पाटनका ऋषि अमात्य लेखक, सम्पदा–संस्कृति–अनुसन्धाता र अध्येता हुन्।
जे.के. रोलिङको ह्यारी पोटर, टेरी प्राटचेटको डिस्कवर्ल्ड सिरिज, मांगा लगायत किताब पढ्दै हुर्किएका उनलाई हाम्रा वरपरका कथाहरू ती कथाका काल्पनिक संसारभन्दा कम्ता लाग्दैनन्।
झन् पाटनका सम्पदाहरूबारे उनी सुन्दै हुर्किएका छन् – शालिकमा भएको चरा नउडेसम्म राजा योगनरेन्द्रको मृत्यु नहुने, कृष्ण मन्दिर बनाउँदा राजा प्रताप मल्ल सर्प भएर दुःख दिएको, आदि।
यी कथाहरूबारे घरीघरी घोत्लिन्थे उनी, 'हाम्रा कथाहरू साइन्स फिक्सनभन्दा कम्ता छैनन्। ती कथा कसैले लेखिदिए हुन्थ्यो नि!'
विशेषगरी अंग्रेजी साहित्य पढ्न रूचाउने ऋषिले लामो समय प्रतीक्षा गर्दा पनि फल चाख्न पाएनन्।
एक दिन उनी आफैंले लेख्न सुर कसे अनि पाटनका संस्कृति र सम्पदालाई विषय बनाएर किताब लेखे — राधाः र्याथ अफ द मयजू।
केही साताअघि सार्वजनिक भएको यो किताब आख्यान शैलीमा लेखिएको छ जसको प्रमुख पात्र हुन् राधा।
राधा पूर्वकुमारी हुन्। कुमारीकाल सकिइसकेपछि पहिलोपटक उनी सर्वसाधारणका रूपमा पाटन संग्रहालय घुम्न निस्किएकी छन्। उनीसँग उनका भाइ धिरज र ठूलोबुबा प्रदीप पनि आएका छन्।
राधा पहिले पनि पाटन दरबार आइसकेकी हुन् तर कुमारीका रूपमा, सांस्कृतिक गतिविधिका लागि। योपटक प्रदीपले त्यहाँको सम्पदाबारे जानकारी दिँदै हिँडेका छन् जसले उनलाई नौलो अनुभूति हुन्छ।
उनीहरू पाटन संग्रहालय घुमेर बाहिर निस्किएको केही समयमै ठूलो भुइँचालो जान्छ। पहिलोपटक नयाँ नजरले पाटन चिन्न पाएकी राधाले भर्खर सग्ला देखेका सम्पदा तहसनहस भएको देख्छिन्।
लेखकले पहिलो अध्यायलाई 'वैशाख' नाम दिएका छन्। २०७२ वैशाखमै ठूलो भुइँचालो गएको थियो। त्यसपछिका अध्यायलाई लेखकले जेठ, असार गर्दै कात्तिकसम्म पुर्याएका छन्। ती महिनामा पर्ने चाडपर्व र त्यसबीच भएका घटना जोड्नुमा लेखकीय चलाखी देखिन्छ।
जतिबेला नेपालमा ठूलो भुइँचालो गएको थियो, त्यतिबेला पाटन ठ्याक्कै कुमारीबिहीन भएको थियो। नयाँ कुमारीको छनौट हुन बाँकी नै थियो।
किताबको कथा पनि त्यसैको सेरोफेरोमा अगाडि बढ्छ। बुगः द्य (रातो मच्छिन्द्रनाथ) को रथ तान्ने समयसम्म नयाँ कुमारी छनौट गर्नु थियो।
वास्तविक घटनामा भएको दुबिधा र किताबको दुबिधा उस्तै छ।
किताबमा कुमारीको अभावमा पूर्वकुमारी राधा नै गद्दीमा बस्छु भन्नु अलि अस्वाभाविक देखिन्छ। किनभने महिनावारी भइसकेपछि कुमारीले आफ्नो गद्दी र कुमारी पद छाड्नुपर्ने नियम छ। उनी फेरि गद्दीमा बस्न पाउँदिनन्। पाटनमा कुमारी अभाव हुँदा पनि पुराना कुमारी राखिएको थिएन।
राधाः र्याथ अफ द मयजूलाई आख्यान मात्र नभएर पाटन र यहाँको संस्कृति बुझ्ने किताबका रूपमा पनि पढिने भएकाले यस्ता कुरा सामान्य ठानेर बेवास्ता गर्न हुन्थेन कि! यीबाहेक अरू त्रुटि सामान्य छन्।
किताबमा अर्को कथा पनि समानान्तर रूपमा अगाडि बढ्छ — मयजू र अमोघको कथा।
