अनिश्चयकै कारण यो सृष्टि सुन्दर छ। भोलि के हुँदैछ त्यो ज्ञात छैन। त्यही अनिश्चितताले मानिस नित्य क्रियाशील छ।
भविष्य बोध हुन्थ्यो भने मानिस यति धेरै आविष्कारक हुने थिएन होला। भविष्यको सुन्दर परिकल्पना पनि गर्ने थिएन होला।
कल्पना जहिले पनि अज्ञात कुराकै हुन्छ। विज्ञान प्रविधि त्यही अज्ञातको खोजी हो।
यतिखेर सुमन दाहालकृत ‘अन्तिम हुन सक्छ’ कविता संग्रहमा प्रविष्ट हुँदा मैले यति कुरा गरेकी हुँ।
मृत्यु हामीसँगै छ, पार्श्वमा छ तर देखिँदैन। ऊ आउने दिन किटान हुँदो हो त मानिस अनायास उदास हुने थियो होला।
स्रष्टाले मृत्युको तिथि लुकाएर हामीमाथि ठूलो उद्धार गरेको छ, दया राखेको छ।
सुमन भावनाका होइनन्, विचारका कवि हुन्। उनका कवितामा हार्दिकता कम, वैचारिकता ज्यादा छ।
‘शिष्टाचार नेपाल अभियान’ का प्रमुख अभियानी उनलाई चिनाउने मुख्य माध्यम हो। उनी साहित्यकारभन्दा बढी समाजसेवी हुन्। समाजसेवीभन्दा पनि बढी स्वाथ्यसेवी हुन्।
शिक्षण अस्पताल महाराजगञ्जमा पढेका सुमन दाहाल लामै समय स्वास्थ्यसेवामा रहे।
सेवाका लागि दुर्गमका विकट गाउँ रोजे। स्वास्थ्यकर्मीका रूपमा दीनदुःखीको सेवा गरे। इटहरीको तरहरा भन्ने गाउँमा उनको परिवारले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्न एक कट्ठा जग्गा दियो।
त्यहीँ उनले डेढ दशक निःशुल्क सेवा गरे। सामाजिक र साहित्यिक संघसंस्थामा सक्रिय भए।
सुमनले आफ्ना मातापिताका नाममा पुरस्कार स्थापना गरेका छन्।
सुमन मानव जीवन र समाजका हरेक क्षेत्रमा शिष्टता’, ‘शिष्टाचार’ र ‘शालीनता’ को महत्व बोध गरी यी तीन कुराको प्रवर्द्धनमा लागेका छन्।
सुमन एक दशकयता अमेरिकामा छन्। उता बसे पनि शिष्टाचार अभियान, लेखन र समाजसेवामा निरन्तर लागेका छन्।
हालै उनी नेपाल आएका थिए आफ्नो कविता संग्रह ‘अन्तिम हुन सक्छ’ लिएर। मातृभूमि नेपालमा कृति सार्वजनिक गरेर उनी कर्मभूमि अमेरिका फर्के।
शिष्टाचार अभियान संस्थाको भवन निर्माणका लागि उनले पनौतीनजिकै एक रोपनी जग्गा पनि किने।
सुमनको लेखनको मूल अभिप्राय नै शिष्टता र मानवता प्रवर्द्धन हो। उनले फेसबुक प्रोफाइलमा लेखेको देखेँ–
म धीत मार्न सक्छु
म मन मार्न सक्छु
म सक्छु मार्न
मेरा इच्छा र चाहनाहरू
तर मान्छे मार्न सक्दिनँ
र सक्दिनँ कथापि मार्न
निमोठेर नैतिकताको घाँटी।
कवि सुमनको अवधारणा र चिन्तन बुझ्न ‘अन्तिम हुन सक्छ’ कविता कृति लगभग पर्याप्त छ। उनी शिष्ट, सौम्य, शालीन र विचारका सुन्दर स्रष्टा हुन्।
