उनको काँधमा सधैं एउटा झोला झुन्डिएको हुन्छ, जसमा प्लम्बिङ र पेन्टिङ सामानका अतिरिक्त उनी दुई-तीनवटा बाँसुरी पनि बोक्छन्।
उनी हुन्, बाँकेको राप्तीसोनारी गाउँपालिका- १, कसुम गाउँका पूर्णबहादुर कुमाल।
दाङको तुलसीपुर उपमहानगरपालिका- १०, बनगाउँमा बस्ने पूर्णसँग केही समयअघि तुलसीपुरको एउटा रेस्टुरेन्टमा भेट भएको थियो। उनी बाँसुरी बजाउँदै थिए। आगन्तुकहरू उनको धुनमा रमाउँदै बेलाबेला 'वाह! वाह!' भन्थे।
पूर्ण त्यो रेस्टुरेन्टका नियमित बाँसुरी वादक होइनन्।
भएछ के भने, एकदिन उनी साथीसँग उक्त रेस्टुरेन्टमा गएका थिए।
साथीले 'लौ, तिमी बाँसुरी बजाऊ' भनेछन्।
उनले सोधेछन्, 'रेस्टुरेन्टमा बजाउन पाइन्छ र?'
अनुमति पाएपछि पूर्णले झोलाबाट बाँसुरी निकाले। एकपटक मायाले सुम्सुम्याए अनि बजाउन थाले।
बाँसुरीको धुन बिस्तारै रेस्टुरेन्टभरि फैलियो।
पूर्णको निम्ति बाँसुरी बजाउनु भनेको जीवनको सबभन्दा ठूलो खुसी हो। उनले गुजाराका लागि भने एक जना साथीसँग मिलेर सानो ग्रिल उद्योग चलाएका छन्। यो कामबाट अलिकति फुर्सद पायो कि झोलाबाट बाँसुरी निकालेर बजाइहाल्छन्। मिलेसम्म पर्व र उत्सवहरूमा पनि बजाउन पुग्छन्।
पूर्णले बाँसुरी बजाउन सिकेको आफ्ना माइला काका प्रेमबहादुर कुमालबाट हो। काकाले बजाएको देखेर उनलाई सानैदेखि रहर लाग्थ्यो।
एकदिन उनले काकाको मुरली फेला पारे। त्यसपछि काकाको मुरली चोर्दै राप्ती नदी किनार गएर बजाउन थाले र बजाउँदा बजाउँदै मुरलीको धुन निकाल्न जान्ने भए। गाउँमा चाडपर्व, बिहेबारी र मेलामा पनि उनी मुरली बजाउँदै सहभागी हुन थाले।
हुँदाहुँदा गाउँमा हुने नाचगानमा पूर्णको खोजी हुन थाल्यो।
'म खुब फेमस (प्रख्यात) भएँ। मेरी बूढी पनि मेरो बाँसुरीको धुन सुनेरै प्रेममा परी जस्तो लाग्छ,' उनले ठट्टा गरे, 'मैले सोधेको त छैन तर बाँसुरीको धुनबाहेक के देखेर मलाई मन पराइहोली र!'
पूर्णलाई सानोमा आफ्ना बुबाका अगाडि बाँसुरी बजाउन खुब डर लाग्थ्यो। अचेल भने बुबा पनि छोराले बजाएको धुन सुनेर आनन्द मान्छन्। बरू श्रीमती चाहिँ कति बजाएको भनेर कहिलेकाहीँ झर्को मान्छिन्!
