काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को २१ औं संस्करण बुधबारदेखि सुरू भएको छ।
राष्ट्रिय सभागृहमा एक समारोहकाबीच उद्घाटनपश्चात इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै किम्फ सुरू भएको हो।
अधिकांश भाग नेपालमा छायांकन गरिएको १ घण्टा ३४ मिनेटको यो फिल्म एक किशोर र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा हो। भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका किशोरले सिकारीबाट उद्दार गरेको बाघको बच्चालाई बचाउन गरेको संघर्षको कथा देखाइएको छ।
किशोरले आश्रम नजिकैको जंगलमा बाघको बच्चाको सिकारीबाट उद्दार गर्छन्। त्यसपछि रोचक र अनौठो ढंगले उनीहरूबीच मित्रता गाँसिन्छ। यो मित्रतापछि उनीहरु हिमालयमुनिको रोमाञ्चक यात्रामा निस्कन्छन्। तर उनीहरुको पछिपछि सिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुईको यात्रामा आरोह–अवरोह ल्याइदिन्छ। मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यो फिल्ममा हिमालको प्राकृतिक दृश्यहरू चित्रण गरिएको छ।
अधिकांश भाग नेपालमा छायांकन भएको यो फिल्ममा नेपाली कलाकारहरू लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ। यो फिल्म शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ।
फिल्म प्रिमियरअघि गरिएको उद्घाटन समारोहमा उपस्थितलाई स्वागत गर्दै किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तनको प्रतिध्वनीले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन्।
किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटीटीको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ–नयाँ परिवर्तनहरू आत्मसात गर्दै अघि बढेको उल्लेख गरिन्। उनले भनिन्, 'किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दाहरू र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ।'
काठमाडौं महानगरपालिकाका प्रतिनिधि प्रदीप परियारले महानगरपालिका किम्फको सह–आयोजक भएकोमा खुसी व्यक्त गर्दै भने, 'सिनेमा नेपाली कला संस्कृतिलाई विश्व बजारमा पुर्याउने माध्यम हो र किम्फले त्यो अवसर प्रदान गरेको छ।'
लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा किनोट स्पिच दिएका थिए। आफू ४५ वर्ष अघि पहिलो पटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको उनले बताए।
मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको बताउँदै उनले सगरमाथा दिवसकै सन्दर्भ जोडेर किम्फ आयोजना हुनु अर्थपूर्ण रहेकोमा जोड दिए।
राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सुरू भएको किम्फ २०२४ मा बुधबार नै देवेन्द्र खत्रीको निर्देशन रहेको ४३ मिनेटको फिल्म 'नेपाली फिक्सन' को वर्ल्ड प्रिमियर भएको छ। सचिन राना निर्देशित ३२ मिनेटको भारतीय फिल्म 'कुलैं तौल कुछ नि जमदु' को एसिया प्रिमियर गरिएको छ।
बेलुका नेपाल र नेदरल्यान्ड्सका निर्माताको संयुक्त लगानीमा बनेको फिल्म 'इन टु द हार्ट अफ द माउन्टेन' को वर्ल्ड प्रिमियर हुँदैछ। एनिग्री बोसम्यान निर्देशित यो फिल्मको अवधि १ घण्टा ३८ मिनेट छ। बुधबार फोटो प्रदर्शनी र प्यानल छलफलको कार्यक्रम समेत गरिएको छ। २० गते आइतबारसम्म चल्ने किम्फमा नेपालसहित २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुँदैछन्।
फिल्म निर्माता, समीक्षक, फिल्मप्रेमी, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तरक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी कार्यक्रम समेत राखिएको छ।
किम्फ २०२४ को तीन सदस्यीय निर्णायकमण्डलमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), फिल्म सम्पादक रेजिना बर्त्स्की (स्वीटजरल्यान्ड) रहेका छन्।
किम्फमा अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिने जनाइएको छ।
नेपाल पानोरामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले क्रमशः एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। यसैगरी दर्शक पुरस्कारको राशी पनि एक लाख रूपैयाँ छ।