यसअघि उनको पुस्तक ‘शिष्टाचार’ पाठकमाझ आइसकेको छ। निकै लामोदेखि सामाजिक विसंगतिमाथि बोल्दै आएका छन्। विरोधको साटो चेतना जागृत गर्ने अभियानमा उनले साहित्यलाई माध्यम बनाएका छन्–
म कवि होइन केवल आवाज हुँ
म सर्वसत्तावादी विरुद्धको जवाफ हुँ
म साम, दाम र दण्ड हुँ
म आगो पिएर पानी बनाउने तागत हुँ
सुमनका कविता नै सदाचारका मार्ग हुन्।
‘अन्तिम हुन सक्छ’ मा साठी थान कविता संकलित छन्। अतीतको स्मृतिदेखि वर्तमान समय नै उनका कविता हुन्।
अशिष्टता र अभद्रतामाथि उनको व्यंग्यभाव छ। स्वार्थले आकृष्ट राजनीतिक दल र कार्यकर्तप्रति सुधा नागरिक झैँ उनी पनि असन्तुष्ट छन्। आफ्नो असन्तुष्टि कवितामा शान्तलयमा प्रस्तुत गरेका छन्।
उनले भनेका छन्, ‘मैले सिर्जना गरेका भावनाहरू कविता बने, बनेनन्, म भन्न सक्दिनँ। त्यसैले म स्वीकार गर्दछु, मैले भावनाहरू लिपिबद्ध गरेको मात्र हुँ। विशेषतः सदाचार र नैतिकताप्रति समर्पित भावनाहरू समेट्ने प्रयास गरेको छु।’
एउटा लेखकले यसो भन्नु उनको विनयशीलता हो। उनी विनयशीलताकै अभियानमा छन्।
मायाप्रेमका तुलनामा विचारको प्रधानतामा कलापक्ष ओझेल परेको देखिन्छ यद्यपि उनका विचारहरू सशक्त छन्। सद्व्यवहार र नैतिकता बिक्न छोडेको छ। एउटा कवितामा भन्छन्–
विकृति बिक्रीमा छ
लानुहोस् पदसँग साटेर
लानुहोस् प्रतिष्ठासँग मोलमोलाई गरेर
नोटसँग खरिद गरेर।
सुमनका कविताले वर्तमान नेपालको यथार्थ बोलेका छन्। राजनीतिक दुरवस्थाका सम्बन्धमा हजार मुखको वाणी भएका छन्।
बसोबास विदेशमा भए पनि कवितामा प्रवासको छनक कतै पनि छैन। स्वदेशकै सम्झना छ, चिन्ता छ अनि सुन्दर समाजको कल्पना छ।
अतीतस्मृति प्रिय छ। कवि आज पनि आमा आउने बाटो हेरेर बसेका छन्। हाट भर्न गएकी आमाले मिस्री र नरिवल ल्याउने अपेक्षा छ। घरमा सानो छोरो आमाको पर्खाइमा छ।
मैले पनि मेरी आमालाई सम्झिएँ। आमा मामाघर जानुहुँदा बडो धैर्यले म पर्खिएर बस्थेँ।
आज स्थिति उल्टिएको छ। आमा मेरो पर्खाइमा हुनुहुन्छ। म त्यही विगतमा फर्किन चाहन्छु कविकै लयलमा–
बिहानै हाट भर्न जानुभएकी आमा
मध्याह्नपछि उतैछन् मेरा आँखाहरू
पर धनेपुको डाँडाबाट झर्दै गरेका
रातो फरिया र सेतो मजेत्रो ओढ्ने
एउटी त पक्कै हुनुपर्छ मेरी आमा ।
परदेशको दिनचर्या नेपालको जस्तो फुर्सदिलो छैन। यसै कारण कविलाई अमेरिका खत्तम हो कि भन्ने पनि लाग्छ तर होइन।