उनले कारण पनि बताए, 'उनी दिनभरि काम गरेर थाकेकी हुन्छिन्। त्यही भएर झर्को लाग्दो हो।'
जसलाई जे लागे पनि पूर्णका लागि भने बाँसुरी जीवनको अभिन्न अंग बनेको छ।
एकपटक उनी बाँसुरी किन्न गएका थिए। विभिन्न स्केलका बाँसुरीको एक सेटलाई कम्तिमा ५० हजार रूपैयाँ पर्ने भयो। उनका लागि यो रकम निकै ठूलो थियो। त्यति खर्च गर्ने क्षमता थिएन।
त्यही बेला सामाजिक सञ्जालमा भेटिएका एक साथीले आफूसँग विभिन्न स्केलका बाँसुरी रहेको बताए।
उनले भने, 'ती त सेकेन्ड ह्यान्ड बाँसुरी रहेछन्, २० हजार रूपैयाँमा सेटका आधा जति किनेका रहेछन्।'
पूर्णले ती साथीसँग एक दिनका लागि सबै बाँसुरी मागे।
बाँसुरी पाएपछि पूर्णले लम्बाइ, बाँसको भित्री खुला भाग र धुन निकाल्ने प्वालको नापजाँच गरे। अर्को दिन उनी बाँस खोज्न घना जंगलमा गए। बाँस काटेर ल्याए अनि नापोअनुसार आफैंले १६ वटा बाँसुरी बनाए।
'बजारमा किन्न पाइनेजस्तो दुरूस्त त भएन तर आफैंले बनाएको बाँसुरी बजाउँदा दिल खुसी भयो,' उनले भने।
स्केलअनुसारको बाँसुरी बजाउन थालेपछि पूर्णको कला खारिँदै गयो।
पूर्णले आफ्नो जन्मथलो बाँकेमा बाँसुरीको धुन धेरैलाई सुनाइसकेका छन्। यता कर्मथलो दाङमा पनि धेरैले उनलाई उत्सवहरूमा बोलाउँछन्। यसरी धेरै स्रोताले उनले निकालेको धुन सुनेका छन् तर मञ्चमा व्यावसायिक प्रस्तुति गरेका छैनन्।
'दिनभर काममा व्यस्त हुने भएर समय दिन नसक्नु मेरो कमजोरी होला। मेरो पहुँच नपुगेको पनि हुन सक्छ,' उनले भने, 'म राति साथीहरूसँग बसेर लोकभाकामा र झाँप्रे नाचमा बजाउँछु।'
उनी चलनचल्तीका धेरै लोकभाकामा बाँसुरी बजाउँछन्।
भन्छन्, 'बाँसुरी बजाउँदा बजाउँदै त्यसमै हराउँछु। धुनहरू पानीको झरनाजस्तै झर्छन्।'
पूर्णले बाँसुरी बजाउन आफ्नै पाराले सिकेका र जानेका हुन्। उनी मिठो धुन निकाल्छन्, गीतको भाकामा बजाउँछन्। श्रोताहरू मुग्ध हुन्छन्। उनी आफ्नो यो कला वाद्यवादनको सिद्धान्त र शैलीसँग जोड्न चाहन्छन्। यस निमित्त उनी एक जना असल र अब्बल गुरूको खोजीमा छन्।
'सबैले राम्रो बजाउँछौ भन्छन्। अरूले मिठो सुने पनि आफूलाई चाहिँ स्केल मिलाउन सके-नसकेको थाहा छैन,' उनी भन्छन्, 'अरूले राम्रो भने पनि, आफूलाई राम्रो लागे पनि गुरूले राम्रो नभनुन्जेल र आफूलाई सुरताल र स्केलको ज्ञान नहुन्जेल म जान्दछु भन्न सक्दिनँ।'
उनी सुरताल सिक्न चाहन्छन् तर मौका परेको छैन। भन्छन्, 'कहाँ सिक्न पाइन्छ, कसले सिकाउँछ, थाहा छैन। समय निकाल्न पनि गाह्रो छ।'
आजकाल बाँसुरी बजाउन सिकाउने अनलाइन कक्षाहरू हुन्छन् भन्ने पनि उनले सुनेका छन् तर त्यसको खोजी गर्न पाएका छैनन्।
यसरी खोज्न नपाउनुमा उनको आफ्नै बाध्यता छ। दिनभर काम नगरे घरव्यवहार चल्दैन। आर्थिक अवस्था कमजोर छ। स्कुल पढ्ने छोराछोरी छन्।
पूर्ण दिनभरजसो काममा दगुर्छन्। पेन्टिङ र प्लम्बिङको काम गर्छन्। फलामका फर्निचर र गेट बनाउँछन्। उनको गुजाराको पेसा यही हो। बाल्यकालका एक जना साथीसँग मिलेर तुलसीपुर उपमहानगरपालिका–१०, बनगाउँमा ग्रिल कारखाना चलाएको तीन वर्ष भयो।
दिनभर काममा व्यस्त भए पनि पूर्णले दुई-तीनवटा बाँसुरी साथमै बोकेका हुन्छन्। जहाँ जाँदा पनि बाँसुरी छुट्दैन। थोरै फुर्सद भयो कि बजाउन थालिहाल्छन्।
उनले ठट्यौलो पारामा भने, 'जोई (श्रीमती) घरमै छोडिन्छन् तर जहाँ गए पनि बाँसुरी त साथमै हुन्छ। यो छुट्यो भने त ज्यानै छुटेजस्तो हुन्छ।'
पूर्ण १० वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए। ग्रिलको काम त्यहीँ सिकेका हुन्। काम गर्दै थिए तर उद्योगका मालिकले कम्पनी टाट पल्टियो भने। उनी साढे तीन वर्षमा घर फर्के।
साउदी अरब जाँदा नै उनी बाँसुरी बजाउन सिपालु भइसकेका थिए।
उनले भने, 'साउदीमा फलामको पाइपको बाँसुरी बनाएर पनि बजाएँ। तर राम्रो बजेन।'
जीवनका ३१ वसन्तमा हिँड्दै गरेका ग्रिल मिस्त्री पूर्णको रहर भने पनि, लक्ष्य भने पनि अब्बल गुरूसँग बाँसुरी विज्ञान सिक्नु नै हो। यसको अवसर पनि चाँडै आउँछ भन्ने उनको विश्वास छ।