चार प्रहर रातबाहेक यो मनलाई फुर्सद छैन। फुर्सदमा रमाउँदैन पनि। बरू बेफुर्सदमा रमाउँछ। सधैं हतार! कहाँ पुग्नको हतार हो, थाहा छैन।
सोच्छु, यति धेरै हतार गरेअनुसार कहीँ त पुगेको हुनुपर्ने हो तथापि कहीँ पुगेको अनुभूति छैन। दिनभर व्यस्त हुन्छु, परन्तु फर्किएर हेर्दा किन म यसरी व्यस्त भएछु भन्ने लाग्छ। जब यो व्यस्ततामा दिनभरिको उपलब्धि खोज्छु तब अमूर्त महसुस गर्छु।
अहो! म कस्तो अमूर्त जीवन बाँचिरहेकी छु?
हेर्नु त, त्यही अमूर्ततामा गन्तव्य भुलेर म कहाँ पुगेछु! सर्वनाम थिएटर पुग्नुपर्ने मान्छे उता बत्तीसपुतली पुगेछु, शिल्पी थिएटरमा।
आज बिहान उठेदेखि तनमन घरमा छैन। सखारैदेखि प्रस्थानको तयारीमा छु। आतुरी छ कतै पुग्न। अनिता दिदीको फोन आउँदा म कलंकी नाघ्दै थिएँ। सीता पेट्रोल पम्पमा भेट हुने सल्लाह थियो। गोविन्द सर र अञ्जना म्याम पनि आइपुग्नुभएको छ। दिदी र म उहाँहरूकै साधनमा मिसिएर पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्ट पुग्यौं।
कार्यक्रम स्थलमा आवागमन बाक्लिँदै छ। 'खिमानन्द सीता–हिमाली गुराँस स्रष्टा तथा पत्रकारिता सम्मान' कार्यक्रम सुरू हुन लागेको छ। स्रष्टा खिमानन्द पोखरेलकृत 'अमेरिकी यात्राका ती दिन' लोकार्पित हुँदैछ। मनले सुखद अनुभूति गरेको छ। मनमा लाग्यो, ग्रीनलिफ पनि अब त भातभान्छा गर्ने आफ्नै ठाउँ भएको छ। लगातार निकैपटक भइसक्यो यहाँ बिहानको भान्सा गरेको।
प्रखर कवि ठाकुर बेलबासेको उद्घोषण कलामा वातावरण उत्सवमय बनेको छ। नेपाली साहित्य पत्रकारितामा जीवित इतिहास रोचक घिमिरेबाट डा. गोविन्दराज भट्टराई र वसन्तराज अज्ञात सम्मानित हुनुभएको छ।
बिहानको कार्यक्रमपछि केही फुर्सद भएको छ। त्यो टुक्रे समय एक्लै कसरी बिताऊँ! घर जानुको पनि अर्थ छैन, पुगिसक्दा निस्किन हतार हुन्छ। म गोविन्द सर र अञ्जना म्यामसँगै कीर्तिपुर गएँ।
अझै एक घण्टा ढक्कै बाँकी छ। फाइन प्रिन्टका प्रमुख अजित बराल बाहिर निस्किँदै हुनुहुन्छ। म उहाँकै साधनमा जाने सल्लाह थियो तर मलाई छिटो हुने भयो। समय अड्कलेर 'पठाओ' मा जानुपर्ला मैले निर्णय लिएँ। उहाँलाई त्यसै भनेँ।
म अपराह्न दुई बजे सर्वनाम थिएटर पुग्नुपर्ने, पठाओ खोज्दा 'बत्तीसपुतली, शिल्पी थिएटर' लेखेँ, लेख्नुपर्ने थियो 'कालिकास्थान, सर्वनाम थिएटर'।
शिल्पी थिएटर पुग्दासम्ममा पनि गन्तव्य यो होइन भन्ने हेक्कै भएन। मेरो अवचेतन मनले शिल्पी पुगेर सर्वनाम खोज्यो!
