म एकाध पटक हिमाल नजिक पुगेको छु। हिउँसँग खेलेको छु। हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिचेको छु।
आलोकसिद्धि तुलाधारले बनाएको फिल्म 'लुक डाउन नट अप' हेरेपछि भने मलाई अब हिमाल नजिक पुगेर तस्बिर खिचाउन मात्र होइन, भुइँमा यत्रतत्र उम्रिएका च्याउ हेर्न पनि पदयात्रामा जान मन छ।
बाटामा कस्ता च्याउ भेटिएलान्! ती कति संख्यामा होलान्! के–कस्ता रंग अनि डिजाइनका होलान्!
म यी सबै हेर्न आतुर र उत्साहित छु।
हिमाल पदयात्रामा जानेहरूलाई आकाश छुने गरी अग्लिएका हिमाल सँगसँगै भुइँमा माटो सराबरी धस्सिएका होचा च्याउ लगायतका वनस्पति हेर्न सिकाउनु नै यो फिल्मको सबभन्दा सुन्दर र सबल पक्ष हो। फिल्मको नाम 'लुक डाउन नट अप' ले पनि यही भनिरहेको छ — तल हेर्नुस् माथि होइन!
यो फिल्म सन् २०२२ जुन १० देखि जुलाई २ सम्म खुम्बु क्षेत्रमा गरिएको पदयात्रामा केन्द्रित छ।
यात्रामा च्याउ विशेषज्ञ (माइकोलोजिस्ट) शिव देवकोटा, क्लार्क विश्वविद्यालयका डा. ब्रिट बनयार्ड, थोमस रोहल, इन्टरनेसनल मान्टेन ट्रेकिङका कार्यकारी निर्देशक रिक सिल्बरसहित अमेरिका र मेक्सिकोका वैज्ञानिक तथा शेर्पा गाइडहरू थिए।
उनीहरूले सोलुखुम्बुको सल्लेरी हुँदै सगरमाथा आधारशिविरको यात्रामा १५६ प्रजातिका च्याउ फेला पारे। बाटोमा भेटिएका स्थानीयलाई विषादीयुक्त च्याउबारे ज्ञान पनि बाँडे।
फिल्म हेर्दा त्यहाँका स्थानीयलाई पनि कुन च्याउ खान हुन्छ, कुन हुन्न भनेर त्यति राम्ररी थाहा नभएजस्तो देखिन्छ। एउटा दृश्यमा एक स्थानीय महिला भन्छिन्, 'वस्तुभाउले खाएर माते भने त्यो च्याउ हामी खाँदैनौं। उनीहरूलाई केही भएन भने त्यो खानयोग्य छ भन्ठान्छौं।'

फिल्ममा च्याउ र पर्यटनबारे स्थानीयसँगै माइकोलोजिस्ट र वातावरणविदहरूको अन्तर्वार्ता छ। उनीहरूले च्याउको विशेषता र यसको पर्यटकीय महत्त्वबारे जानकारी दिएका छन्। काठमाडौंदेखि सगरमाथा आधारशिविर र पूर्वी नेपालका विभिन्न क्षेत्रको दृश्य पनि देख्न सकिन्छ। ती ठाउँमा भएका सामाजिक–सांस्कृतिक गतिविधि नियाल्न सकिन्छ। सबभन्दा बढी त च्याउको महत्त्व बुझाउनु नै यो फिल्मको मुख्य विशेषता हो।
फिल्मका कार्यकारी निर्देशकसमेत रहेका रिक सिल्बरका अनुसार च्याउ संसारले नै चासो दिइरहेको विषय हो। यो एकदमै धेरै पोषणले भरिएको छ। स्वास्थ्य दृष्टिले हेर्दा मुटु रोगदेखि कलेजो रोगको उपचारमा समेत यसको प्रयोग भइरहेको छ। मानसिक स्वास्थ्यमा पनि फाइदा पुर्याउने विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएका छन्।
