केही वर्षअघि पोखरा लिटरेचर फेस्टिभलमा कलाकार गौमाया गुरूङले प्रख्यात फिल्म निर्देशक रामबाबु गुरूङलाई भेटिन्। यसअघि गौमायाले हलमा रामबाबु निर्देशित फिल्म 'पुरानो डुंगा' हेरेकी थिइन्।
फिल्म हेरेपछि उनले शान्ति दिदीसँग रामबाबुको नम्बर मागेर भेट्न गएकी थिइन्। कुराकानी गर्दै जाँदा गौमायाले रामबाबुलाई भनिन्, 'सुहाउँदो कुनै भूमिका भए भन्नुहोस् न है! मलाई तपाईंको फिल्ममा खेल्ने ठूलो रहर छ।'
रामबाबुले तत्काल प्रतिक्रिया जनाएनन्।
दुई वर्षपछि एक दिन उनले म्यासेज गरे। म्यासेजमा रामबाबुले आफ्नो चर्चित फिल्म 'कबड्डी' को चौथो सिक्वेलमा खेल्न गौमायालाई प्रस्ताव गरेका थिए।
त्यो म्यासेजले गौमाया खुसीले गदगद भइन्। गत वर्ष प्रदर्शनमा आएको 'कबड्डी ४' मा उनको भूमिका थोरै भए पनि धेरैले मन पराए।
'मैले यस फिल्मअघि चारवटा फिल्ममा अभिनय गरिसकेकी थिएँ। तर कबड्डी ४ मार्फत् धेरैको नजरमा परेँ। अधिकांशले मलाई तपाईंको पहिलो फिल्म नै कस्तो राम्रो भन्ने प्रतिक्रिया दिनुभएको थियो,' उनले भनिन्।
कबड्डी ४ बाट फिल्म क्षेत्रमा फड्को मारेकी गौमायाले त्यसअघि 'हिरा हरायो', 'चुकुल', एफएक्स टिभी र बिबिसीले निर्माण गरेको 'ब्ल्याक नार्सिसस' टेलिशृंखला र 'गोर्खाः बिनिथ द ब्रेभरी' मा अभिनय गरिसकेकी थिइन्।
चितवनमा जन्मिएकी गौमायालाई सानैदेखि नाच्न रूचि थियो। कुनै दिन टिभीमा देखिन्छु भन्ने रहर सँगालेकी उनले घर-परिवारलाई सानोमा हास्य-टेलिशृंखलमा खेल्छु भनेकी पनि थिइन्। परिवारले भने उनलाई पढाइमै आफ्नो समय केन्द्रित गर्न भन्यो। उनले पनि आफ्नो रहर र रूचि मारिन्।
गौमायाका बुबा ब्रिटिस लाहुरे थिए। काममा बुबा विदेशमै भएकाले उनी आमाकै माया-ममतामा हुर्किइन्। बुबा वर्षको एकपटक घर आउँथे। सानो छँदा उनकी बजैले बुबा हाे नि भन्दा गौमाया बुबालाई अनौठो मानेर लुकीलुकी हेर्थिन्।
कक्षा १० पढेपछि भने उनी आफै लन्डन गइन्। उनीसहित १० जना पूर्वगोरखा सैनिकका छोराछोरी थिए। त्यहाँ पुगेपछि उनले यताको एसएलसी जस्तै तह फेरि पढिन्। पढाइसँगै काम गर्न थालिन्। लुगा धुने पसल (ड्राइ क्लिनर) मा र ट्युसन पढाउने काम गरिन्।
बेलायतमा ठिकठाक समय गुज्रिरहेको थियो। एकदिन गौमायाले मिस युके नेपाल नामक प्रतियोगितामा आवेदन दिइन्। सन् २०११ को सो प्रतियोगिता उनले जितिन् पनि।
'त्यो बेला आफूले बुझेको जति गरेँ। त्यसैले मिस युके जित्दा म आफै छक्क परेकी थिएँ,' उनले भनिन्, 'यो प्रतियोगिता जितेपछि मैले धेरै अवसर पाउन थालेँ। पहिला कुनै कार्यक्रम सञ्चालन (होस्ट) गर्न मन लाग्दा पनि पाउँदिनँ थिएँ। पछि आफै त्यस्ता अफर आए।'
