'माइली' गीतबाट चर्चामा आएकी गायिका अंकिता पुनले सोही नामबाट एल्बम सार्वजनिक गरेकी छन्।
मंगलबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै 'माइली' एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रममा एल्बमको पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा गायिका पुनकै स्केच छ जसलाई कलाकार सुजन राईले बनाएका हुन्।
एल्बम सार्वजनिकसँगै गायिका पुनको पहिलो सांगीतिक भ्रमणबारे जानकारी दिइयो। गायिका पुनले पहिलोपटक देश विदेश सांगीतिक भ्रमण गर्न लाग्दा आफू उत्साहित र नर्भस भएको बताइन्।
भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि सांगीतिक भ्रमण सुरू हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ। त्यसपछि नेपालका काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरहरूमा गायिका पुनले आफ्नो संगीतिक प्रस्तुति दिनेछिन्।
नेपाल भ्रमण सकिएपछि विदेश भ्रमणको तयारी सुरू हुने सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले बताए।
‘माइली’ एल्बममा ‘माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो’ बोलका गीत समावेश छन्। यी गीतमध्ये ‘माइली, चार दिन चार जुनी र सखी’ को म्युजिक भिडिओ सार्वजनिक भइसकेको छ। एल्बमका बाँकी चार गीतहरू आगामी शुक्रबारदेखि क्रमशः सार्वजनिक हुनेछ।
गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यहरूले साथ दिनेछन्। सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशन जंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहनेछ।
इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्नेछन् । ‘रकिङ फिलिली’ले आफ्ना ओरिजिनल गीतहरू सुनाउँदै भ्रमण गर्ने बताइएको छ।
अंकिता पुनको सांगीतिक भ्रमणमा सहयोग गर्न गितार सप म्युजिक पार्टनरका रुपमा रहेको छ। भ्रमणलाई कम्युनिकेसन्समा फस्र्ट लिंक र आइटीमा ओमकार कम्प्युटर्सले सघाउने छ।
माइ पे एप भ्रमणको टिकेटिङ पार्टनर हो भने यस टुरलाई इभ इन, म्युस इभेन्ट्स, स्नुक्स क्याफे एन्ड बार, सेभेन एसेस र स्म्यासिङ स्टेरियो र के गरिरा! ले सहआयोजकका रूपमा सघाउने छन्।