गायक प्रमोद खरेल अमेरिकामा दुई महिनाको सांगीतिक टुर सकेर केही दिनअघि मात्रै स्वदेश फर्किए।
अमेरिका हुँदा नै उनलाई स्वदेशका मेला-महोत्सवबाट कुरा आइरहेको थियो। काठमाडौं फर्केपछि पनि थुप्रै महोत्सव आयोजकबाट फोन आइरहेका छन्।
'पाँच/सातवटा तय छन्। यो हप्ता गीतको तयारी सकेर अर्को हप्तादेखि महोत्सवमा निस्किन्छु,' प्रमोदले सेतोपाटीसँग भने।
उनी केही महोत्सवमा ब्यान्डसहित समेत प्रस्तुति दिने तयारी गरेका छन्।
गायिका रचना रिमालले मंसिर लागेसँगै विभिन्न जिल्लामा आयोजित झन्डै एक दर्जन महोत्सवमा पुगेर दर्शक नचाइसकेकी छिन्।
गायिका अस्मिता अधिकारी बिहीबार मोरङमा आयोजित बेलबारी महोत्सवमा पुगेर दर्शक नचाइन्। शुक्रबार झक्तपुरको सूर्यविनायक महोत्सवमा प्रस्तुति दिइन्।
शुक्रबार कपिलवस्तु पुगेर प्रस्तुति दिएकी गायिका समीक्षा अधिकारी शनिबार भक्तपुरमा गुन्जिइन्। गायिका एलिना चौहान मंसिर लागेपछि एक दर्जन हाराहारी महोत्सवमा पुगिसकेकी छिन्।
गायक दुर्गेश थापाले यही महिना झापादेखि कपिलवस्तु लगायतका जिल्लामा पुगेर आयोजित महोत्सवमा दर्शक झुमाए। शनिबार मात्रै उनी सुनवल महोत्सवमा पुगे। सुनवल महोत्सवमा आइतबार गायिका शान्तिश्री परियार पुग्दैछिन्।
गायक अर्जुन सापकोटा, हिमाल सागर आइतबार कपिलवस्तु महोत्सवमा प्रस्तुति दिँदैछन्।
यसले देखाउँछ, यतिबेला चलेका गायक-गायिकाहरूलाई स्वदेशका महोत्सवको चटारोले छोएको छ। मंसिर लागेसँगै देशभित्र थुप्रै महोत्सव भइसकेका छन्।
गायिका रचना रिमालले भनिन्, 'अब मंसिर २६ देखि फेरि महोत्सवमा जाँदैछु। पुस १६ सम्म हरेक दिनजसो कार्यक्रम तय छ। माघका लागि पनि कुरा आउन थालिसकेको छ। यो समयमा काठमाडौं यताउता जाने ट्रान्जिटजस्तो बन्छ।'
अबको केही काठमाडौं बसाइ कम हुने हुँदा रेकर्डिङको काम महोत्सव नपरेको दिन मिलाएर गर्ने उनले बताइन्।
'काठमाडौं आउँदा भ्याएसम्म मिलाएर रेकर्ड गरिरहेकी हुन्छु। कहिलेकाहीँ एकैदिन तीन/चार वटासम्म पनि रेकर्ड गर्छु,' रचनाले भनिन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले मेला महोत्सव थुप्रै कलाकारका लागि आम्दानीको राम्रो र मुख्य स्रोत बनेको बताइन्।
'लोकदोहोरीकै कुरा गर्दा गीतमार्फत स्रोता दर्शकहरूको मन जित्नुभएकाहरूलाई त एकदमै राम्रो छ। लाइभ दोहोरीमा रूचाइनुभएकाहरू पनि महोत्सवमा व्यस्त बनिरहनुभएको छ,' उनले भनिन्।
कोभिडको समयमा कार्यक्रम नहुँदा कलाकारहरू मारमा परे पनि गत वर्षदेखि स्टेज कार्यक्रमबाट राम्रो भइरहेको उनले बताइन्।
मंसिरमा केही महोत्सवमा पुगेर प्रस्तुति समेत दिएर फर्किएकी उनले भनिन्, 'दर्शकको माहोल पनि राम्रो पाएँ। आयोजकले पारिश्रमिक पनि राम्रो दिएको लाग्यो।'
उनका अनुसार मेला महोत्सव कलाकारका लागि कमाइसँगै र दर्शकमाझ प्रत्यक्ष भेट्ने अवसर समेत हो।