'च्याउमा प्लास्टिकसमेत चाँडो कुहाउनसक्ने गुण हुन्छ भनेर अहिले अध्ययन भइरहेको छ,' रिकले भने।
रिक सन् २०१६ मा पहिलोपटक नेपाल आएका थिए। उनको कम्पनी इन्टरनेसनल माउन्टेन ट्रेकिङले सगरमाथा क्षेत्रमा पदयात्रा गर्नेलाई मार्गदर्शन गर्नुका साथै सहज वातावरण बनाउँछ।
कम्पनीकै काममा पटक पटक नेपाल र सगरमाथा क्षेत्र पदयात्रा गर्दा रिकलाई केही फरक काम गर्नुपर्छ भन्ने लागेको थियो। उनी अमेरिकाको वासिङ्टनस्थित माइकोलोजिकल एसोसिएसनमा निर्देशकसमेत छन्। त्यो क्लबमा च्याउबारे चासो राख्ने, अनुसन्धान गर्ने र चिकित्सा क्षेत्रमा काम गरिरहेका मानिस हजारौं संख्यामा सदस्य छन्।
अमेरिकामा यस्ता क्लब दुई सयभन्दा बढी देखेका रिकले नेपालमा यस्तो क्लब देखेका थिएनन्। नेपालको च्याउ प्रवर्द्धनमा केही उल्लेखनीय काम गर्न सके त्यसले पर्यटनसँगै स्थानीय बासिन्दाको आयस्रोतमा फाइदा पुर्याउन सकिएला भन्ने उनको सोच थियो।
'धेरैजसो मानिस हिमाल आरोहणकै लागि खुम्बु क्षेत्र गइरहेका हुन्छन्। च्याउ हेर्न पनि पदयात्रामा जानेको संख्या बढ्यो भने त्यसले शेर्पाहरूको आम्दानी थप उकास्छ होला,' रिकले भने।
च्याउबारे यस्तो सोच आइरहेकै बेला रिकको भेट च्याउ विशेषज्ञ शिव देवकोटासँग भयो। रिकले उनलाई च्याउ हेर्दै पदयात्रा गर्ने प्रस्ताव राखे।
शिवका लागि भने यस्तो यात्रा नौलो थिएन। उनले सहर्ष स्वीकार गरे।
पोखरामा जन्मे–हुर्केका देवकोटालाई घर वरपर भेटिने रंगीचंगी च्याउले सानैदेखि आकर्षण गरेको थियो। सन् २००५ मा एमएससी गर्दा उनले आफ्नो शोधपत्रको विषय नै च्याउ बनाएका थिए। आफ्नो अनुसन्धान क्रममा विभिन्न थरीका च्याउ संकलन गरेर ल्याउँदा त्यसलाई चिन्ने मान्छे फेला पार्न उनलाई सकस भएको थियो। त्यसले उनलाई च्याउप्रति झनै आकर्षित गर्यो।
'एक–दुई जना सर मात्र हुनुहुन्थ्यो, जो कस्तो च्याउ हो भनेर पहिचान गर्न सक्नुहुन्थ्यो। यसमा ज्ञानको ठूलो कमी रहेछ भन्ने थाहा पाएपछि मैले च्याउ क्षेत्रमै काम गर्ने अठोट गरेँ,' देवकोटाले भने, 'सन् २००९ मा स्विट्जरल्यान्डमा विद्यावारिधि गर्दा पनि मैले यही विषयमा गरेको थिएँ। नेपाल फर्किएपछि यही क्षेत्रमा काम गरिरहेको छु।'


सन् २०२२ मा देवकोटाको सह–लेखनमा प्रकाशित एक अनुसन्धानपत्र अनुसार नेपालमा १ हजार २ सय ९२ प्रजातिका च्याउ फेला परेका छन्। यहाँ त्योभन्दा बढी करिब २ हजार प्रजातिका च्याउ हुनुपर्ने उनको अनुमान छ। ५ हजार १ सय २३ मिटर उचाइमा पनि च्याउ प्रजातिको अभिलेख रहेको उनले बताए।
