'गदर २' को सफलतापछि सनी देओलको आगामी फिल्म कुन हुन्छ भनेर चर्चा चल्न थालेको छ।
यसैबीच उनले आफ्नो पारिश्रमिक बढाएको खबर पनि बाहिरिएको छ। 'गदर २' का लागि २० करोड भारू लिएका सनीले आफ्नो पारिश्रमिक बढाएर ५० करोड पुर्याएका छन्।
उनी कहिले अनिल शर्मा त कहिले राजकुमार सन्तोषीको फिल्ममा देखिन लागेको चर्चा छ। तर भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले कुनै फिल्म साइन गरेका छैनन्।
उनी यतिबेला कामबाट ब्रेक लिएर बसेका छन्। उनी परिवारसँग अमेरिकामा समय बिताइरहेका छन्। अमेरिकाबाट फर्किएपछि उनी आफ्नो काम फर्किनेछन् र स्क्रिप्ट पढ्न सुरू गर्नेछन्।
सनी देओलको फिल्म 'गदर २' ले भारतमा ५१९ करोड ४३ लाख भारू नेट र विश्वभरबाट ६७५ करोड ९ लाख भारू नेट कमाएको छ। योसंगै 'गदर २' सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ।
हालसम्म सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्म 'पठान' रहेको छ। शाहरूख खान अभिनीत फिल्म 'पठान' ले ५४३ करोड भारू कमाएको थियो।
अनिल शर्माले निर्देशन गरेको फिल्म 'गदर २' मा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।