अवचेतन मन र चेतन मनका आआफ्ना सूचना मिसिएर बेलाबेला मान्छे यसरी भ्रान्तिमा पर्दो रहेछ! दिउँसोको दुई बज्नै आँटेको छ। सर्वनाममा कार्यक्रम सुरू हुन लाग्यो। म हडबडाएँ। कस्तो अनौठो भ्रान्ति!
लाग्यो, यो पनि जीवनको एउटा अभिनय हो। कति थाहा पाएर हुन्छ त कति थाहा नपाएरै। यस्तै अभिनयका बीच एक दिन रंगमञ्चमा पर्दा खस्नेछ। सबैले भन्नेछन्– आजदेखि उसको भूमिका सकियो!
गन्तव्य फरक परे पनि पुग्न चाहिँ रंगमञ्चमै पुगेकी थिएँ, एकको साटो अर्कोमा। फरक त्यति मात्रै थियो। त्यतिले पनि एकछिन मेरो टाउको रिनिन्न पारिदियो। गन्तव्य फरक परेको हेक्का भएपछि सर्वनाम थिएटरको बाटो लिएँ।
भर्खर एउटा अभिनय पूरा गरेर अर्को अभिनयको तयारीमा छु। थाहा छैन; कतिन्जेल म यसरी अभिनय गर्दै हुनेछु, कस्तो अभिनय गर्नेछु। बस् यति थाहा छ, म जीवनको अभिनयमा छु।
एक-दुई दिनअघि साहित्यकार कृष्ण ढुंगेलको नयाँ कृति पढिसकेकी थिएँ। आज त्यसमै अलिकति अभिनय गर्नु छ। रंगमञ्चमा सहजकर्ता राजु झल्लु (प्रसाद) उपस्थित छन्। उनको नाम नै नाटकमा अभिनय गर्ने कुनै पात्रको जस्तो लाग्छ। जीवन स्वयंमा एउटा नाटक, नाटकभित्र पनि नाटक खेल्नु छ।
सानैदेखि रेडियो कार्यक्रम 'मधुवन' सुनेर हुर्किएँ। आज मधुवनका भूतपूर्व प्रस्तोता, मदन पुरस्कारले सम्मानित कवि, काव्यकार नवराज लम्सालसँग एउटै रंगमञ्चमा बस्ने अवसर जुरेको छ। गौरवको अनुभूति भएको छ। आडमै हुनुहुन्छ अग्रज स्रष्टा, पेज टर्नरका संस्थापक भुवनहरि सिग्देल। उहाँको सान्निध्यमा गौरव थपिन्छ।
देब्रेपट्टि छन् देशको चिन्ता गर्दै निकासको अभियानमा सक्रिय रहेका गणेश कार्की। दायाँपट्टि आजको कृतिका स्रष्टा कुष्ण ढुंगेल छन्। रंगमञ्चमा उनको कृति सार्वजनिक हुने तयारी छ।
दर्शक दीर्घामा आगमन निरन्तर छ। मलाई केही दकस जस्तो अनुभूति हुँदै त छैन! अगाडि देख्छु आफूले सम्मान गर्नुपर्ने धेरै जना हुनुहुन्छ। साथीहरू पनि छन्।
तपाईंलाई मेरो अभिनय कस्तो लाग्यो, कृपया कार्यक्रमको अन्त्यमा मलाई भन्नु ल!
पर्दा खस्यो। अर्को अभिनयमा जान सबैलाई हतार छ। मलाई पनि हतार छ।
पर्दा बाहिर बसेर त्यही लेख्दैछु जुन कुरा सर्वनामको रंगमञ्चमा भएको थियो। 'मिराज' उपन्यासका स्रष्टा कृष्ण ढुंगेलको नवीन कृति 'समयको नक्साबाहिर' को प्रसंग हो।
मलाई आफ्नै जीवनतिर फर्किऊँ कि जस्तो लोभ जागेको छ तर उपयुक्त समय यो होइन। लेखकले समयको नक्सा हुन्छ भनेर आफ्नो अनुभूति सुनाएका छन्। समयको पनि नक्सा हुन्छ? अनि नक्साबाहिरको समय भनेको के हो? नक्साभित्रको समय कस्तो हुन्छ?