सांस्कृतिक कार्यक्रमहरूमा उनको व्यस्तता दिनानुदिन बढ्न थाल्यो। सँगै, चन्दा उठाउँदै नेपालका विभिन्न संस्थालाई उनले आर्थिक सहयोग गर्न थालिन्। शिक्षा नेपाल नामक संस्थासँग 'एउटा किताब' अभियानमा जाजरकोट पुगिन्।
गौमायाको पढाइ अप्टोमेट्री (आँखा विशेषज्ञता) मा थियो। बेलायतको विश्वविद्यालयमा स्नातकोत्तर पढिसकेपछि नेपाल आएर ग्रामीण भेगमा निःशुल्क आँखा शिविर गर्ने उनको इच्छा थियो। तर त्यही समयमा हजुरआमा गुमाएपछि र यहाँ कामको माहोल पनि नमिलेपछि उनको ध्यान मोडियो।
उनी यात्रातिर लागिन्।
सन् २०२० मा आफ्ना एक साथी दिवस गुरूङसँग मिलेर विभिन्न सहर घुमिन्। उनीहरूले 'खुला आकाश' नामको युट्युब च्यानल नै चलाए। यात्रा सम्बन्धी भ्लग शैलीको उक्त च्यानलमा गौमायाको आवाज (भ्वाइस-ओभर) सुन्न सकिन्छ।
'मैले ४० वटा देश घुमफिर गरेँ। च्यानलमा भने अहिलेसम्म पाँचवटा मात्र भिडिओ छ। नेपालको शे-फोक्सुन्डो ताल, माथिल्लो डोल्पा लगायतको यात्रा वर्णन छ। सबै ठाउँ हाल्न भ्याइएको छैन,' उनले भनिन्।
यात्रा गर्दै, भिडिओ खिच्दै जाँदा गौमायालाई सानैदेखिको कलाकार बन्ने सपनाले फेरि पछ्याउन थालेको थियो। अनि उनी बेलायतमै अभिनय सिक्न थालिन्। उनले पहिलोपटक 'हिरा हरायो' मा अभिनय गरेकी थिइन् तर सो फिल्म प्रदर्शन भएन।
'त्यति बेला रहर लागेर साथीको फिल्ममा अभिनय गरेकी थिएँ। फिल्मबारे खास बुझाइ थिएन, रिलिज पनि भएन। केही समयपछि आफूलाई निखार्छु भन्ने लाग्यो र चुकुलमा अभिनय गरेँ,' उनले भनिन्।
लगत्तै गौमायाले एफएक्स टिभी र बिबिसीको ब्ल्याक नार्सिसस टेलिशृंखलामा अभिनय गरिन्। लेखक रूमर गोडेनको उपन्यासमा आधारित उक्त टेलिशृंखलाको पहिलो भागमा उनले ओमकी आमाको भूमिका निर्वाह गरेकी थिइन्।
सँगै, उनले गोर्खाः बिनिथ द ब्रेभरीमा अभिनय गरिन्। यो बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापामाथि बनाइएको फिल्म हो।
'सबैले गोर्खालीहरू साहसी र नडराउने खालका हुन्छन् भन्छन्। तर उनीहरू आफ्नो देशका लागि होइन, अंग्रेजका लागि लडेका छन्। तर उनीहरू काम अनुसारको पारिश्रमिक हुँदैन थियो। आफ्नो घर जान मन भए पनि बेलायती भूमिमा उनीहरूले संघर्ष गरेका थिए। यही कथा त्यो फिल्ममा समेटिएको छ,' गौमायाले भनिन्, 'यो फिल्ममा मेरो पात्र पछि थपिएको हो। मेरो दोहोरो भूमिका छ।'
