'तिम्रो यो रेकर्डिङ ९५ प्रतिशत बकवास, झूट र एकपक्षीय छ। पख ... म देखाइदिन्छु ...!'
ब्रिटिस खोज पत्रकार तथा लेखक टम बर्जिसलाई ब्रिटेनका व्यवसायी मोहम्मद अमेर्सीले धम्की दिए।
नेपालदेखि स्वीडेन र रसियादेखि उज्बेकिस्तानसम्म टेलिकम व्यापारका अदृश्य खेलाडी अमेर्सी राजनीतिक पार्टीका चन्दादाता हुन्। उनले लोकल्याणकारी काम गर्ने समाजसेवीको पहिचान पनि बनाएका छन्।
राजनीतिक नेता, सरकारी निकाय, कानुन र मिडियालाई समेत आफू अनुकूल प्रयोग गर्न सक्ने यस्ता शक्तिशाली व्यक्तिको धम्कीपछि पत्रकार टम दोधारमा परे — आफूले काम गरिरहेको किताबमा अगाडि बढ्ने कि लेख्नै छाड्ने!
टमले काठमाडौंदेखि क्रेम्लिन, स्टकहोमदेखि स्टेप्पे, उज्वेकिस्तानदेखि स्कटल्यान्डको शाही रिट्रिटसम्मलाई खोजको गन्तव्य बनाएका थिए। समाजका धनाढ्य र सम्भ्रान्तहरूको संगत गर्दै लुकाइएका सूचना संकलन गरेका थिए। राजनीतिक नेतृत्व, बहुराष्ट्रिय कर्पोरेसन, पूर्वसोभियत तानाशाह तथा पश्चिमा शासकसम्म कसरी ठूलो रकम प्रवाह भइरहेको छ भन्ने पनि खोतलेका थिए।
चर्को दबाब र अनिश्चयबीच टमले प्रकाशकलाई पाण्डुलिपि बुझाए।
प्रतिष्ठित प्रकाशक विलियम कोलिन्सले तमाम धम्कीका बाबजुद फरक निर्णय गर्यो। राज्यशक्तिका खेलाडीलाई झुम्राको पुतलीझैं नचाउने अमेर्सीका अश्लील गाली र माथि उल्लिखित धम्की जस्ताको तस्तै राखेर लेखिएको गैरआख्यान किताब उसले प्रकाशन गर्दियो — कुकुल्यान्डः ह्वेर द रिच वन द ट्रुथ।
यो किताबले अन्तरदेशीय भ्रष्टाचारको जालो केलाउँछ। नेपालको दूरसञ्चार व्यवसायमा सत्ता, शक्ति र पदमा बसेकाहरूले गरेको अनियमितताको बाक्लो पर्दा पनि उदांग पारिदिन्छ।
उन्नत लोकतन्त्र अभ्यास गर्ने देशहरूले लागुऔषध कारोबार, कालोधन र भ्रष्टाचार रोक्न शक्तिशाली संयन्त्रहरू बनाएका छन्। ब्रिटेनको क्राउन अभियोजन सेवाजस्तै नेपालले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागजस्ता संस्था खडा गरेको छ। तर बिनामिहिनेत हैसियतभन्दा अचाक्ली धेरै सम्पत्ति एकैपटक पाउँदा कसले लिँदैन र! अझ प्रतिव्यक्ति आय थोरै भएका र विकासशील देशमा बसोबास गर्ने गरिबहरूका लागि बाँचुञ्जेल घर, कार, विलासी जीवनयापन र मृत्युपछि तीन-चार पुस्तालाई पुग्ने सम्पत्ति छाडेर जाने अवस्था उल्लासकै कुरा हो।
भ्रष्टाचार रोक्न अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकाय बनाए पनि देश हाँक्ने र अर्थतन्त्र चलाउने उद्योगी, व्यवसायी र दलका नेताहरूले नै हो। त्यसैले शक्ति दुरूपयोग गरी राज्यको वैधानिक अर्थ प्रणालीमा अन्तर्राष्ट्रिय विचौलियाको स्रोत नखुलेको सम्पत्ति मिसाउनु आमनागरिकलाई गरिबीको दलदलमा गाड्नु पनि हो। टमको किताबले भ्रष्टाचार र शक्ति दुरूपयोगसँग जोडिएका यस्ता थुप्रै प्रसंग सविस्तार वर्णन गरेको छ।
यो त्यही किताब हो, जसलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू प्रधानमन्त्री रहँदा २०८० चैत २३ मा खण्डन गरेका थिए।
'कुकुल्यान्ड भन्ने पुस्तकमा लेखिएजस्तो केही पनि होइन। पुस्तकले टेलिकम भ्रष्टाचारमा उठाएका विषय कपोलकल्पित हुन्,' उनले पापमोचनी एकादशीको दिन गोरखा पुगेर भनेका थिए।