उनले एउटा व्यंग्य गरेका छन्। समयको मूल्यबोध नभएका, नेपाली नागरिकको गतिविधि लक्षित गरेर लेख्छन्–
मनमा लागेको जिन्दावाद, मुर्दावाद भन्न पाइन्न
नारा जुलुस, तोडफोडमा कुद्न पाइन्न
घुर्की लगाउँदै ‘छिटो भात पस्क’ भन्न पाइन्न
खाइस् खाइनस् मतलव छैन, खत्तम छ अमेरिका
कविता सरल छन् तर विकृतिमाथि बलियो प्रहार गर्छन्। सुसंस्कृत समाजको अपेक्षामा सुमन एउटा प्रतिपक्ष भएका छन्। उनका कविता त्यसैको घोषणापत्र झैँ छन्।
असंगत समाज र राज्यव्यवस्थालाई सचेत गराउने आवाज दिएका छन्। कोभिड आतंकबाट सुरु भएका कविता सद्भाव र सुसंगतिको कामनामा टुंगिएका छन्।
उनका कविता हाम्रा शासकहरूलाई पढ्न गृहकार्यमा दिनुपर्छ। आतंकित इतिहासले विचलित योद्धाहरू भन्छन्–
तिमीले मलाई झण्डा बोकायौ
जुलुसमा हिँडायौ
लाठी मुंग्री चखायौ
रगतपिच्छे हुँदा नि भन्न लगायौ जिन्दावाद ।
सर्सर्ति हेर्दा सुमनका कविता आभ्यासिक लाग्छन्। परन्तु त्यसको प्रभाव भने आभ्यासिक लाग्दैन।
यस्ता कविता विश्लेषण गर्नमा भन्दा उद्धरण दिनमा बढी प्रभावकारी लाग्छन्। कवि शालीनरूपले एक ठाउँमा भन्छन्–
बोल्नु हुँदैन वहाँहरू विरुद्ध
अपराध हुन्छ
शिष्ट र मर्यादित शैली
सर्वत्र तहस–नहस हुँदा
वहाँहरू अपराधी र भ्रष्टाचारीको
भव्य शपथग्रहणमा रमाउँदै हुनुहुन्छ।
सर्वसाधारण नागरिकलाई भ्रममा राख्न सक्नु नै शासक वर्गको ठूलो सफलता हो। शासित भ्रममा लटपटिन्छन्। ‘भ्रमको भिटामिन’ कविताले त्यस्तै अर्को गहन अर्थ सम्प्रेषण गरेको छ।
फेरि पनि भन्दैछु, सुमनका कविता कलाभन्दा अर्थका लागि विशेष छन्। नैतिकताबोधको अत्यन्तै निकट छन्। सदाचार, सद्भावका मञ्जरी हुन् यी कविताहरू।
अहंकारको जीवन त छेपारे नेताको जस्तो हुन्छ भन्छन् सुमन
‘आकृतिमा देखिएका मान्छेहरू सबै मान्छे हुँदैनन्।’
उनको यस भनाइमा सहमत छु। भाँडो मानिसको भए पनि त्यसभित्र अर्कै के-के पदार्थ राखिएका हुन्छन् के थाहा!
स्वतन्त्रता र मानवताका हिमायती सुमनका कवितामा स्रष्टा कम द्रष्टा व्यक्तित्व बढी पाउँछु। त्यसो त कवि, कलाकार समाजका द्रष्टा नै हुन्।
तिनका काल्पनिक कुरामा पनि समाजको यथार्थ प्रतिविम्बित भएको हुन्छ।
आज हामी अनेक वर्गमा विभाजित छौँ। त्यही वर्गीय नातामा आफ्नो र पराइको भेद देख्छौँ।
कवि प्रश्न छ– कोही कसैको मान्छे हुँ भन्छन्, कोही कसैको, किन मान्छे स्वयं आफ्नै हुन नसकेको?
