किशोर उमेरमा गाउँघरमा ठाडी भाका र देउडा गीत गाउँदा उनका साथीहरू भन्थे - ‘तेरो त डाको राउडो छ, रेडियो नेपालमा गापन’।
बझांगी शब्द र शैलीमा डिक्रा बादीले चार दशकभन्दा अघिको त्यो समय सम्झिइन्।
साथीहरूको कुरा उनी ख्यालठट्टा ठान्थिन्। रेडियोमा गीत गाउन आफ्नो हैसियत पुग्दैन भन्ने उनलाई लाग्थ्यो। आखिर साथीहरूको कुरा कुरामै सीमित भयो। डिक्राको स्वरमा मौलिकपन र मिठास थियो। उनी रेडियो नेपालमा त कहिल्यै पुगिनन् तर त्यही स्वरले उनलाई सोच्दै नसोचेको अवसर प्राप्त भयो।
उनी सुदूरपश्चिमकी ‘पहिलो महिला देउडा गायिका’ भएर चिनिइन्।
उनी दिनभरि घरघर डुल्दै गीत गाउँथिन्। त्यसबापत कुनै घरबाट पैसा पाउँथिन् त कुनै घरबाट अन्न। उनको गुजाराको मेलो पनि त्यही थियो। अहिले पनि उनलाई त्यो समयको ताजा सम्झना छ।
बादी समुुदायका परिवारसँग बासका लागि सानो झुपडी हुन्थ्यो तर पुर्ख्यौली जग्गाजमिन थिएन। कमाइखाने जग्गाजमिन नहुुँदा गुजारा चलाउन मजदुरी गर्नुपर्थ्यो। नाचगान गर्नु पारिवारिक पेसा थियो।
बाजुरामा जन्मेकी डिक्राको बाल्यकाल अभावमै बित्यो। उमेर ढल्केका बाबुआमाले गाउँ-गाउँ डुलेर माग्दै उनलाई हुर्काए।
देख्नमा सुन्दर र नाचगान गर्न जान्ने भएपछि बादी समुुदायमा बाल्यकालमै बिहे हुन्थ्यो। मागेर बिहे गर्नेभन्दा केटी भगाएर लैजाने चलन बढी थियो। डिक्रा नाचगानमा निकै अब्बल सुन्दरी थिइन्। उनी १४ वर्षकी थिइन्। बझाङबाट मान्छे आएर उनलाई भगाएर लगे।
उनले भनिन्, ‘सानोमा सबै कुरा सोच्ने दिमाग थिएन। केके भनेर फकाए अनि भगाएर लगिहाले। बिहे भन्ने त थाहा नै थिएन।’
उनका श्रीमान् मजदुरी गर्थे। मादल र सांरगी बनाएर बेच्ने काम पनि गर्थे। सुल्पा र चिलिम बनाएर घरघरमा पुर्याउँथे। त्यसको साटो धान, गहुँ र यस्तै अन्न पाउँथे। डिक्रा त्यस्तो अन्न जम्मा गर्थिन्।
२०४९ सालमा केही बादी परिवार तराई झरे। त्यसमा डिक्राको परिवार पनि थियो। उनीहरू घुमन्ते र मगन्ते जीवनको अन्त्य चाहन्थे। कमाएर खान सरकारले जमिन देओस् भन्ने उनीहरूको माग थियो। यही माग लिएर केही बादी परिवार तराई झरेका थिए।
उनीहरू जंगल फाँडेर बसे। त्यस बेला बादी समुदाय र सरकारबीच द्वन्द्व समेत भएको थियो। बादी अगुवाहरूले आफ्नो गाँसबासको व्यवस्था गराउन संघर्ष गर्छौं, बरु जेल जानु परे पनि तयार छौं भन्ने अडान लिए।
केही दिनको संघर्षपछि सहमति भयो। केही परिवारलाई सरकारले जमिन दिएर बसोबासको व्यवस्था गरिदियो।
डिक्राको परिवार सुरूमा धनगढीमा बसेको थियो। अलिक पछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बंकमा सर्यो। अहिले त्यहीँ तीन कठ्ठा जमिनमा बसोबास छ।
बझाङबाट तराई झरेर डिक्रा चार छोराछोरी हुर्काउँदै थिइन्।
डिक्रा तराई झरेपछि श्रम गरेर सन्तान हुर्काउने काम आफ्नै दिनचर्यामा व्यस्त थिइन्। उनले आफूलाई कसैले गीत गाउन बोलाऊला र एल्बम बन्ला भन्ने सोचेकै थिइनन्।
नसोचेकै घटना भयो। २०५२ सालमा उनलाई ठाडी भाका र देउडा गीत गाउने अवसर मिल्यो। एकाएक देउडा र ठाडी भाकाको गीत गाउन प्रस्ताव आयो। प्रस्तावकले गीतको एल्बम बनाउने भने।
आफ्नै लवजमा उनले भनिन्, ‘मैले एल्बममा गीत गाऊँला सोच्याकी थिएन। गोरख थापा, कटक नेपाली र नरेन्द्रराज रेग्मीले पहिलो पटक एल्बममा गाउन अवसर दिए।’