यस्तो प्रतीकात्मक नाम भएको कृतिभित्र निश्चय नै केही न केही महत्त्वको कुरा हुनुपर्छ। म उत्साहित थिएँ।
आखिर समयको नक्साबाहिर होस् या नक्साभित्र, त्यो त एउटा जीवन रहेछ! जीवन छ र त समय छ। समय छ र त जीवन छ। हरेक व्यक्तिको आआफ्नै समय समाप्तिको नक्सा हुँदो हो। समय अनन्त छ, जीवन सीमित छ। समयको पदचापमा कहाँ पुगेर आफ्नो समय टुंगिन्छ कसलाई के थाहा!
बिर्सिन्छु भन्दा पनि बिर्सिन नसकिएका र फेरि बाँच्छु भनेर पनि बाँच्न नसकिएका अनेक पलहरू स्मृतिमा छाया बनेर आइरहन्छन्। प्रिय-अप्रिय अतीतको सम्बोधनले निर्मित 'समयको नक्साबाहिर' मा एउटा बालक केही बोल्दै छ। किशोर मन पनि बोल्दै छ।
बाल्यकालदेखि किशोरकालसम्मका स्मृतिको संकलन छ 'समयको नक्साबाहिर' मा। यस्तो लाग्छ, साहित्यको अपरिमित भण्डार त आखिर अतीत पो रहेछ।
हामी स्मृतिबेगरको हुने हो भने कस्ता मानिस हुने थियौं होला! बाँच्नुको अर्थ हुँदो हो कि नहुँदो हो!
खुसी हुन अतीत बिर्सिनुपर्छ भनिन्छ। अज्ञात भविष्यको त कल्पना पनि गर्नु हुँदैन! यसो भए मात्र वर्तमानमा बाँच्न लायक हुन्छौं भनिन्छ।
यसो हो भने विगतको कुनै मूल्य छैन?
छ, विगत छैन भने त बाँच्नुको सार पनि नरहने रहेछ। हाम्रो चेतना छ र पो अतीत स्मृतिमा आइरहन्छ। यस्तो स्मृति नहुँदा जाने हुन्छ – चेतना सकियो, जीवन सकियो, सबै थोक सकियो।
प्रिय अतीत! तिमी मूल्यवान छौ तर सबैका लागि तिमी बराबर मूल्यवान भयौजस्तो लाग्दैन। कति मान्छेको अतीत व्यर्थ भएको होला! कृष्णको संस्मरणात्मक निबन्ध कृतिले आफ्नो विगत जीवन्त राख्नुको महत्त्व झल्काउँछ। अतीतको संरक्षणले जीवन संरक्षण गदोरहेछ। शब्दले, भावले, कलाले बितेको जीवन थामेर राख्दोरहेछ।
अतीतका तितामिठा भावांकन, चित्रांकनको सगृहीत रूप 'समयको नक्साबाहिर' मा पन्ध्रवटा निबन्ध छन् जसले बालमनोविज्ञानको सजीव चित्रण गरेका छन्।
झापामा हुर्किएका लेखकको स्मृतिमा त्यहींका घरपरिवार, स्कुल, कलेज, आफन्त र साथीहरू आइरहन्छन्। त्यही परिवेश नै लेखनको विषय भएको छ।
उनका विचारप्रधान रचनामा ससाना वैचारिक झिल्का उठिरहन्छन्। उनी वैचारिक हुने प्रयासमा छन्। निबन्धहरू विचारबाट सुरू भएर विचारमै टुंगिएका छन्। छोटाछरिता वाक्य लेखकको विशेषता भएको छ।
कुनै समयको पीडा र कष्टका क्षणहरू पनि समयान्तरमा काम लाग्ने हुँदा रहेछन् अतीत बनेर। सम्भवतः कृष्णलाई यस्तै परिवेशले निबन्धकार बनायो। मान्छेको जीवनमा सुखले भन्दा दुःखले आर्जेको अतीत कैयन गुणा बढी उपयोगी र प्रभावकारी हुँदो रहेछ क्यारे!