मनसुन नहुने, चिसो मौसम हुने र खेतीकिसानबाट पनि मानिसहरू फुर्सदमा हुने भएकाले विगतदेखि नै मंसिरदेखि चैतसम्मलाई महोत्सवको सिजन मानिँदै आएको छ।
केही वर्ष अगाडिको तुलनामा पछिल्ला वर्ष यस प्रकारका मेला महोत्सव हुने क्रम पनि ह्वात्तै बढेको छ।
पहिले सीमित तर ठूला महोत्सव हुने गरिएकोमा पछिल्लो समय एउटै जिल्लामा ४/५ वटासम्म महोत्सव हुन थालेको गायक प्रमोद खरेलले बताउँछन्।
'पहिले मेला महोत्सवमा आधुनिक, पप, हास्य, लोकदोहोरी सबै विधाका कलाकार राखिन्थ्यो। प्रायः उद्योग वाणिज्य संघ, व्यापार संघले महोत्सव गर्थे,' खरेलले भने, 'अहिले एकदिनमा एकजना चलेको कलाकार बोलाउने गरेको देखिन्छ। अन्य संघसंस्था र व्यक्ति मिलेर समेत महोत्सव गर्ने चलन बढ्दो छ। महोत्सव पूरै व्यावसायिक हुँदै भएको पाइन्छ।'
प्रमोदका अनुसार महोत्सव आर्थिक गतिविधि चलायमान बनाउनेसँगै नयाँ कलाकारका लागि धेरैमाझ प्रतिभा देखाउने राम्रो प्लेटफर्म समेत हो।
'कलाकारलाई कमाइको अवसर त हो। स्थानीय कलाकारलाई समेत स्टेज दिइने हुँदा उनीहरूले मास पाउँछन्,' उनले भने।
महोत्सवमा भेग अनुसार कलाकारहरूको डिमान्ड हुन्छ। महोत्सव व्यवस्थापक अनित विष्टका अनुसार पूर्वमा आधुनिक, र्याप, ब्यान्डका कलाकारहरूको डिमान्ड बढी हुन्छ।
पश्चिममा लोकदोहोरी कलाकारको डिमाण्ड बढी हुन्छ भने आधुनिक विधाका कलाकारहरू पनि उत्तिकै खोजिन्छन्।
'महोत्सवमा र्यापर र ब्यान्डको माग पनि हुन्छ। तर यस प्रकारका महोत्सवमा एउटा रेसियोको पारिश्रमिकमा कलाकारहरू ल्याउनुपर्ने बाध्यता हुँदा उहाँहरू सीमित महोत्सवमा मात्र जानुहुन्छ,' भर्खरै चितवनमा मेला आयोजना गरेका विष्टले भने। केही हास्य कलाकार र मोडलहरू समेत महोत्सवमा पुगिरहेका हुन्छन्।
महोत्सवको लहर
नवलपरासीको गैंडाकोटमा दुई साता लामो 'गण्डकी प्रदेश महोत्सव' हालै सम्पन्न भयो। नारायणी नदी किनारमा भएको महोत्सवमा पुगेर दुई दर्जन बढी गायक/गायिकाले दर्शक झुमाए।
चितवनको रत्ननगरमा मंसिर ७ देखि १७ गतेसम्म सांस्कृतिक तथा व्यापार महोत्सव चल्यो।
रूपन्देहीको तिलोत्तमामा मंसिर ६ देखि १८ गतेसम्म महोत्सव भयो। कपिलवस्तुको गोरूसिंगेमा मंसिरमै ११ दिने महोत्सव सकियो। कपिलवस्तुकै वाणगंगामा मंसिर १९ देखि अर्को महोत्सव चलिरहेको छ।
नवलपरासीको सुनवलमा मंसिर १२ गतेदेखि महोत्सव जारी छ। २४ गतेसम्म चल्ने महोत्सवमा हरेक दिनजसो ख्यातीप्राप्त कलाकारहरू पुगेर आफ्नो प्रस्तुति दिइरहेका छन्।
भक्तपुरमा पनि मंसिर ७ देखि सुरू भएको कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव शनिबार (२२ गते) सकिएको छ।
धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरू भएको छ। प्युठानमा पुस ५ देखि महोत्सव सुरू हुँदैछ। पूर्वदेखि पश्चिमसम्मै थुप्रै जिल्लामा महोत्सवको तयारी छ।
तस्बिरः सम्बन्धित कलाकारको फेसबुकबाट