च्याउले वातावरणदेखि स्वास्थ्य क्षेत्रमा पुर्याउने फाइदाबारे संसारभरि अध्ययन भइरहेको छ। नेपालको अध्ययन भने च्याउ चिन्ने (ट्याक्सोनोमी) काममा मात्र सीमित छ। खान हुने र नहुने च्याउ चिन्न नसक्दा बर्सेनि ठूलो संख्यामा मानिसको ज्यान गइरहेकाले यसबारे जनचेतना फैलाउनुपर्ने आवश्यकता नै अहिलेको प्रमुख विषय भएको देवकोटा बताउँछन्।
च्याउको विशेषज्ञतामा जस्तै यसको पर्यटकीय प्रयोगमा पनि धेरै काम गर्न बाँकी रहेको देवकोटाले महसुस गरेका छन्। त्यसलाई प्रवर्द्धन गर्न विदेशी मूलका रिकले भूमिका खेल्छु भन्दा आफूजस्तै सोच भएको मान्छे फेला पारेझैं महसुस भएको उनी बताउँछन्।
'नेपालमा वन्यजन्तुलाई लिएर वर्षौंदेखि पर्यटन चलिरहेको छ। बाघ–गैंडा र चराहरू हेर्न मान्छेहरू आइरहन्छन् भने च्याउ हेर्न किन आउँदैनन् भन्ने प्रश्न मेरो मनमा सधैं आइरहन्थ्यो। रिकको सोचाइ पनि मेरोजस्तै भएपछि हाम्रो कुरा मिलिहाल्यो। त्यसपछि हामीले सँगै काम गर्न थाल्यौं,' देवकोटाले भने।
रिकले खुम्बु यात्रामा जाँदा आफ्नो टोलीमा देवकोटासँगै अमेरिकी विश्वविद्यालयका प्राध्यापक, चिकित्सक, 'फंगाई' पत्रिकाका सम्पादक लगायतलाई सामेल गरेका थिए। यात्राको तयारी चलिरहेकै बेला फिल्म बनाउने सोच पनि आएको देवकोटा बताउँछन्।
'च्याउबारे धेरैलाई जानकारी होस् र हामीले दिन खोजेको सन्देश प्रभावकारी ढंगले पुगोस् भन्ने सोचले नै यो फिल्म बनाएका हौं,' रिकले भने।
यो फिल्म शुक्रबार ललितपुरस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को 'लिभिङ माउन्टेन ल्याब' अन्तर्गतको कार्यक्रममा प्रदर्शन गरिएको थियो।

फिल्मले प्रकृतिसँग मानव सम्बन्ध उजागर गर्नुका साथै सुरक्षित र दिगो जीवन बाँच्न मद्दत गर्ने इसिमोडकी सरला खालिङले बताइन्।
'च्याउ महत्त्वपूर्ण हुँदाहुदै कम अध्ययन गरिएको विषय हो,' उनले भनिन्, 'यो फिल्मले च्याउको महत्त्व मात्र बुझाउँदैन, स्थानीय समुदाय र स्थानीय ज्ञानबारे हामीलाई उत्सुक पनि बनाउँछ।'
उनका अनुसार इसिमोडले पनि च्याउ क्षेत्रमा तालिम दिइरहेको छ। यसले स्थानीय जनजीवन र खाना प्रणाली सुधार गर्नेमा उनी आशावादी छिन्।
फिल्मको नाम 'लुक अप नट डाउन' कर्ण शाक्यको त्यही नामको किताबबाट लिइएको हो। यो फिल्मले मानिसमा च्याउबारे चासो त जगाउँछ नै, सँगसँगै च्याउ पर्यटनमा सघाउने आशा पनि गर्न सकिन्छ।
हिमाल पदयात्रामा जानेहरूले अब माथि माथि अग्लिएका हिमाल मात्र होइन, तल तल फल्ने च्याउ पनि हेर्दै हिँड्छन् र तस्बिर खिच्छन् भन्नेमा फिल्म निर्माण टोली आशावादी छ।
तपाईंहरू पनि अर्कोपटक पदयात्रामा जाँदै हुनुहुन्छ भने माथि माथि मात्र होइन, तल तल पनि आँखा डुलाउनुस् है!
***