नागरिकको जीवनमा अरू केके नवीन अनुभव थिए होलान् भनूँजस्तो लाग्छ।
त्यसो त सारा जगत नै लकडाउनमय हुँदाको बन्धित अनुभवमा फरक नै के थियो होला र! भ्रम र यथार्थको सीमारेखामा गरिएको अनुभव बडो आश्चर्यलाग्दो छ।
सूक्ष्म तर कठिन विषय बोधगम्य बनाउनु कलाकौशलकै कुरा हो। शान्ति, शालीनता व्यंग्य र हास्य चेत डा. भट्टराईका लेखन वैशिष्टय हुन्। छिमेकी राष्ट्रले गरेको घातप्रतिघात र निर्दयतामा स्मित व्यंग्य र विरोध छ यद्यपि गालीजस्तो नलाग्ने कलात्मक शैली संगीतभन्दा प्रिय लाग्छ।
नाकाबन्दीको प्रशंसामा समर्पित केही शब्द, एक निबन्ध पढ्दा कृष्णचन्द्रसिंह प्रधानको गौतम बुद्धको नाममा अशोकको चिठी पढेजस्तै लाग्यो। अझ बढी जटिल र कलात्मक।
केले धुमिल पार्दैछ त्यो हार्दिक अटलता? मा छिमेकी भारतको क्रुरता छ। त्यो असह्य कष्टमा दुखेको अभिव्यक्ति छ। महात्मगान्धीको सत्याग्रह आन्दोलनजस्तै शान्तिपूर्ण विद्रोह अद्भूको छ।
उत्तरआधुनिकताले ओसारेको अधुनातन विचार विमर्श र त्यसले भाषा साहित्यमा पारेको प्रभाव अनि नवीन जीवनपद्धति सहज स्वाभाविक स्वीकार गर्ने डा. भट्टराई अघिल्लो पुस्ताका लेखक भएर पनि फ्रेस युवा लेखक हुन् भनूँजस्तो लाग्छ।
मानिस उमेरले होइन नवीन ऊर्जा र नवचेतनाले युवक हुनु पर्दो रहेछ। समयसँग अद्यावधिक भइरहने, समय सही तरिकाले जान्ने, बुझ्ने, समयको वेग छुने र ती कुरा अरूलाई बुझाउन सक्ने सर्जक डा. भट्टराईका लेखरचनाहरू मलाई युगवाणी जस्तै लाग्छन्।
डा. भट्टराई नेपाली भाषा साहित्यका एक सशक्त युगचेतक हुन्।
उत्तरआधुनिकताले आफ्नो प्रभुत्व कायम गरेको वर्तमान समय अत्यन्तै अस्थिर छ, विचलित छ। हाम्रो दैनन्दिन कर्म पनि त्यस्तै छ। साइबर युगले विश्वासै गर्न नसकिने परिवर्तनहरू ल्याएको छ। नवीन तर भ्रामक सत्यले जगतलाई निर्देश गरेको छ।
यतिखेर हामी विश्वास र अविश्वास, सत्य र असत्यको संघारमा छौं। डायास्पोराले स्थायित्व मेटाएको छ। अरू पनि धेरै थोक मेटाएको छ। अनि त सुरु भएको छ नवीन परम्परा!
निर्वाचित निबन्धावलीमा यस्तै युग परिवर्तनका नूतन सन्दर्भहरू आकर्षक र पठनीय छन्। नयाँ–पुराना दुवै पुस्ताले विचार, चिन्तन र समसामयिकताको लागि एकपटक पढ्नै पर्ने पुस्तक छ।
अहिलेको जटिल समय र साहित्य बोध गर्न यस्ता कृतिको अध्ययन आवश्यक छ।