उनले गोर्खाः बिनिथ द ब्रेभरी र ब्ल्याक नार्सिससको छायांकन एउटै समयमा गरेकी थिइन्। दुवै फिल्मको व्यवस्थापनमा भने आकाश-जमिन अन्तर भएको उनले बताइन्।
'ब्ल्याक नार्सिससको प्रोडक्सनले घरमै गाडी लिएर आउँथ्यो। गोर्खाः बिनिथ द ब्रेभरीमा मैले नि:शुल्क काम गरेँ। नेपालका गोर्खालीहरूको कथा बताउने उक्त फिल्म हामीले धेरै दुःखले बनाएका हौं,' उनले भनिन्।
२०७१ सालको भूकम्पपछि उनले आफ्नै अग्रसरतामा 'ग्लासेस टु गोरखा' कार्यक्रम सञ्चालन गरेकी थिइन्। सो कार्यक्रममार्फत् उनको समूहले गोरखास्थित चिप्लेटी गाउँका ४५६ जनाको निःशुल्क आँखा परीक्षण र आवश्यक परेकालाई निःशुल्क चश्मा दिएको थियो।
यही कार्यक्रम सकेर पोखरा जाँदा गौमायाको भेट कबड्डी निर्देशक रामबाबु गुरूङसँग भएको हो।
रामबाबुको कबड्डी ४ खेलेयता उनले 'फूलबारी', 'महाजात्रा' र 'पूजा, सर' मा अभिनय गरेकी छन्। हाल उनी फिल्म 'रिमै' को छायांकनमा व्यस्त छिन्।
उनले मानसिक स्वास्थ्य, घरेलु हिंसा, लागुपदार्थ दुर्व्यसनी लगायत सूचनामूलक विषयवस्तुमा बनाइएका छोटा फिल्म 'नमी', 'माई हेयर माई लभ', 'डन्ट आस्क मी ह्वाई', 'स्टप अनसिइङ द सिन' मा पनि अभिनय गरेकी छन्। केही म्युजिक भिडिओमा मोडलका रूपमा पनि उनलाई देख्न सकिन्छ।
'कतिपय दर्शकले तपाईंको नयाँ फिल्म कहिले आउँछ भनेर सोधिरहेका हुन्छन्। म फिल्मसँगै अरू काममा पनि व्यस्त हुने भएकाले ठ्याक्कै जबाफ दिन सकिरहेको हुन्न,' उनले भनिन्।
यो वर्ष त गौमायाका लागि सुखद रह्यो। यसै वर्ष उनले 'भेनिस', 'बर्लिन' र 'मुम्बई' फिल्म फेस्टिभलमा सहभागी हुने अवसर पाइन्। बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको 'बर्लिनाले ट्यालेन्ट' मा उनी छनोट पनि भएकी थिइन्।
अब उनलाई लेखन सिक्न पनि उत्तिकै रहर छ। आफूलाई निखार्न उनले केही कार्याशालामा सहभागिता समेत जनाएकी थिइन्।
'अहिले महिलाका विषयमा धमाधम फिल्म बनिरहेका छन्। महिलाका फिल्म महिलाले नै लेख्दा उनीहरूको कथालाई झनै न्याय पुग्छ होला। हाम्रो कथा अरूले किन लेख्दैनन् भन्नु भन्दा आफ्नो कथा आफै लेख्नुपर्छ भन्ने लागिरहेको छ,' गौमायाले भनिन्, 'मलाई हिरोइन बन्नु छैन, मलाई कलाकार र लेखक भएर कथावाचन प्रक्रियामा सहभागी हुनु छ। फिल्मलाई त्यही माध्यम मानेकी छु। फिल्मले संस्कृति, इतिहास, सामाजिक, भौगोलिक परिवर्तन लगायत थुप्रै विषय समेट्ने भएकाले म यसैमा रमाइरहेकी छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी