सलमान खानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए। यस अवसरमा सलमानको एक झलक पाउन उनको घरबाहिर हजारौं फ्यानको भीड लागेको थियो।
सलमानलाई सबैले भेट्न नसके पनि उनका एक फ्यान समिरले भेटेका छन्। जबलपुर निवासी समीरले चिसो मौसममा सलमान खानलाई भेट्नकै लागि ११०० किलोमिटर साइकल चढेका थिए। सलमान खानले पनि आफ्ना फ्यानको भावनाको कदर गर्दै उनलाई भेटेका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार समीर सानैदेखि सलमानका ठूला फ्यान हुन्। २२ डिसेम्बरमा, समीर जाडो मौसमको प्रभाव नगरी जबलपुरबाट साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगेका थिए। त्यसपछि उनी बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सलमान खानको प्रतीक्षा गरे।
अपार्टमेन्टका सेक्युरिटी गार्डले सलमानलाई यो जानकारी गराए त्यसपछि राति करिब ३ बजे सलमान सुटिङबाट फर्किएपछि उनले ती फ्यानलाई भेट्न अपार्टमेन्टमै बोलाए। त्यहाँ उनले समिरको यात्रा र जीवनका बारेमा जानकारी लिएर खाना खुवाए। साइकल र उनीसँग तस्बिर खिचाए।
धेरै वर्षदेखि आफ्नो मनपर्ने स्टारलाई भेट्ने प्रयास गर्दै आएका समीर हरेक वर्ष डिसेम्बर २७ तारिखमा सलमान खानको जन्मदिनको अवसरमा उनलाई भेट्ने आशमा मुम्बई पुग्थे तर सलमान खानलाई भेट्न पाएका थिएनन्। सलमानलाई भेटेपछि समीर जबलपुर फर्किएका छन्।