मानिसलाई दुःख कत्ति मन पर्दैन। फेरि किन दुःखकै कथा बढी मनपर्छ?
'समयको नक्साबाहिर' पढेर कतै भावुक हुन पाएँ त कतै खित्का छाडेर एक्लै हाँस्न पाएँ। कृतिले बालमनोविज्ञानका रौंचिरा केलाएको छ। बालमस्तिष्कमा आफ्नो नामको प्रेम सशक्त कथा बन्थ्यो होला, कृष्णले सशक्त निबन्ध बनाएका छन्।
लेखककै जस्तो अनुभव प्रत्येक पाठकको होला! मेरो पनि त छ नि!
संरचना त निबन्धकै हो तर कथा पढ्दैछु जस्तो आभास हुने! यही हो कृष्णको अर्को खास विशेषता। उनको लेखनले मलाई आफ्नै अतीतमा पुर्यायो। म उसै गरी स्कुल जाने केटाकेटी भएँ जसरी म केटाकेटी हुँदा जान्थेँ।
कृष्णको जस्तो द्वन्द्व त मैले भोगिनँ तर भुल्नै नसकिने अतीत छ मेरो पनि। स्कुलमा हामी कबडी खेल्दै थियौं। विपक्षमा रहेकी बिजुलाई मैले जोडले समातेँ। मैले समाएकै कारणले उसको लुगाको बाहुलो कुमबाटै सिलाइ फुस्किएर मेरो हातमा आयो। म अपराध बोधले शिथिल भएँ। हाम्रो बोलचाल बन्द भयो।
कृष्णले निबन्धमा आफ्नी दिदी मेनुकाको कुरा लेख्दा मेरी दिदी अजिता साथी बनेर मेरो मनमा फनफनी घुमिन्।
प्रत्येक निबन्धमा यस्ता अनेक प्रसंग छन् जसले पाठकलाई आआफ्ना बाल्यकाल र किशोरकाल सम्झाउँछन्। ससाना घटना र तिनका उपघटना जोड्दै आख्यान निर्माण गर्ने कला यी लेखकमा छ।
लेखक कतै दार्शनिक भावले प्रश्नात्मक हुन्छन् – निर्बल मान्छेको आँसु किन शक्तिशाली हुन्छ? बोल्न खोजिएको कुरा आवाज बन्न नसकेपछि आँसु बन्छ हो? दूधले जोडेको सम्बन्ध अंशले फुटाएको किन होला? बाँच्न सिकाउने आमाको दूध र मर्नमार्न तयार बनाउने बाबुको अंशमध्ये ठूलो कुन होला?
आश्चर्य! एउटै मान्छे कति धेरै विविधतापूर्ण जीवन बाँचेको हुने रहेछ! व्यक्तिको दृष्टिअनुसार जीवन परिभाषित हुने रहेछ!
लेखक भन्छन् – जीवन त आखिर बेथाहरूको एउटा फूल न हो।
सुखमा पनि मान्छेले दुःखकै कल्पना गर्दो रहेछ, सुख गुम्छ कि भन्ने पिरले होला, दुःखमा यथार्थको अनुभूति हुने भएर होला!
समय जति नै कष्टको किन नहोस्; यथार्थ अनुभूतिमा मान्छे साहित्यमा जीवन लेख्छ, जीवनमा साहित्यमा लेख्छ। कलामा उत्रिएपछि पीडाको यथार्थ पनि बडो सुखद हुनेरहेछ!