मयजू किताबकी खलपात्र हुन्। उनलाई नराम्रो काममा सहयोग गर्ने सहायक पात्रका रूपमा अमोघ देखिएका छन्।
अमोघ पूजारी परिवारका हुन्। उनका पुर्खालाई मल्लकालीन राजाले 'सिद्धि' नपाएको भनेर सबैको अगाडि बेइज्जत गरेका हुन्छन्। त्यही बेइज्जतीलाई इज्जतमा बदल्न अमोघ 'सिद्ध' बन्ने बाटोमा हिँडेका छन्।
सिद्ध तान्त्रिक पूजारीको शक्तिलाई भगवान बराबरको मानिन्छ। उनीहरूलाई भूत, भविष्य र वर्तमान पढ्न सक्ने त्रिकालदर्शी मानिन्छ। तर कमै पूजारीले मात्र यस्तो सिद्धि पाउन सक्छन्।
आफ्नो पुर्खाको इज्जत फिर्ता ल्याउन अमोघका पुर्खाहरूले आफ्नो पूरा जीवन सिद्धि कमाउन समर्पण गरेका थिए। अमोघ पनि त्यही धारमा हिँडेका छन्। मयजूले उनलाई सिद्धि कमाउन सहयोग पुर्याउने वाचा गरेकाले नै उनी गलत गतिविधिमा लाग्छन्।
गलतलाई सधैं सहीले जित्छ — किताबको मूल विषयवस्तु पनि त्यतैतिर निर्देशित छ।
लामो समयदेखि पाटनको कात्तिक नाचमाथि अध्ययन र अनुसन्धान गरिरहेका लेखक अमात्यले कथाको घटना यही नाचसँग जोडेका छन्।
तान्त्रिक विधिमा आधारित कात्तिक नाचको हिरण्यकश्यप बध अर्थात् नरसिंह अवतारमा हिरण्यकश्यप चरित्र साँच्चिकै बेहोस हुन्छन्। उनलाई होसमा ल्याउन तलेजू मन्दिरका पूजारीहरूले तान्त्रिक विधि अपनाउँछन्। मंगलबजारमा रहेको मंग हितिबाट पानी ल्याई मन्त्र उच्चारण गरेर विधिपूर्वक पूजा गरेपछि मात्र उनको होस खुल्छ। यही कथालाई किताबको मूल कथासँग जोडिएको छ।
हामीले किताब पढ्दै जाँदा कात्तिकमा पाटनको ठूलो नाच अर्थात् कात्तिक नाचबारे थाहा पाएझैं श्रावणमा गथामुगः बारे थाहा पाउन सक्छौं। त्यसैगरी, दसैंअघि हुने बुगः द्य (मच्छिन्द्रनाथ) बारे पनि थाहा पाउन सक्छौं।
किताबमा काल्पनिक संसार निर्माण गर्दा 'सेटिङ' का रूपमा 'त्रयोदश भुवन' आएको छ। बौद्ध धर्मअनुसार 'त्रयोदश' भनेको १३ र 'भुवन' भनेको लोक हो। कुनै पनि व्यक्तिले निर्वाण प्राप्त गर्न १३ वटा चरणहरू पूरा गर्नुपर्छ भन्ने मान्यता छ।
किताबमार्फत पाठकले संस्कृतिसँगै पाटनमा रहेका सम्पदाबारे पनि जानकारी पाउनेछन्। पाटनमा रहेको मणि गुफा, सुन्दरी चोक, छिन्नमस्ता मन्दिर, मूल चोक लगायतबारे हामीले धेरथोर जानकारी पाउन सक्छौं।
जसले पाटनका यी सम्पदा देखेका छन् तर विस्तृतमा बुझेका छैनन्, ठाउँ चिनेका छैनन्, उनीहरूका लागि यो किताब जानकारीमूलक हुनेछ। जो पहिलोपटक घुम्दैछन्, उनीहरूका लागि यो किताब पाटन चिन्न सहयोगी हुनेछ। तर ठाउँहरूको विस्तृत जानकारी नहुँदा केही अलमल भने हुनसक्छ।
किताबमा प्रयोग भएका नेपाल भाषाका शब्दहरूले पनि पाठकलाई अलमलमा पार्न सक्छ। जस्तो- ग्वारामरिः, कुमार माजू, द्यः, आदि। यस्ता कति शब्दलाई भने पछिल्ला शब्दले व्याख्या गरेका छन्।
नेपाल भाषाको प्रयोगबारे लेखक अमात्य भन्छन्, 'तपाईंहरूले पश्चिमाहरूको साहित्य पढ्नुभयो भने कति शब्दहरू लेखकले आफ्नै भाषाको राखिदिएको देख्नुहुन्छ। लेखकले के सोच्छन् भने यदि पाठकलाई चासो छ भने उनीहरूले आफैं खोज्नेछन्। हामीले पनि कतिपय शब्दलाई व्याख्या नगर्नुको कारण पाठकले जान्न चाहे भने आफैं खोजून् भनेर हो।'
