गत वर्ष मंसिरमा हास्य सिरियल 'सक्किगोनि' मा एक जना नयाँ पात्र देखिए — गल्फने बाजे।
उमेर त्यस्तै ६०/६५ वर्ष। जनजाति समुदायको प्रतिनिधित्व गर्ने।
सो पात्रले सँगै लिएर आएका थिए एउटा थेगो — बिजोग रमाइलो छ हो!
सिरियलमा देखिन थालेको सुरूदेखि नै गल्फने बाजे पात्र र उनको अभिनयलाई दर्शकहरूले रूचाए। उनले बोलिरहने थेगो पनि उत्तिकै रूचाइयो।
त्यसयता सिरियलमा उनी नियमित देखिँदै आएका छन्। र, दर्शकहरूबाट माया पाइरहेका छन्।
उक्त पात्रको भूमिका निर्वाह गर्ने कलाकार हुन् बबिन राई।
सिरियल खेल्ने तय भएपछि उनी निर्देशक अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), कलाकार दीपक आचार्य (काकु) लगायतको टिमसँग छायांकनका लागि काभ्रे जाँदै थिए। त्यस क्रममा अर्का कलाकार हरिश निरौला लोकन्थलीबाट गाडी चढे।
त्यसपछि बबिनलाई देख्नासाथ हरिशले सोधे — के छ दाजु?
बबिनले हाँस्दै जबाफ फर्काए — मेरो त बिजोग रमाइलो छ हो!
त्यो शब्द दीपक आचार्यले याद गरिरहेका रहेछन्।
सुटिङ हुँदै गर्दा सुझाए, 'अघि भन्नुभएको थियो नि, त्यो शब्द क्याची छ। हिट हुन सक्छ।'
'उहाँले भनेझै निकै रूचाइयो,' सेतोपाटीसँगको भिडिओ कुराकानीमा बबिनले भने, 'सुरूमा दुई भागका लागि जोडिएको थिएँ। दर्शकले रूचाएपछि निरन्तर छु।'
बबिन सिरियलमा आफूले प्रयोग गर्ने थेगो बनाउँछु भनेर नबनाएको बताउँछन्।
उनलाई पहिल्यैदेखि कसैले हालखबर सोध्दा बेलाबेला भन्थे — बिजोग रमाइलो छ हो जिन्दगी!
त्यसो भन्नुपछाडि उनको आफ्नै तर्क छ।
'मान्छेले अरूलाई देख्दा मज्जाको देख्छ। योसँग पिर नै छैन होला भन्ने सोच्न सक्छ। तर आफ्नो मनभित्रको पीडा आफैलाई मात्र थाहा हुन्छ,' बबिनले भने, 'आफ्नो बिजोग हुन्छ तर देख्नेले रमाइलो देख्न सक्छ। त्यसरी मैले बिजोग रमाइलो छ भन्न थालेको थिएँ।'
पात्रको नाम भने अर्जुन घिमिरे र दीपक आचार्यले जुराएका हुन्।
बबिनले आफूभन्दा पाको उमेरको पात्रको भूमिका निर्वाह गरिरहेका छन्। त्यसरी अभिनय गर्न पनि आफूलाई गाह्रो नभएको उनले बताए।
'म हजुरबुबासँग बाँचेको छु। त्यसमाथि यो आफ्नै समुदायको पात्र भएकाले गाह्रो भएन,' उनले भने।
बबिन हिजो आएर आज चर्चित बनेका भने होइनन्। पर्दामा अगाडि नआए पनि उनले कलाकारितामा गरेको संघर्ष लामो छ।
सोलुखुम्बुका उनी सानैदेखि अभिनय गर्थे। नाच्थे। गाउँथे। दिनभरि धान, कोदो रोप्थे, राति फिल्म हेर्न जान्थे।
'इटहरी पुगेर नृत्य सिकेको थिएँ, गाउँमा गएर नृत्य सिकाउँथेँ,' उनले भने, 'त्यस बेला नाटक सिक्न पाइन्छ कि भनेर इटहरी, विराटनगरमा धेरै सोधीखोजी गरेको थिएँ।'