लेखकको निष्कर्ष छ – यदि तपाईं बेथालाई कथामा ढाल्न सक्नुहुन्छ भने त्यो पनि एउटा मिठो अनुभूति बन्न सक्छ।
एकचोटि आफ्नो बालजीवन सम्झिनोस् त! अहिले सम्झिँदा ती दिनहरू एकदम परिहासका लाग्न सक्छन्। त्यो बालसुलभ जिज्ञासा र जिद्दी कस्तो अनौठा हुने! आज आफैलाई हाँसो लाग्ने!
लेखक आफ्नी गर्भवती आमालाई प्रश्न गर्छन्– मान्छे दुई जिउको कसरी हुन्छ? फेरि आमा नै किन दुई जिउकी हुनुपरेको? बुबा सधैं किन एक जिउको?
भाइ जन्मिँदा लेखक खुसी भएनन्, मन विद्वेषी भयो किनभने अंश लिन भाइ जन्मेको हो। अब भाइलाई पनि सम्पत्ति दिनुपर्छ, उनले आफ्नै छरछिमेकमा सुने।
उनी लेख्छन् – बुबाको वंश बढ्नु भनेको त मेरो अंश घट्नु पो रहेछ! अंश खोस्ने मान्छेको लागि मैले खुसी किन मनाउनु?
वंश के हो? अंश के हो? छोरीलाई किन अंश दिनु पर्दैन? यस्तो कुरा उनलाई के थाहा! तैपनि उनले अंश लिन भाइ जन्मेको हो भन्ने कसरी थाहा पाए?
कसरी भने बालमनोविज्ञानमा खेल्न हाम्रो समाज सिपालु छ नि!
स्रष्टाका लागि विगत साँच्चै महत्त्वको हुँदो रहेछ। उस बेलाको बुढो साइकलले नै एउटा निबन्ध बनाइदिएको छ। सामान्यतया अति साना मानिने घटनाबाट पनि मर्म छुनेगरी निबन्ध बनेका छन्। बुबाले एसएलसी पास गरेकी छोरीलाई नयाँ लेडिज साइकल किनिदिए तर अर्को नयाँ ठूलो साइकल किन्न सकेनन्।
'समयको नक्साबाहिर' पढ्दै जाँदा मैले आफूलाई सोधेँ – नित्य उत्सवजस्तो लाग्ने केटाकेटी उमेरको मान्छे आज कहाँ हरायो? हुर्किंदै जाँदा त्यो मान्छे कहाँ विलीन भयो?
खोज्दै बालपनमा पुगेँ तर रमाउन केही कारण नचाहिने त्यो बालपन उसै समय मरिसकेछ। यता 'समयको नक्साबाहिर' मा एउटा बालक जीवितै छ।
दृश्य र अनुभूतिमा वैचारिक भाव भर्ने कृष्णको सामर्थ्य गज्जबको छ।
लेखक बाल्यकालमै थिए। टिभीमा 'दरबार हत्याकाण्ड' समाचर सुने-हेरेकोसम्म उनलाई सम्झना छ, त्यसउताको छैन।
सञ्चारको त्यही श्रव्यदृश्य साधनले झन्डै उनको ज्यान लिएको! उनले टेलिभिजनमा फिल्मका हिरोहरू मरेर पनि बाँचेको देखेका थिए। एक दिन उनले एकपटक मर्ने र फेरि बाँच्ने विचार गरे। मर्ने उपाय सुझ्यो। त्यहीअनुसार यत्न गरे।
मरेको मान्छे कसरी बाँच्छ?
फिल्ममा त बाँचेको देखेको हो। धन्य! यी लेखक मर्न पाएनन्।
टेलिभिजनमा काल्पनिक दृश्यहरू हेरेर हुर्केका कृष्णको बालमनोविज्ञानले एकपटक मर्ने र फेरि बाँच्ने सपना देखेको थियो, बालमनोविज्ञानको जीवन्त चित्रण!
