फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म 'डन ३' बाट शाहरूख खान बाहिरिएका छन्।
अभिनेता शाहरूख बाहिरिएसँगै फिल्ममा रणवीर सिंह अनुबन्धित भएका छन्। केही दिनअघि निर्माता रितेश सिधवानीले फिल्म ‘डन ३’ बन्ने पुष्टि गरेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले औपचारिक घोषणाका लागि एक भिडिओ समेत सुट गरिसकेका छन्।
‘शाहरूख खानले फिल्म छाडेपछि चर्चित अभिनेताको खोजी गरिएको थियो। डनको विरासतलाई रणवीरले अगाडि बढाउन सक्छन् भनेर लिइएको हो,’ न्युज १८ मा लेखिएको छ।
शाहरूखको स्थानमा रणवीर सिंह अनुबन्धित भएको खबर बाहिरिएसँगै शाहरूखका फ्यान निराश भएका छन्। रणवीरले शाहरूखको जस्तो अभिनय गर्न नसक्ने उनीहरूको तर्क छ।
फरहान अख्तरले अमिताभ बच्चन, शाहरुख खान र एक नयाँ अभिनेतालाई लिएर फिल्म बनाउने योजना बनाएका थिए। तर, अख्तरको तीन पुस्ता लिएर फिल्म बनाउने योजना शाहरुखलाई मन नपरेको बताइएको छ।
‘डन र डन २’ मा अभिनेता शाहरूख खानले अभिनय गरेका थिए। उनको केही संवाद निकै चर्चित भएको थियो।