किताबमा जति नेपाल भाषाको प्रयोग छ, पात्रहरूको नाम भने नेपाल भाषामा कम छ। प्रमुख पात्रहरूमा मयजू मात्र नेपाल भाषा सम्बन्धित नाम हो। यसको अर्थ पनि 'केटी' भन्ने मात्र हो।
लेखक ऋषि अमात्यले यो किताब सन् २०१७ बाट लेख्न सुरू गरेका थिए। सुरूमा उनले 'ट्राभल लिटरेचर' का रूपमा यो किताब लेख्न थालेका थिए। एक दिन सफू प्रकाशनले कथा लेख्ने योजना भएका मान्छेलाई सम्पादकसँग काम गर्ने अवसर जुराएको थियो। ऋषिसँग योजना मात्र होइन, कथाको 'ड्राफ्ट' नै थियो। त्यसपछि सम्पादकहरूसँग सल्लाह लिँदै, लेख्दै गर्दा यो किताब निस्किन सात वर्ष लाग्यो।
ऋषिको प्रमुख काम अध्ययन–अनुसन्धान हो। कात्तिक नाचसँगै उनी बुगः द्यःबारे पनि अध्ययन गरिरहेका छन्। उनी पाटनको सम्पदा यात्रा पनि गराउँछन्। उनले स्कुले केटाकेटीहरू आफैं पाटन संग्रहालय घुम्न सक्ने 'हेरिटेज म्याप' काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टसँग मिलेर बनाएका छन्। यो नक्सा लिएर कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू आफैं पाटन संग्रहालय घुम्न सक्छन्।
'हामीले पाठ्यक्रमभन्दा एकदम फरक र चाखलाग्दो तरिकाले हेरिटेज म्याप बनाएका छौं। विद्यार्थीहरूले मंग हिति, मणिमण्डप, भिनद्यः, विश्वेश्वर मन्दिर लगायत मन्दिर र सम्पदाको कला, वास्तुकलाका साथै इतिहासबारे जान्न सक्छन्,' अमात्यले भने।
किताब 'राधाः र्याथ अफ द मयजू' मा वर्णन गरिएका ठाउँहरूमा विभिन्न मानिसलाई लगेर हिजोआज उनी सम्पदा यात्रा गराउँदै छन्।
'हामी कात्तिक डबलीबाट सम्पदा यात्रा सुरू गर्छौं। त्यहाँबाट हामी किताबको श्रावण अध्यायमा भएको छिन्नमस्ताको पिठ र त्यसको भित्तामा भएको भित्ते चित्र हेर्छौं,' सम्पदा यात्राबारे बताउँदै उनले भने, 'त्यसपछि पाटनको पुरानो इतिहासबारे केशव नारायण चोकमा गएर हामी छलफल गर्छौं। सुन्दरी चोकमा पाटनको कुमारी प्रथाबारे र त्यहाँ पहिला दरबार नभई बहाल भएको कुरा गर्छौं। पिमबहालमा चण्डेश्वरी र गय बाजेको कुरा गरेपछि हाम्रो यात्रा सकिन्छ।'
ऋषिझैं अंग्रेजीमा सांस्कृतिक आख्यान पढ्न चाहने पाठकलाई 'राधाः र्याथ अफ द मयजू' किताबले क्षतिपूर्ति गरेको छ। गैरआख्यानमा रूचि नभएका पाठकलाई झन् आख्यानको साथमा पाटनबारे जानकारीमूलक ज्ञान हासिल गर्ने अवसर हुनेछ।
जसलाई यस्तै सांस्कृतिक विषयमा आख्यान शैलीमा किताब लेख्न मन छ, उनीहरूलाई पनि यो किताबले प्रेरित गर्न सक्छ।
'हाम्रो इतिहासका कुराहरू कक्षामा पढेजस्तो तरिकाले मात्र होइन, कथा भनेजस्तै तरिकाले पनि भन्न सकिन्छ भन्ने उदाहरण बनोस् यो किताब,' लेखक अमात्य भन्छन्, 'यो किताब पढेपछि मेरोजस्तै आख्यानको किताब आइदिए हुन्थ्यो भनेर सोच्ने वा लेख्न खोज्ने मान्छेलाई बटरफ्लाई इफेक्ट जसरी काम गर्छ होला! नेपालको इतिहास र आख्यानमा यस्तो इफेक्टको एकदम खाँचो छ।'