त्यति बेला काठमाडौं नआइसकेको र एकाधबाहेक नेपालीका हातमै नपरेको बेला प्रधानमन्त्रीले खण्डन गरेको त्यो किताब अहिले काठमाडौंका पसलहरूमा उपलब्ध छ। परिचय र सन्दर्भ सामग्रीबाहेक ३२० पृष्ठको पुस्तकले राजनीतिक संरक्षणमा बिचौलियामार्फत् हुने दूरसञ्चार व्यवसायको अन्तरदेशीय भ्रष्टाचारको जालो केलाउँछ। वेब सिग्नलमार्फत् चल्ने मोबाइल टेलिकम विश्वभरि नै प्रमुख व्यवसाय बन्दै गएको समय नेपाल कसरी अन्तर्राष्ट्रिय विचौलियाको खेलमा पर्यो भनेर केस्राकेस्रा वर्णन गर्छ।
किताबले नेपालमा निजी क्षेत्रबाट टेलिकम कम्पनीहरूको स्थापना, सेयर खरिदबिक्री तथा नवीकरणमा भएका अनियमितताको उत्खनन् गरेको छ। तत्कालीन राजा, क्रान्तिकारी माओवादी, देशभर संगठन भएका एमाले र कांग्रेसका सबै नेता भ्रष्टाचारविरूद्ध प्रतिबद्ध रहँदा कालोधनको अर्बौं रूपैयाँ कसरी नेपाल भित्रियो? टम लेख्छन्, '४० घन्टा राजा बनेर दीपेन्द्रको मृत्यु भएपछि ज्ञानेन्द्रले श्रीपेच पहिरिए। राजाका ज्वाइँ राजबहादुर सिंहसहित परिवार सदस्यले व्यापारिक लाभ लिए। यसको गहिराइमा पुग्न हेटौंडाका एक जना महत्त्वाकांक्षी युवाको अवस्था हेर्नैपर्छ।'
दुई भाग र १७ अध्यायमा विभाजित पुस्तकले नेपालको दूरसञ्चार सेवामा व्यापारिक चलखेल ज्ञानेन्द्र शाह राजगद्दीमा बसेको समय अर्थात् सन् २००१ पछि सुरू भएको विवरण समय-तालिका बनाएर देखाइदिएको छ। अमेजनसहितका प्लेटफर्मले 'बेस्ट सेलर' सूचीमा राखेको पुस्तकले तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ टेलिकम व्यापारमा आएको पृष्ठभूमि केलाउँदै उनको जीवनशैली पेस गरेको छ। राजाका ज्वाइँ जति बेला पनि काठमाडौंका क्यासिनो र होटलमा बरालिने गरेको प्रसंग नेपाली पाठकका लागि रोचक लाग्छ।
किताबअनुसार तत्कालीन 'मेरो मोबाइल' को मातृ कम्पनी स्पाइस नेपालले सेवा सञ्चालन प्रक्रियामा 'लेटर अफ इन्टेन्ट' पाउँदा उक्त कम्पनीको स्वामित्व नेपालको खेतान समूह र भारतको मोदी ग्रुपसँग थियो। तर सेवा सञ्चालन हुनुअघि नै शाही कालमा मोदी ग्रुप फर्कियो। अपहरण र ज्यान मार्ने धम्की खेपेका राजेन्द्र खेतानले पनि कम्पनी छाडे। त्यसपछि स्पाइस नेपालले नयाँ मालिक पायो।
हेटौंडाको सामान्य परिवारका अजय सुमार्गीको उदय र सम्पत्ति वृद्धिको मुख्य टर्निङ पोइन्ट युवराज दीपेन्द्रले गरेको भनिएको दरबार हत्याकाण्ड हो भन्ने दाबी किताबमा छ। किताबमा दीपेन्द्रको छोटकरी नाम 'दीप्पी' उल्लेख गरिएको छ।
राजा वीरेन्द्रले अपुतालीमा पाएको छाउनीस्थित १५ रोपनी १ आना जग्गा छोरी श्रुतिलाई दाइजोस्वरूप दिएका थिए। दरबार हत्याकाण्डमा वीरेन्द्रको परिवारै मारिएपछि राजा बनेका ज्ञानेन्द्रले त्यही सम्पत्ति सन् २००२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिए। तर त्यो सम्पत्ति वीरेन्द्रको भएको बताउँदै सरकारले नेपाल ट्रस्टको हुने निर्णय गरेको थियो। त्यही सम्पत्ति प्रेरणाको नाममा फर्काउन गोप्य कागजात मिलाउने काममा सुमार्गीको भूमिका रहेको किताबले भन्छ।
राजनीतिक नेता, न्यायालय र सरकारी अधिकारीहरूसँग उठबस गर्ने शक्तिशाली पहिचान स्थापित गरेपछि ज्ञानेन्द्रका ज्वाइँले सुमार्गीलाई पत्याएको र त्यसपछि टेलिकम व्यवसायीका रूपमा उनको उदय भएको विवरण लेखकले दिएका छन्।
अब प्रश्न उठ्छ, ब्रिटिस लेखकले लन्डनबाट प्रकाशन गरेको किताबलाई हाम्रा प्रधानमन्त्रीले किन खण्डन गर्नुपरेको हो?
