गुड फ्राइडे सिनेमा
भारतमा बर्सेनि सयौं फिल्म बन्छन्। सबैजसो बलिउड (हिन्दी भाषी) फिल्मको चर्चा भारतीय र विदेशी सञ्चार माध्यमहरूमा हुन्छ। पछिल्लो समय तमिल, तेलेगू, कन्नड, मलयालम जस्ता दक्षिण भारतीय फिल्मको पनि थोरै चर्चा बढेको छ। एकाध पन्जाबी फिल्मबारे पनि सामाजिक सञ्जालतिर कुरा हुन थालेको छ।
तर भारतका अरू थुप्रै भाषामा बनेका र बनिरहेका फिल्म अझै पनि मूलधारको मिडियाको नजरमा परेकै छैनन् भन्दा हुन्छ। दृश्य र खिचाइको गुणस्तर सामान्य भए पनि दमदार कथा र प्रस्तुति भएका धेरै राम्रा फिल्म ओझेलमै छन्।
स्थानीय दर्शकमाझ एकदमै लोकप्रिय यस्ता फिल्मको स्वाद धेरै दर्शकसम्म पुग्न सकिरहेको हुँदैन। नेपाली दर्शकको पहुँचमा त झनै हुँदैन। यहाँका सिनेमा हलमा नलाग्ने र सञ्चार माध्यमहरूमा पनि उल्लेख नहुने भएकाले हामीले थुप्रै राम्रा फिल्म हेर्न छुटाएका हुन सक्छौं।
यस्तैमध्ये एक हो बंगाली फिल्म 'बेला शेशे' जुन युट्युबमा अंग्रेजी सबटाइटल सहित हेर्न सकिन्छ।
सुरूमा यसको रोचक कुरा थाहा पाइहाल्नुस्, सन् २०१५ मा रिलिज भएको यो फिल्म सिंगल हलमा साढे दुई सय दिनसम्म लगातार हलमा चलेको थियो। मल्टिप्लेक्समा २१७ दिन चलेर बंगाली सिनेमाको इतिहासमा यसले रेकर्ड नै राख्यो। १ करोड १० लाख भारूमा बनेको यो फिल्मले दुई करोड ३० लाख भारू कमाएको थियो।
जुन बेला तामझाम भएका बंगाली फिल्मलाई समेत सिनेमा हलमा साता दिन टिक्न मुस्किल हुन्थ्यो, त्यो बेला 'बेला शेशे' जस्तो सामान्य ड्रामा फिल्म ८ महिनाभन्दा धेरै समय हलमा चलिरहेको थियो।
अब अर्को रोचक कुरा — यो फिल्ममा कुनै नयाँ पुस्ताका चलेका 'हिरो-हिरोइन' छैनन्। ७० वर्ष हाराहारीका श्रीमानश्रीमती यसका मुख्य पात्र हुन्। यो भूमिका वरिष्ठ अभिनेता सोमित्र चटर्जी र स्वातिलेखा सेनगुप्ताले निर्वाह गरेका छन्।
पाका उमेरका व्यक्तिको कथा भनेर चल्ने फिल्म बनाउनु चानचुने कुरा होइन। धेरैले यस्तो फिल्म बनाउने आँट पनि गर्दैनन्। चल्तीका र नयाँ पुस्ताका कलाकार समेत भएका 'बागवन', 'सारांस', 'पिकु' बलिउडकै अपवाद हुन्।
बेला शेशेको अर्थ दिनको अन्त्य भन्ने हुन्छ। नन्दिता रोय र शिवोप्रसाद मुखर्जीको निर्देशनमा बनेको यो फिल्म 'असामान्य कथा' का कारण हिट भएको द इन्डियन एक्सप्रेसले लेखेको छ।
यसको कथा मुख्य पात्र श्रीमान-श्रीमती विश्वनाथ मजुमदर र आरतीबाटै सुरू हुन्छ। ७५ वर्षीय विश्वनाथ र ६६ वर्षीया आरतीको बिहे भएको आधा शताब्दी भइसक्यो। विश्वनाथ प्रकाशन गृह चलाउँछन् भने आरती गृहिणी हुन्।
उनीहरूका एक छोरा र तीन छोरी हुन्छन्; बरिन, मालाश्री, काबेरी र पिहु। उनीहरूको बिहे क्रमशः शरमिस्ठा, विजोन, ज्योतिर्म्यो र पलशसँग भएको हुन्छ।
मजुमदर दम्पतीका सन्तान वैवाहिक जीवनमा खुसी हुँदैनन्।
बरिन बुबाको प्रकाशन गृहमा काम सघाउँछन्। उनकी श्रीमती शरमिस्ठालाई उनको काम चित्त बुझेको हुँदैन। अनि बरिनको अर्की महिलासँग सम्बन्ध छ भन्ने पनि शंका गर्छिन्।
त्यस्तै मालाश्रीका श्रीमान विजोन बेरोजगार छन् जो पुर्ख्यौली सम्पत्तिमा बाँचिरहेका हुन्छन्। मालाश्रीको अर्कै पुरूषसँग सम्बन्ध हुन्छ।
काबेरीका श्रीमान ज्योतिर्म्यो सुनको कारोबार गर्छन्। काबेरीले शारीरिक सम्बन्ध राख्न नमानेका कारण उनीहरूबीच पनि असन्तुष्टि हुन्छ।
अनि फिल्म निर्देशक पलशकी सहायक तथा श्रीमती पिहुका लागि पलशसँग समय नै हुँदैन।
यही परिवेशमा विश्वनाथ र आरतीको ५० औं वर्षगाँठ आइपुग्छ।
सबै जना भेला भएको मौकामा विश्वनाथले एकाएक एउटा घोषणा गर्छन् — म आरतीलाई डिभोर्स दिँदैछु। अब हामी अलग बस्छौं।
यो कुरा सुनेर सबै चकित खान्छन्। सबभन्दा अचम्म त आरतीलाई लाग्छ। किनभने, अरूलाई जस्तै उनलाई पनि यसबारे पहिले केही थाहा हुँदैन।
श्रीमानको कुरा सुनेर तीन छक परेकी आरती रूवाबासी भने गर्दिनन्। लौ, छुटकारा मिल्यो भन्दै उठेर हिँड्छिन्।
विश्वनाथका छोरीहरूले उनलाई 'आइडल' मानेका हुन्छन्। त्यसैले उनको कुरा सुनेर उनीहरू रिसाउँछन्। रून्छन्। प्रश्न गर्छन्। स्वार्थी भन्दै गुनासो गर्छन्।
तर विश्वनाथ डिभोर्सबारे केही बोल्दैनन्।
सबैलाई उनीहरूबीच के भयो भन्ने चासो हुन्छ। उनीहरू अनेक अड्कलबाजी पनि लाउँछन्।
आखिर जीवनको पाँच दशक सँगै बिताइसकेपछि डिभोर्स गर्ने नौबत किन आयो?
यसले उनीहरूको परिवारलाई कस्तो असर पार्ला?
के अब उनीहरूको सँगै होलान् वा सम्बन्ध फेरि सुधारिएला?
यी सबै जान्न फिल्म नै हेर्नुहोला।