कलाकारिता गर्न भनेर उनी २०६० सालमा काठमाडौं आए। नाटक सिक्न खोजे पनि बन्दोबस्दो मिलेन। नृत्य सिके। म्युजिक भिडिओहरूमा कोरस डान्सरका रूपमा काम गरे।
उनलाई कलाकारितामै केही गर्नु थियो। तर सोचेजस्तो भइरहेको थिएन। घरको जेठो छोरा, जिम्मेवारीले पनि थिचेको थियो। रोजगारी अवसर पनि जुरेन।
त्यसपछि उनी वैदेशिक रोजगारका लागि मलेसिया गए। तर त्यहाँ उनको मन मानेन। एक वर्षमै स्वदेश फर्किए। गाउँमा 'डान्स स्टुडिओ' खोले। रेडियोमा काम गरे। स्वदेशमै अल्झिन विभिन्न प्रयास गरे। नमिलेपछि २०६५ सालमा फेरि कतार गए। त्यहाँ भने उनी झन्डै दस वर्ष रहे। कलाकारितालाई पनि छाडेनन्।
'कतारमा कार्यक्रम, कलाकारहरूको जमघट हुन्थ्यो। त्यसले गर्दा राम्रो माहोल बन्यो,' उनले भने, 'त्यहाँ नेपाली कला केन्द्र खोलेर नृत्य र भोकलको कक्षा नै चलाएका थियौं।'
बिदामा नेपाल आउँदा समेत उनले कलाकारितालाई निरन्तरता दिए। त्यसै मध्येको एउटा फिल्म थियो 'मतान'। राई संस्कृतिमा आधारित फिल्मले २०७२ सालमा आदिवासी जनजातिभित्रको उत्कृष्ट फिल्मको पुरस्कार पाएको बबिन बताउँछन्।
दस वर्ष कतार बसेर उनी कोभिडअघि स्वदेश फर्किएका हुन्।
'सक्किगोनि' अगाडि बबिनले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेको वेबसिरिज 'मै राम्री' को केही भागमा अभिनय गरेका थिए। एक जना भाइको माध्यमबाट उनी यो सिरिजमा जोडिएका थिए। बबिन सीताराम र कुमार कट्टेल (जिग्री) कै गाउँका भए पनि राम्रो हिमचिम थिएन। 'मै राम्री' मा काम गर्दा कुमारले भने बबिनलाई नियालेका रहेछन्।
कतारबाट फर्किएपछि बबिनले केही वर्ष फेरि काठमाडौंमै बसेर कलाकारिता अगाडि बढाउन खोजिरहेका थिए। तर बन्दोबस्तो नमिलेपछि गाउँमै बस्ने योजनासहित उनी घर फर्किएर स्कुलहरूमा नृत्य सिकाउन थालेका थिए।
त्यही समय एक दिन उनको मोबाइलमा कुमारको फोन आयो।
बबिन सम्झिन्छन्, 'संयोग भनौं, भाइले फोन गर्दा म ठ्याक्कै काठमाडौं आएको थिएँ। त्यसैले पनि सिरियलमा जोडिन पाएँ।'
वर्षौंदेखि कलाकारिताको भोक पालेर बसेका उनी अहिले अभिनयलाई लिएर निकै खुसी छन्।
'सक्किगोनि' टिमकै फिल्म 'लाज शरणम्' मा पनि अभिनय गरिसकेका छन्। अन्य फिल्ममा पनि काम गर्ने तयारी छ।
आगामी योजनाबारे बबिन भन्छन्, 'आउन खोजेको यहीँ हो। तर धेरै वर्षपछि आइयो। योजना बनाएर नहुँदो रहेछ। हिजोका दिनमा काठमाडौंमा बसेर केही गर्न खोज्दा भएन। गाउँ नै गएपछि अभिनयका ढोकाहरू खुले। अब भोलिको त के थाहा, अहिलेलाई राम्रो छ। मेहनत चाहिँ गर्नुपर्यो। समाजलाई पच्ने काम गर्नुपर्यो। हेरौं काम गर्दै जाँदा के हुन्छ!'