यो प्रश्नको जवाफ पुस्तकको 'एक्स वाई' अध्यायले दिएको छ। किताबअनुसार अन्तरदेशीय टेलिकम भ्रष्टाचारको घेरामा पुष्पकमल दाहाल पनि छन्। लेखकले नेपालको टेलिकम व्यवसायमा भएको अनियमितता खोतल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड, व्यवसायी सुमार्गी र तत्कालीन राजाका ज्वाइँ जोडिएका प्रशस्त विवरण पुस्तकमा राखिदिएका छन्।
पुस्तकमा एउटा प्रसंग लाजिम्पाटको प्रचण्ड निवासको छ। प्रसंग पुरानै भए पनि त्यो घर कसरी खरिद गरिएको थियो र खरिद गर्ने पैसा कहाँबाट आएको थियो भन्ने विवरण पाठकलाई रोचक लाग्छ। प्रचण्ड उत्कृष्ट ब्रान्डका रक्सीको सोखिन भएको र त्यो कमजोरीको फाइदा उठाउँदै सुमार्गीले त्यहाँ ब्रान्डेड रक्सीको खोलो बगाएको किताबमा छ।
परम्परागत शक्ति राजदरबार कमजोर हुँदै गएको र छापामार युद्धबाट माओवादी राज्यसत्तामा आएको त्यो समय नेपालको आधुनिक इतिहासमै एक जटिल र गहिरो संक्रमणकाल थियो। त्यही समय टेलियासोनेरा नेपाल प्रवेशका लागि माओवादीसँग राम्रो सम्बन्ध बनाउन भरपर्दो सूत्रधारको खोजी गरिरहेथ्यो। अजय सुमार्गीले टेलियासोनेराका सल्लाहकार तथा टेलिकम बिचौलिया मोहम्मद अमेर्सीलाई सरकार सञ्चालक, माओवादी शीर्षनेताहरूसँग परिचय गराइदिएपछि मात्र नेपालमा अन्तर्राष्ट्रिय टेलिकम विचौलियाको उद्देश्यले मूर्तरूप पाएको वर्णन किताबले गरेको छ।
अमेर्सीकै आशीर्वादमा हेलो नेपालमा २० करोड डलरभन्दा बढी लगानी आएको र त्यो लगानी सुमार्गीको राजनीतिक प्रभाव कायम राख्न र माओवादी नेताहरूलाई रिझाउन प्रयोग गरिएको लेखकले दाबी गरेका छन्।
यो नेपालको विषयमा मात्र लेखिएको किताब होइन। पुस्तकको ३२० मध्ये ४५ पृष्ठ मात्र नेपालको भागमा परेको छ। बाँकी भागमा रसिया, स्वीडेन, ब्रिटेन लगायतका युरोप र तजाकिस्तानजस्ता एसियाली देशको टेलिकम व्यापारमा अन्तर्राष्ट्रिय गिरोहको चिरफार गरिएको छ। लेखकले अवैध कारोबारको केस्राकेस्रा केलाउँदै विश्व अर्थ व्यवस्था र आधुनिक युगमा कसरी भ्रष्टाचार तथा राजनीतिक प्रभावको दलाली भइरहेको छ भन्ने वर्णन गरेका छन्।
पुस्तकमा केही कमजोरी पनि छन्। कतिपय घटनाको सूचना स्रोत उल्लेख छैन। विषय एकोहोरो अघि बढ्छ तर स्रोत नदेखिँदा कतिपय ठाउँमा पाठकमा संशय पैदा हुन्छ। हुन त अतिगोप्य र वैध-अवैध सुरक्षा घेराभित्रबाट सूचना प्राप्त गरेकाले कतिपय विषय गोप्य राख्नुपरेको स्पष्टोक्ति उनले सुरूमै दिएका छन्। 'यो पुस्तकमा धन्यवादका हकदार ती छन्, जसको म यहाँ नाम लिनै सक्दिनँ,' उनले सुरूमै भनेका छन्।
यो किताब भ्रष्टाचारको खतरनाक परिणाम तथा त्यसले लोकतन्त्रमा पार्ने गम्भीर असरबारे एउटा सशक्त चेतावनी हो। राज्यशक्ति र सम्पत्तिको दुरूपयोग बुझ्न चाहनेहरूका लागि यो एउटा दस्तावेज नै हो।
***