लोकरक ब्याण्ड नेपथ्यले जापानमा कन्सर्ट गर्ने भएको छ।
नेपथ्यले जापानको टोकियो, फुकुओका र ओसामा कन्सर्ट गर्ने लागेको हो। कन्सर्टका लागि १४ सदस्यीय टोली यसै अगस्ट महिनाको पहिलो साता जापान जादैछन्।
नेपथ्यले टोकियोस्थित तोयोसु पिटमा ८ अगस्ट, फुकुओकास्थित सिभिल हलमा १२ अगस्ट र ओसाकास्थित नाम्बा ह्याचमा १७ अगस्टमा आफ्नो प्रस्तुति दिनेछ।
सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लो पटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित टोकियो डोममा प्रस्तुत गरेको थियो।
'जापानसँग धेरै सम्झनाहरू जोडिएका छन्,' गायक अमृत गुरुङ भन्छन्, 'जापानसँग जोडिएका मिठा यादहरूमध्ये केही वर्षअघि टोकियो डोममा हामीले पाएको भब्य मायाको अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ।'
आफुहरूले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी सहरमा शृंखलाबद्ध कन्सर्ट आयोजना गर्न लागेको यो पहिलोपटक भएको नेपालयले बताएको छ।
'प्राविधिक हिसाबले व्यवस्थापन गर्न नेपालबाटै प्राविधिकहरूको टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,' नेपालयका किरणकृष्ण श्रेष्ठ भने, 'त्यसैले यसपाला मञ्चमा प्रस्तुत हुने ६ जना कलाकारसँगै आठ जना थप सदस्य सहितको हाम्रो ठूलो टोली जापान पुग्दैछ।'
जापानमा नेपथ्य कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको छ।
जापानमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।
सन् २०२३ मा नेपथ्यका सबै प्रस्तुतीहरूलाई 'मानवताका लागि संगीत' को नारासहित मानवता प्रबर्द्धन अभियानको शृंखलाको रूपमा प्रस्तुत गरिएको छ।