विभाजनबाट मानिस जटिल बाटो रोज्दैछ, अशान्ति रोज्दैछ। एउटा सिंगो मानव ऊ अनेक खण्डमा टुक्रिएको छ। कविको विचारमा जाति, धर्म, संस्कृति, राजनीतिबाट धेरै उचाइमा छ मानवतावाद–
तपाईं–मेरो वाद बनोस् मानवतावाद
हाम्रो प्रिय वाद बनोस् भाइचारावाद
अब हरेक दल र संगठनमा सदाचारवाद
सबैले गौरवपूर्ण भन्न पाइयोस, मानवतावाद जिन्दावाद ।
हमेसा हामी परिवर्तन चाहन्छौँ। अर्को बदलियोस् भन्छौँ तर आफू किञ्चित बदलिन चाहन्नौँ।
राजनीतिक क्षेत्र यस्तै छ। अर्कोलाई निरंकुश देख्नेहरू आफू झन् बढी निरंकुुश भएको थाहा पाउँदैनन्। बालगीतको लयमा रचित मन्त्रीको ताराबाजी लै लै जति सरल छ त्यति नै गहन छ–
ताराबाजी लै लै
मन्त्री आए डोली
रुँदै जान्छन् भोलि
आजै भर झोली
सुमनका कविता असंगतिका विपक्षमा छन् तर गुनासो कतै पनि देख्दिनँ। आग्रह, अनुग्रह र विरोधभन्दा बढी यथार्थ प्रस्तुति छ।
कवि सुमन कवितामा एक स्पष्ट वक्ता देखा पर्छन्। उनका कविता निष्कपट छन्, जे हो त्यही बोल्छन्–
सत्य बोल्दा घाटा हुन्छ, असत्यमा नाफा
विचार बोली व्यवहारमा मिल्न छोड्यो भाका
नेपालको वर्तमान परिस्थितिलाई अत्यन्तै नजिकबाट छोएका उनका कविताले समयसँग वार्तालाप गरेका छन्। मानवीय संवेगले पैदा भएका विकृति र विसंगतिविरुद्ध आवाज दिएका छन्।
कविताको भाव छ– यहाँ राजनीतिक दल र शासकमात्र दोषी होइनन्, पथभ्रष्ट शासक जन्माउने नागरिक पनि दोषी छन्।
यहाँ समर्थन र विरोधमा ठिक–बेठिक थाहा नपाए पनि हुन्छ। कोही स्वार्थले प्रशस्ति गाउँछौँ। कोही नातासम्बन्धले जयगान गर्छौं।
भ्रममै लाठी बोक्छौँ। झण्डा बोक्छौँ। पुत्ला जलाउँछौँ। अनि नेतालाई पथभ्रष्ट गराउँछौँ।
सुमनका कवितामा विषयगत विविधता छ। आधुनिक समयले गाउँलाई निर्जन बनाएको छ। खेतबारी बाँझै छन्। आमाले साग रोप्ने करेसामा बन्सो उम्रिएको छ।
अतीतको सुन्दर गाउँ आज अर्कै भएको देखेर कवि विरक्त छन्–
खाडीबाट फर्केर आउँदा गाउँ हेर्ने रहर होला साहिँला
यतिखेर गाउँ खाडीजस्तै मरुभूमि छ
खेतबारी बाँझै छन्
चुनावले कुखुराका चल्लाधरि छोडेनन्
विजोक छ यति वेला गाउँ नआउनू
विकासे योजनाले प्रकृति दोहन गरेको छ। मानव अस्तित्वमै चुनौती दिएको छ। कविको गाउँको मात्र होइन, अहिले सबैको गाउँको हालत त्यस्तै छ।
डोजरले चिथोरेका भिरकन्दरामा पहिरो चल्न थालेको छ। पानीका मुहान सुकेका छन्। खेतमा खोलो पसेको छ। विकासभन्दा विनाशको आधिक्य छ।
सुमन मस्तिष्कका कवि हुन्। सुशासन, शिष्टाचार र संगतिले निर्मित सभ्य समाज उनको कविताको उद्देश्य हो। कविता नै उनको विचार हो। विचार नै कविता हो।
आगामी दिनमा उनका कविता अझै सशक्त, परिष्कृत भएर आऊन्। शुभेच्छा यही छ।