कृष्णको सिर्जनामा उनी र उनको जीवन मात्रै छैन। अरू पनि धेरै थोक छ। उनी हुर्किएको समय, समाज र परिवेश छ। आवेग, संवेग, विश्वास, अविश्वास, प्रेम, हर्ष, इच्छा, आकांक्षा, करूणा, अवसाद, उत्तेजना, उटपट्याङ, मनको विरोधाभास, अनेक छ। किशोरकालको प्रेमिल मन र प्रेमपत्र छ।
पाठकका रूपमा भर्खरैसम्म किशोरवयका अनेक उटपट्याङसँग रमाइरहेको मन अचानक द्रवीभूत भयो। बाल्यकालमै मातृस्नेह गुमाएका लेखकप्रति सहानुभूति छचल्किएर आयो।
आफ्नै आमा भूत हुनु कति अवसादको दृश्य हुँदो हो! कृष्णले भोगेका छन्।
मातृवियोगको स्मरणमा उनी लेख्छन् – मसँग एउटा मौका थियो आमाको अनुहार अन्तिम पटक हेर्ने। जिन्दगीभरका लागि हेर्ने। आमालाई अन्तिम पटक छुने। तर मेरो दिमागमा भूत थियो, मान्छे मरेपछि भूत बन्छ। भूतले तर्साउँछ। मेरो दिमागमा भरिएको भूतको कारण म आमाको मृत शरीरको छेउ परिनँ। अहिले आएर त्यही भूत जिन्दगीभरको पछुतो बन्यो।
'तेरो बाबुको बिहे देखाइदिन्छु' भन्ने प्रतिशोधी भावको उक्ति लेखकको जीवनमै साक्षात प्रकट भयो तर प्रतिशोध बनेर होइन। उनका लागि 'बाबुको बिहे देख्नु' कसैको प्रतिशोधको परिणाम नभई खुसीको क्षण भइदियो।
उनी लेख्छन् – हाम्रो खुसी भनेकै बुबाको बिहे हुनु हो।
स्कुले साथी दमन विश्वकर्मा कृष्णको घरभित्र पस्न पाउँदैन थियो। आज पनि कृष्णलाई त्यो विभेदको पीडाले छाडेको छैन।
बल्लतल्ल जुरेको जन्ती जाने मौका पैसामा साटेर 'म मेरै बिहेमा जन्ती जान्छु, एक्लै जान्छु' भनेको पनि बिर्सेका छैनन्।
मानिस प्राचीन युगका हुन् या आधुनिक हुँदै उत्तरआधुनिक युगका, समृद्ध मुलुकका हुन् या गरिब मुलुकका; मानवीय संवेदना एकै हो। मानवीय संवेदना कहिल्यै पुरानो वा नयाँ हुँदैन।
युग जुनसुकै होस्, दुःख र सुखको अनुभूति एकै हो। मानवीय संवेदना कुनै जाति, धर्म, भाषा, संस्कृति, देश, काल र परिस्थितिमा विभाजित हुँदैन।
त्यही साझा मानवीय संवेदनाले मानिसलाई छुँदो रहेछ; लेखक जहाँसुकैको र जुनसुकै युगको होस्।
बाल्यकाल यथार्थमै स्वर्गीय अनुभूति गर्ने एउटा क्षण रहेछ। मानिसले जीवनपर्यन्त स्वर्ग भोग गर्ने जुन कल्पना गर्छ त्यस निमित्त सायद बाल्यकालकै पुनरावृत्ति हुनुपर्छ।
संस्मरणात्मक निबन्धहरूको संग्रह 'समयको नक्साबाहिर' लेखकको उमेरका हिसाबले जीवनको पूर्वार्द्धको पनि पूर्वखण्डको भोगाइको परिणाम हो शब्दमा, अक्षरमा, भावमा, विचारमा।
उदीयमान लेखक कृष्ण ढुंगेलकृत 'समयको नक्साबाहिर' एउटा सशक्त निबन्ध संग्रह हो जसले हरेक पाठकको मर्म स्पर्श गर्छ। कलात्मक लेखन शिल्पको प्रशंसा गर्नैपर्छ तर कृतिमा वर्णविन्यासको त्रुटिले बेलाबेला झस्काइरह्यो।