डिक्रा गीत रेकर्डका लागि भारतको पलिया पुगिन्। पलिया धनगढीबाट नजिकको भारतीय सहर हो। उनका अनुसार पलियामा स्वर मात्रै रेकर्ड भयो। वाद्यधुन मिश्रण गर्ने काम काठमाडौंमा भयो।
सबै प्राविधिक काम सकिएपछि ‘बसिबियाँलो’ नामको एल्बम बजारमा आयो। एल्बममा आफ्नो स्वर समावेश हुँदा डिक्रालाई सपनाझैं भयो। एल्बमका माध्यमबाट सुदूरपश्चिम र मध्यपश्चिमका स्रोतामाझ डिक्राको आवाज गुञ्जियो। एल्बमका गीतहरू चर्चित भए।
डिक्राको स्वरको महिमा बढेपछि उनलाई गाउने अवसरको ओइरो लाग्न थाल्यो। गीत गाएर उनको आम्दानी बढ्यो। परिवारको खर्च चलाउन सहज भयो। गायन यात्रामा उनका श्रीमान कित्थ्या बादीले छायाजस्तै भएर साथ दिए। श्रीमतीको ठाडी भाका र देउडा गीतमा श्रीमान सांरगी बजाउँथे।
कित्थ्या सांरगी बजाउनमा पोख्त थिए। आफूले बजाउने सांरगी आफैं बनाउँथे।
जानकारहरूका अनुसार सुदूरपश्चिममा ठाडी भाका र देउडा गीत गाएर एल्बम निकाल्ने पहिलो महिला गायिका डिक्रा नै हुन्। उनले हालसम्ममा १३ वटा एल्बममा गीत गाएकी छन्।
डिक्राको एल्बम बजारमा आएको समयमा क्यासेटको चलन थियो। समय बदलियो, प्रविधि फेरियो। क्यासेटको साटो मेमोरी कार्ड आयो। क्यासेटमा भएका गीत बज्न बन्द भयो। डिक्रा पनि गुमनाम भइन्।
निकै लामो समयपछि उनी फेरि गायन यात्रामा फर्केकी छन्।
करिब ६ वर्षअघि काठमाडौंमा झुमा लिम्बू लगायतको टिमले डिक्राको ‘एकल साँझ’ आयोजना गर्यो। उनले ठाडी भाका, देउडा र लोकगीत गाउने अवसर पाइन्। गुमनाम डिक्रा फेरि चर्चामा आइन्। त्यसपछि टेलिभिजन र युट्युब च्यानलमा पनि देखिन थालिन्।
‘अहिले त पहिलेभन्दा झन् बढी चर्चा छ। देउडा गीत संसारभर पुगेको छ,’ उनी भन्छिन्, ‘म अझै धेरै गाउन चाहन्छु तर मसँग लगानी गर्ने पैसा छैन।’
उमेरले ५५ वर्ष पूरा भए पनि उनको स्वरको मिठास र मौलिकता उस्तै छ। देउडा गीतका लागि उनी सदावहार स्वरकी धनी मानिएकी छन्।
‘पैसा भइदिएको भए अहिले एक दुई महिनाको फरकमा मेरा गीतहरू आउने थिए। पुराना देउडा गीत स्रोताको मागअनुसार अनुसार बजारमा ल्याउँथे,’ उनी भन्छिन्, ‘गन्नै नभ्याइने गरी लयहरू छन् तर एक्लै ती लय बाहिर ल्याउन सक्दिनँ।’
आजकाल उनी सुदूरपश्चिममा आयोजना हुुने मेला र महोत्सवमा गीत गाउन पुग्छिन्। डिक्राका छोरीहरू पनि गाउँछन्। कान्छी छोरीले एउटा देउडा गीत सार्वजनिक गरेकी छन्। उनी पनि गायनमै अघि बढ्न चाहन्छिन्।
हाल कित्थ्या अस्वस्थ छन्। शरीरको एक भागमा पक्षघात भएको छ। औषधि–उपचारमा खर्च हुन्छ।
डिक्रा हाल कृष्णपुर नगरपालिका वडा नम्बर २ को वडा सदस्य रहेकी छन्। आगामी दिनमा पनि अवसर पाए चुनाव लड्ने र जनताको सेवा गर्ने उनको सोचाइ छ।
गाउने रहर जस्ताको तस्तै छ। जेजस्तो अवस्थामा पनि उनी गीत गाउन चाहन्छिन्। धित मरूञ्जेल देउडा र ठाडी भाका गाउने रहर छ। आफ्नो सुरिलो स्वर र आफूले सँगालेका लयहरू स्रोतामाझ पुर्याउन चाहन्छिन्। यसो गर्न उनलाई आर्थिक अभाव छ, उनी सहयोगको अपेक्षामा छिन्।
सुुदूरपश्चिम र मध्यपश्चिका पाखा–पखेरामा गुन्जिने ठाडी भाका त्यताको प्रचलित संस्कृति हो। ठाडी भकामा लामो स्वर तानेर गीत गाइन्छ। यो भाका देउडाकै एक एक अंग मानिन्छ।
देउडा गीत सुदूरपश्चिम र मध्यपश्चिमको मौलिक संस्कृति हो। पछिल्लो समय देउडा राष्ट्रिय संस्कृतिको अंग बनेको छ।