हलिउड अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डसँग मानहानीको मुद्दा जितेर पाएको १० लाख अमरिकी डलर दान गर्ने भएका छन्।
उनले पाँच वटा फाउन्डेसनलाई २-२ लाख डलर दान गर्न लागेको सिएनएनमा उल्लेख छ। उनले मेक-ए-फिल्म फाउन्डेसन, द पेन्टेड टर्टल, रेड फेदर, मार्लोन ब्रान्डोको टेटियारो सोसाइटी च्यारिटी र अमेजोनिया फन्ड एलायन्सलाई उक्त रकम दान गर्न लागेका हुन्।
एम्बर हर्डले सन् २०१९ मा अखबारमा एक लेख लेख्दै डेपले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन्। डेपले बारम्बार आफूमाथि दुर्व्यवहार गरेको आरोप पनि उनले लगाएकी थिइन्।
उनको आरोपले आफ्नो मानहानी भएको भन्दै डेपले अदालतमा मुद्दा हालेका थिए। उनले हर्डको आरोपका आधारमा तीन खाले मुद्दा हालेका थिए।
६ सातासम्म चलेको सुनुवाइका क्रममा डेप र हर्ड दुवैले एकअर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहार गरेको आरोप लगाएका थिए।
हर्डले झुटा र अपमानजनक व्यवहार गरेको देखिएपछि दुई वटा अदालतले डेपलाई सफाइ दिएको हो।
अदालतले जोनी डेपलाई मानहानीका लागि १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। यसमा १ करोड डलर क्षतिपूर्तिका रूपमा दिइएकाे थियो भने ५० लाख डलर जरिवाना स्वरूप पाएका थिए।
तेस्रो मुद्दामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानी गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।
जोनी र एम्बरले सन् २०१५ मा विवाह गरेका थिए। एम्बरले घरेलु हिंसाको मुद्दा लगाउँदै सन् २०१६ मा सम्बन्ध विच्छेदमा लागि निवेदन दिएकी थिइन्।